‘दलितसँग बिहे गरे बेइज्जत हुने डरले योजनाअनुसार मारेका हौं’

‘दलितसँग बिहे गरे बेइज्जत हुने डरले योजनाअनुसार मारेका हौं’

गत जेठ १० गतेका दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा ३४ अभियुक्तविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दा दायर गरेको छ । कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग,जातीय छुवाछुतलगायतका कसुरमा जिल्ला अदालतमा सोमबारदेखि नै बहस भइरहेको छ ।

जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विक रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी मल्ल थरकी आफ्नी प्रेमिकालाई लिन भनेर १८ जना साथीसहित सोती पुगेका थिए । केटी तर्फका आफन्त र गाउँलेहरुको आक्रमणमा परेर उनीहरु मध्ये ६ जनाको हत्या भएको छ । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर,सञ्जु विक,लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा ज्यान गएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । हत्याको कारण भने अन्तरजातीय प्रेम रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

यस घटनाका बारेमा प्रहरीले केटीका आमा, बुबा र दाइसँग लिएको कागजी बयानमा जातकै कारण उनीहरुलाई मारेर भेरीमा फालेको बताएका छन् ।

बेइज्जत हुनुभन्दा मारिदिने योजना बनायौँ : केटीकी आमा

जनआस्थालाई प्राप्त उक्त घटनाको अभियोग पत्रमा केटीकी आमाले ठकुरीले दलितसँग बिवाह गरेमा बेइज्जत हुने भएकोले केटाहरु लिन आए निजहरुलाई मारिदिने भनी घरपरिवारले योजना बनाएको बताएकी छन् । जेठ १० गते केटाहरुको टोली घरमा आएको बेला पनि जातीय बिभेद हुने शब्द डुम भन्दै गाली गरेको समेत उनले बयान दिएकी छन् । गाली सुनेपछि फर्किएका केटाहरुबारे आफ्नो श्रीमानलाई बोलाएको र आफूले केटाहरुलाई पिछा गर्दै गएको उनको भनाई छ ।

‘गाउँदेखि तलको औल जिउला भन्ने ठाउँसम्म पिछा गर्दै गएको  र सबै गाउँले जम्मा भएपछि छेका हाली ढुङ्गा, हँसिया समेतले प्रहार गरी भेरी नदीको किनारमा पु¥याई नबराज बि.क. समेतलाई कर्तब्य गरी मारी भेरी नदीमा बगाएको र सुदिप खड्का समेतलाई कुटपिट गरी नियन्त्रणमा लिई घटना घटाएको ठीक हो,’ उनले उनीहरुको हत्या गरेर भेरीमा बगाएको स्विकार्दै भनेकी छन्,  ‘मैले मेरो श्रीमानलाई, मेरो श्रीमानले वडा अध्यक्षलाई र वडाअध्यक्षले गाउँलेहरुलाई बोलाएर सबै जम्मा भएका हौं, वडा अध्यक्षसहित गाउँका मानिसहरु आई हातमा लाठी, ढुङ्गा, हँसिया समेत लिई मेरो घरदेखि तलको सडकतर्फ नबराज बिकसमेतका केटाहरुलाई नियन्त्रणमा लिई मार्नको लागि चारैतिरबाट घेरा हाली लखेट्दै गएका थिए ।

उनले भनेकी छन्, त्यसपछि म घर फर्किएँ, अन्य के भयो देखिनँ !

वडाअध्यक्षकै अगुवाईमा मारिएका हुन् : केटीका बुबा

केटीको आमा मात्र हैन बुबाले समेत वडाअध्यक्षको नेतृत्वमै घटना घटेको बताएका छन् । उनले आफू ढुङगाखानीमा काम गरिरहेको अवस्थामा श्रीमतीले नवराजसहितका केटाहरु आएको र आफूले गाली गरेर फर्काएको भन्दै के गरौं भनेर फोन गर्दा आफूले पिछा गर्न भनेको बयान दिएका छन् । मैले वडा अध्यक्षलाई खबर गरेपछि उहाँले जतिपटक सम्झाउदा पनि लागेनछ, आज तह लगाउनुपर्छ, म अरु सबैलाई खबर गर्छु पिछा गर्दै गर्नु भन्नुभयो, केटीका बुवाले बयानमा भनेका छन्, ‘जम्मा भएका घटनाका प्रतिवादीहरुले चारैतिरबाट पछाडिबाट ढुङ्गा, लाठी हान्दै लखेट्दै भेरी नदी पुर्याई मारेका हुन्  ।’

म समेतले मारेरै भेरीमा फालेका हौं : केटीका दाइ

नवराजको प्रेमिका भनिएकी केटीको आमा र बुवा मात्र हैन, उनको सहोदर दाइले समेत नवराजसहितका ६ जनालाई मारेर भेरीमा फालेको कागजी बयान दिएका छन् । बहिनीसँग नवराजको प्रेमसम्बन्ध रहेको थाहा पाएको र परिवारमा चित्त नबुझेकोले केटाहरु घरमा आएमा मारिदिने योजना बनाएको उनले बताएका छन् । घटनाको दिन आफू बुवासँगै काम गरिरहेको बेला आमाले घरबाट खबर गरेपछि बुवाले वडाअध्यक्षलाई फोनबाट जानकारी गराएको र गाउँलेहरु जम्मा गरेको बयान उनले दिएका छन् ।

‘मैले मोटरसाईकलमा गएर पिछा गरेँ र माथिबाट पिछा गर्दै आएका जाहेरी दरखास्तमा उल्लेख भएका अन्य प्रतिवादीहरुले छेका हाले’ उनले भनेका छन्, ‘ नवराज बिक समेतलाई लाठी, ढुङगा समेतले टाउकोसमेतको शरीरमा मर्नेसम्मको चोट पर्ने गरी प्रहार गरी कर्तव्य गरी मारी भेरी नदीमा बगाई अन्य ५ जना केटाहरुलाई कुटपिट गरी घाइते बनाई नियन्त्रणमा लिएका हौं । म समेतले नवराज बिकसमेतका केटाहरुलाइ कर्तव्य गरी भेरी नदीमा बगाएका हौं ।’

टिप्पणीहरू