बिप्लवका रणनीतिको बेलिबिस्तार

बिप्लवका रणनीतिको बेलिबिस्तार

गृहमा सूचना पुग्यो- विप्लव नेकपाले लकडाउन खुलेलगत्तै चौकीहरु खालि गर्न पत्राचार गर्ने, अटेर गरेमा प्रतिरोधात्मक कारवाही गर्ने तयारी थालेको छ ।

एकातिर संक्रामक रोगले महामारी सिर्जना गरेको समय, अर्कातिर सीमा मिचिएको व्यथा ।

यस्तो बेला पनि देशलाई अर्को दुःखले गाँजेको छ, ध्वंसात्मक गतिविधिमा सक्रिय विप्लव नेतृत्वको नेकपा ।

अस्ति जेठ २० गते सरकारले सबै सुरक्षा अंगहरुको नाममा एउटा सर्कुलर जारी गरेको छ ।

भन्न त विप्लव समूहले कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण देखाउँदै आक्रामक कारवाही स्थगित गर्ने भनेको छ ।

यसबीच, आन्तरिक रुपमा संगठन विस्तार, चन्दा संकलन, जनसेनाको प्रशिक्षणका काम जारी राखेको छ ।

राहत वितरणमा अनियमितता भएको भन्दै जनप्रतिनिधिलाई धम्क्याउने र सर्वसाधारणको सहानुभूति बटुल्ने रणनीतिमा पनि ऊ सक्रिय छ ।

तर, पछिल्लो समयमा सरकारले सीमा सुरक्षालाई मध्यनजर गर्दै त्यसतर्फ परिचालन गरेको फौजसँग विप्लव नेकपा अत्तालिएको सूचना गृह मन्त्रालयले पाएको छ ।

दुर्गमस्थलमा पनि सरकारको उपस्थितिले त्यहाँ बसोबास गर्ने सर्वसाधारणमा सुरक्षाको प्रत्याभूति दिएको छ ।

तर, विप्लव समूहले अर्थ लगाएको छ, त्यो फौजका कारण पार्टीका सांगठानिक गतिविधिमा बाधा पुग्ने ।

अर्थात्, राज्यले सीमाको बहानामा आफ्ना गतिविधिमाथि निगरानी राख्न खोज्यो भन्ने उसको बुझाई छ।

गृहमा सूचना पुग्यो- विप्लव नेकपाले लकडाउन खुलेलगत्तै त्यस्ता चौकीहरु खालि गर्न पत्राचार गर्ने, अटेर गरेमा प्रतिरोधात्मक कारवाही गर्ने तयारी थालेको छ ।

‘सोसम्बन्धमा सुरक्षा निकायबीच समन्वय गरी, सत्यतथ्य बुझी कानुनबमोजिम कारवाही गरी यस मन्त्रालयमा जानकारी पाठउन…’ भन्दै मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको च.नं. ४०३५, मिति २०७७।०२।२० को पत्रले सबै सुरक्षा निकायलाई अलर्टमा राखेको छ ।

बहुचर्चित अमेरिकी परियोजना एमसिसी पारित हुन नहुने भन्दै विभिन्न समूहको कभरमा माइतीघर मण्डलामा प्रदर्शन जारी छ । उक्त प्रदर्शनमा सहभागी हुनेमा बढीजसो विप्लव समर्थक नेकपाका कार्यकर्ता भएको गृहको बुझाई छ ।

यही बुझाई र प्राप्त थप सूचनाका आधारमा गृहले २० गते सर्कुलर जारी  गर्‍यो  ।

र, त्यहाँबाट जेठ २१ गते विप्लवसम्बद्ध विद्यार्थी संगठन अखिलका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परे ।

चिरञ्जीवीको गिरफ्तारीको विरोधमा जेठ २२ गतेदेखि लगातार माइतीघर मण्डलामा कार्यक्रम हुन थाल्यो ।

उनीहरुको पूर्वनिर्धारित कार्यक्रम छ, भोलि २७ गते सम्पूर्ण जिल्लामा कोणसभा गर्ने,मसाल जुलुस निकाल्ने र सामाजिक सञ्जालमा कालो व्यानर राख्ने ।

टिप्पणीहरू