न लकडाउन न लुजडाउन, भीडभाडमा डाउनटाउन

न लकडाउन न लुजडाउन, भीडभाडमा डाउनटाउन

बैठकहरुमा सबै विषयमा छलफल हुन्छ तर, ठोस विषय यहि हो भनेर लुजडाउनको मोडालिटीमा कलम चोप्ने आँट कसैलै गर्दैन ।’

आज लकडाउनको ७८ औं दिन । सरकारले चैत १० गते साँझ घोषणा गरेबमोजिम अत्यावश्यकबाहेक कुनैपनि क्षेत्रमा लकडाउन खुकुलो बनाइएको छैन । सरकारले लकडाउन खुकुलो बनाउने मापदण्ड तयार गर्न पनि सकेको छैन । तर, पछिल्लो एक सातादेखि सर्वत्र निजी सवारी साधनहरू निर्वाध गुडेका छन् । ग्राहक नभएपनि शहर,बजारमा अधिकांश पसल खुलेका छन् । सडक बजारमा मास्कले मुख छोपेका र नछोपी हिँडेका मानिसको दोहोरीलत्त भीड देखिन्छ । तरपनि, एकाध ठाउँमा ट्राफिक र सुरक्षाकर्मी बसेर चेकजाँच भने गरेकै छन् ।

कोरोना रोकथाम उच्चस्तरीय समिति र सीसीएमसीको बैठक नियमित झैं बसेपनि लकडाउनको मोडालिटी तय गर्न सकेका छैनन् । क्याबिनेट बैठकमा समेत यसको चर्चा हुन्छ तर खासै निर्णय हुँदैन । स्रोत भन्छ ‘बैठकहरुमा सबै विषयमा छलफल हुन्छ तर, ठोस विषय यहि हो भनेर लुजडाउनको मोडालिटीमा कलम चोप्ने आँट कसैलै गर्दैन ।’

यता, गृह मन्त्रालयले भने उच्चस्तरीय समिति, सीसीएमसी र क्याबिनेटभन्दा एक कदम अघि बढेर नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र ७७ वटै जिल्ला प्रशासनमा लकडाउनलाई थप व्यवस्थित बनाउने भन्दै परिपत्र नै जारी गरेको छ ।

जेठ २३ गतेको सचिवस्तरीय निर्णयमा ‘कोभिड १९ संक्रमण तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत देशभर उच्चस्तरको सतर्कतासहितको व्यवस्था मिलाउन,उपत्यका भित्रिने सवारी पासको व्यवस्थापन सम्बन्धमा गरिँदै आएको समन्वय तथा सहजीकरणलाई थप प्रभावकारी रुपमा कार्यान्वयन’ का लागि परिपत्र जारी गरिएको उल्लेख छ ।

गृहले यसअघि जेठ ७ गतेको परिपत्रमा अत्यावश्यक क्षेत्र र सेवा उल्लेख गरेर लकडाउनमा सवारी साधनको प्रयोग र आवागमन गर्न सकिने बताएको थियो । शुक्रबार जारी गृहको निर्देशनमा निम्नानुसार थप कडिकडाउ गरिएको छ ।

  • आफैं काजकिरियामा बस्ने र काजकिरिया सकेर फर्कने व्यक्तिलाई मात्र अन्य जिल्ला र काठमाडौं उपत्यकामा आउजाउ गर्न दिइने ।
  • विभिन्न अस्पतालबाट रिफर भएर आउने बिरामीको हकमा सवारी साधन चालक, बिरामी र एकजना कुरुवालाई मात्र उपत्यका भित्रिन अनुमति दिइने ।
  • प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई सम्बन्धित प्रदेशभित्र मात्र आउजाउ गर्न दिइने ।
  • काठमाडौं उपत्यकाभित्र सरुवा भई रमानापत्र लिई आउने कर्मचारीले मात्र भित्रिन पाउने ।
  • काठमाडौं उपत्यकास्थित कार्यालयमा रहेका तर, यसअघि कार्यालयको कामको सिलसिलामा काजमा जिल्लामा बसेर फर्केका कर्मचारी पनि उपत्यका भित्रिन पाउने ।
  • विदेश जान कन्फर्म विमान टिकट बोकेर आएकाहरुलाई छिर्न दिने ।
  • औषधी तथा राहत सामग्री बोकेका सवारी साधनमा चालकसहित दुईजना मात्र बस्न पाइने ।
  • अन्य कुनै कारणले काठमाडौं उपत्यका आउनुपर्ने व्यक्तिको हकमा आउनुपर्नाको कारण पुष्ट्याईं हुने कागजातसहित आरडिटी वा पीसीआर टेष्टबाट नेगेटिभ भएको प्रमाण र कन्ट्याक्ट ट्रेसिङ्गमा परे नपरेको विवरणसहित सिडिओ कार्यालयमार्फत् गृह मन्त्रालयमा अनुरोध गर्ने ।
  • काठमाडौं उपत्यका प्रवेशका लागि जारी गरिएका सवारी पासको विवरण सम्बन्धित सिडिओ कार्यालयले दैनिक मन्त्रालयमा रिपोर्टिङ्ग गर्नुपर्ने ।
  • उपत्यका प्रवेश गर्ने नाकाहरुमा सवारी पास भएका सवारी साधनलाई मात्र भित्रिन दिने व्यवस्थालाई थप कडाइ गर्ने ।

टिप्पणीहरू