चितवन : चराहरूको क्रीडास्थल

चितवन : चराहरूको क्रीडास्थल

चितवन चराहरूका लागि प्रख्यात र उद्गमस्थल मानिन्छ । चितवनमा चरा हेर्नकै लागि देशी/विदेशी पर्यटक पनि आउँछन् । यहाँको हावापानी चराका लागि विशेष र उपयुक्त पनि छ । तिनखाले भौगोलिक संरचना भएकाले यहाँ आगन्तुक चराको क्रीडा पनि मज्जाले अवलोकन गर्न पाइन्छ । यो गृष्मकालीन समय हो । यतिबेला चितवनमा चराचुरुंगीहरू आफ्नो क्रीडाका लागि विभिन्न क्षेत्रबाट आइपुगेका छन् । अहिले चराचुरुंगी गुँड बनाउने, अण्डा पार्ने र बच्चा कोरल्ने कार्यमा व्यस्त छन् । किनकि असारसम्म यिनीहरूले आफ्ना बच्चा हुर्काएर उडाएर लैजान्छन् ।

यो लेखमा चितवनलाई क्रीडास्थल बनाउने चराहरूको जानकारी र उनीहरूका गतिविधि नियाल्नेछौं ।

हाम्रो देश नेपालमा अहिलेसम्मको अभिलेख हेर्दा नेपालभर पाउने चराको संख्या ८ सय ८६ प्रजातिको अभिलेख उल्लिखित छ । जसमा संसारभरि पाइने चराको कुल यो ९ प्रतिशत हो । यीमध्ये ४२ प्रजाति विश्वव्यापी संकटापन्न र ३५ प्रजाति विश्वव्यापी संकटापन्न नजिक रहेका भनी अभिलेख गरिएको छ । यसै सन्दर्भमा ६३४ प्रजातिको अभिलेख चितवनमा मात्र छ । चितवन जिल्लाको भगौलिक स्थिति समुद्री सतह १५० मिटर समथर भूभागदेखि २००० मिटर अग्लो पहाडी भूभागसम्म छ । दक्षिणको १००० मिटरको अग्लो चुरे र उत्तरको २००० मिटरको महाभारत पहाड यसको विशेषता हो । यहाँको जैविक मार्ग अर्को विशेषता हो । जसले उत्तरको महाभारत पर्वत र दक्षिणको चुरे र चितवन राष्ट्रिय निकुञ्जलाई जोड्ने वन हो । यो वन आफैंमा चराहरूलाई थप आकर्षण गर्ने उद्गमस्थल हो । जहाँ समथर भूभागमा पाइने चरादेखि अग्लो भूभागमा पाइने चराहरूका साथै हिउँदे आगन्तुकदेखि गृष्म तथा वर्षे आगन्तुक, स्वेच्छाचारी आगन्तुक चराहरू देख्न पाइन्छ ।

यहाँ प्रायः वसन्त ऋतुको आगमनसँगै गृष्म आगन्तुक विभिन्न प्रजातिका चरा आउने गर्छन् । जसमा Paradise Flycatcher (स्वर्गचरी), Pied Cuckoo (जुरे काइँली), Chestnut winged Cuckoo (ठुले जुरे काइली), Chestnut Headed Bee Eater (कटुस टाउके मुरलीचरा), Blue Tailed Bee Eater (निले पुछरे मुरलीचरा), Indian Cuckoo (काफल पाक्ये), Indian Pitta (गाजले पिट्टा), Hooded Pitta (चित्रक पिट्टा), Orange Headed Thrush (सुन्तले चाँचर), Golden Oriole (गाजले सुनचरी), यी यस्ता चरा यस क्षेत्रमा आएर आफ्नो गुड बनाई, बच्चा कोरलेपछि फर्कने समयमा बचेरालाई साथमै लिएर फर्कन्छन् । गृष्मकालीन आगन्तुक चरामा अर्को चरा Grey Crowned Prinia (घेघरी घासे फिस्टो) पनि हो । यो चरा भुटान, उत्तरपूर्वी भारत र नेपालमा मात्र पाइन्छ । नेपालमा पनि अहिलेसम्मको अभिलेखअनुसार चितवन राष्ट्रिय निकुजमा मात्र अभिलेख भएको पाइएको छ ।

उल्लिखित चराको गुँड बनाउने आ–आफ्नै विशेषता हुन्छ । कोहीले मिहिनेत गरेर राम्रो चिटिक्क परेको गुँड बनाएका हुन्छन् भने कोहीको जमिनमा दुलो पारेर बनाएका हुन्छन् ।

कटुस टाउके मुरलीचरा

Chestnut Headed Bee Eater (कटुस टाउके मुरलीचरा)  को गुँड जमिनमा अलि उठेको ढिस्कोजस्तो देखिने भागमा बनाएको हुन्छ ।

निल पुछ्रे मुरलीचरा

Blue Tailed Bee Eater (निल पुछ्रे मुरलीचरा) ले तीनदेखि चार फिटसम्म लामो दुलो बनाएको हुन्छ । यति लामो दुलो ठुलो मिहिनेतसाथ यो चराले बनाएको हुन्छ । एक पटकमा ५ देखि ७ वटासम्म अण्डा पार्छ ।

स्वर्गचरी

स्वर्गचरीको गुँड रूखको हाँगाको कापमा कप आकारको सानो र चिटिक्क पारेर गुँड बनाएको हुन्छ । आफ्नो गुँडको सुरक्षा दुवै भाले–पोथीले गर्छन् । अन्य चरामा प्रायः कुकु चराले आफूले गुँड बनाउँदैनन् । यिनीहरू अरूको गुँडमा अण्डा पार्ने गर्छन् ।

चरामा तेजिलो र फुर्तिलो चरा भनिने चिबे चराको गुँडमा र चरामा चलाख भनिने कागको गुँडमा समेत यिनीहरूले अण्डा पारिदिने गर्छन् ।

गाजले पिट्टा

गाजले पिट्टा निकै सुन्दर चरा हो । गाजले पिट्टा अलि झुम्म परेका जंगल र सालघारीतिर पाइन्छ । असार तेस्रो सातासम्म यसले आफ्नो बच्चा उडाइसकेको हुन्छ ।

चित्रक पिट्टा

त्यसैगरी, चित्रक पिट्टा पनि एक सुन्दर र शान्त स्वभावको चरा हो । सालघारीको झुम्म परेको स्थान र शान्त वातावरणमा यो रहेको हुन्छ ।

सुन्तले चाँचर

सुन्तले चाँचर मार्च अन्तिमतिर आउने गर्छ । यो चरा पनि यस ठाउँमा गुँड बनाई बच्चा हुर्काइ हिउँदको आगमनसँगै यो चरा गर्मी ठाउँतिर नै जाने गर्छ । गुँड बनाउनदेखि लिएर बच्चा कोरल्न र हुर्काउनसमेत भाले र पोथीको बराबर सहभागी रहन्छ । देख्दा निकै सुन्दर हुन्छ यो चरा, सुन्तला रङको टाउको रहेको यस चरालाई यही समयमा चितवनमा देख्न सकिन्छ ।

सुनचरी

सुनचरी पनि गृष्म आगन्तुक चरा हो । यो चराले पनि यहीँ गुँड बनाई बच्चा हुर्काएर लैजान्छ । देख्दा निकै सुन्दर यो चरा पहेँलो रङको हुन्छ । चितवनमा स्थानीय थारु भाषामा यो चरालाई ‘कचरपेरो’ पनि भन्ने गरिन्छ । यसका अन्य प्रजाति पनि छन् । झट्ट हेर्दा सबै उस्तै देखिए पनि यिनीहरूको केही रङका र चिह्नका कारण फरक देखिन्छन् । यसको गुँड हाँगाको कापमा बनाएको हुन्छ । गुँड हाँगाको कापदेखि तल अलि झुन्डिएको हुन्छ । यसले २ देखि ३ वटासम्म अण्डा पार्छ । भाले र पोथीको बराबर सहभागिता रहन्छ गुँड बनाउन र बच्चा कोरल्नेदेखि हुर्काउनसम्म । भाले, पोथी दुवै मिलेर बच्चाको निकै ख्याल गरिरहेका हुन्छन् । समय–समयमा बच्चाका लागि खानेकुरा खोजेर खुवाउनेदेखि शत्रुको आक्रमणबाट दुवैले बचाउने गर्छन् । सिकारी, चरा र सर्प यिनका शत्रु हुन् ।

गोहोरोले पायो भने पनि यिनका बचेरा खाइदिन्छ तर सानो हाँगामा झुन्डिएको गुँड बनाउने हुनाले गोहोरोको डर त्यति धेरै हुँदैन । केही चरा प्रायः खुला ठाउँ अनि मानवबस्ती आसपासमा आफ्नो गुँड बनाउँछन् । किनकि यिनीहरूले यस्तो ठाउँमा आफूलाई बढी सुरक्षित महसुस गर्छन् । हाम्रो घर, खेतबारी वरपर ५ प्रजातिका चराको गुँड छ । प्रायः संकटको घडीमा यिनीहरू हाम्रोछेउ आई सहयोग मागिरहेका हुन्छन् ।

एक पटक स्वर्गचरीको बच्चा गुँडदेखि तल खसेछ । घरमा म शीतल छहारीमा मस्त थिएँ । निरन्तर चरा मेरो छेउमा आएर कराउँदा मलाई लाग्यो कि कुनै शत्रुले यसका बचेरालाई आक्रमण गरिरहेको पो छ कि ? अनि म गुँड भएको ठाउँमा गएँ तर त्यहाँ शत्रु होइन, बचेरा गुँडबाट तल खसेको रहेछ । त्यहीकारण चराले मसँग गुहार मागेको थियो । चराको यो समवेदनाले म पुलकित भएँ । मैले बचेरालाई गुँडमा राखिसकेपछि माउ खुसी भएर कराउन छाड्यो ।

यसरी नै चराका मस्ती क्रियाकलाप यो समयमा चितवनमा अवलोकन गर्न पाइन्छ । धेरै चरा जंगलको बीचमा रहेका ठुल्ठूला रूखको प्वालमा गुँड लगाउने गर्छन्, यसमा यिनीहरू सुरक्षित महसुस गर्छन् । यसै त सुन्दर नगरी चितवनलाई चराका यी र यस्तै क्रियाकलापले झन् स्वर्ग बनाएको छ ।

 

  • फोटो : युवराज पौडेल, सोम जिसी, मनोज घिमिरे

टिप्पणीहरू