भारत किन वार्तामा बस्न चाहन्न ?

भारत किन वार्तामा बस्न चाहन्न ?

प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ताको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत सातादेखि प्रयास गरेपनि सम्भव नभएको खबरहरु बाहिरिएका छन् । पछिल्लो एक सातामा दुई पटक प्रयास गरेपनि टेलिफोन वार्ता हुन नसकेको उच्च स्रोतको दाबी छ । पछिल्लो दश दिनमा भारतीय राजदूत क्वात्रालाई धेरै पटक बालुवाटार बोलाइयो । परराष्ट्र मन्त्रालयले पनि नयाँ दिल्लीस्थित दूतावासमार्फत् साउथब्लकसँग नियमित सम्पर्क गरिरहेको छ ।

नेपालले पछिल्लो विवाद समाधान गर्ने उद्देश्यले वार्तालाई नै जोड दिँदै आएको छ । तर,मुखले वार्ता गर्ने भनेपनि भारतको व्यवहारले त्यो अवस्था देखिएको छैन । ‘वार्तामा नबस्ने पनि भन्दैनन्,मिति तय गर्न पनि हिच्किचाउँछन्’ स्रोतले भन्यो ‘उनीहरुले नेपालको संसदबाट हुने निशान छाप संशोधन र पछिल्लो राजनीतिक घटनाक्रमलाई कुरेजस्तो छ ।’

तर,भारतको आशय सकेसम्म वार्ता नै गर्न नपरोस् भन्ने हो । विवादित विषयलाई त्यत्तिकै झुलाउने रणनीतिअनुरुप उसले केही समयअघि कोरोना संक्रमणको अन्त्यपछि वार्तामा बस्ने बताएको थियो । तरपनि, मिति र समय तय गर्न ठोस् रुपले प्रस्तुत नहुनुले समय लम्बाउन खोजेको प्रष्ट हुन्छ । यसरी लामो समयसम्म जाँदा सीमा विवाद विषयान्तर हुने र नेपालका राजनीतिक दलहरुभित्र खेल्न सकिने भएकाले सोही प्रपञ्चमा लागेको आशंका गरिएको छ ।

भारतीय विदेश मन्त्रालयको नेपाल हेर्ने नर्दन डेस्क महाशाखाका प्रमुख पियुष श्रीवास्तवलगायत सबै कर्मचारी दिल्ली दूतावाससँग त्यत्ति धेरै सम्पर्कमा आउन रुचाउँदैनन् । अहिले उनीहरुलाई भेटघाट र औपचारिक छलफल टार्ने अचुक औषधी कोरोना बनेको छ ।

भारतभित्रै केही राजनीतिक दल,प्रबुद्ध वर्ग,पूर्व कुटनीतिज्ञ तथा कर्मचारीहरु पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्ने पक्षमा देखिएका छन् । नेपालका लागि पूर्व राजदूत रणजित रे,राकेश सुद,राजनीतिक विश्लेषक तथा नेपाल जानकार एस.डी. मुनि,पूर्व जर्नेल अशोक मेहताले वार्ताबाट समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन् । पत्रकार शेखर गुप्तालगायतले पनि त्यस्तै आशय पोखेका छन् ।

भारतले गत मंसीरमा जारी गरेको नयाँ नक्सा, गत बैशाखमा गृहमन्त्री राजनाथ सिंहले गरेको बाटो उद्घाटन र नेपालले गत साता सार्वजनिक गरेको नयाँ नक्सासम्म आईपुग्दा पनि वार्ताको छनक देखाएको छैन । उसका यी सबै रवैयाले वार्ता प्रक्रिया तत्काल प्रारम्भ हुने सम्भावना देखिँदैन ।

टिप्पणीहरू