रुपन्देहीमा नयाँ मतदाता ‘निर्णायक’

रुपन्देहीमा नयाँ मतदाता ‘निर्णायक’

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरु निर्वाचन केन्द्रित रणनीति बनाउन कस्सिएका छन् । प्रमुख पार्टीहरु चुनावी अभियान लिएर वडा तहसम्म पुगिसकेकाले सुनसान गाउँमा पनि चहलपहल शुरु भएको छ । सम्भावित चुनावी नतिजालाई लिएर आमवृत्तमा समेत चासो र चर्चा चुलिएको हो ।

यसैबीच लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बुटवलसमेत रहेको रुपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । सबै दल चुनावको परिणाम आफ्नो पक्षमा पार्न मतदाता रिझाउन लागिपरेका छन् । अघिल्लो चुनावमा सात वटा स्थानीय तह जितेर जिल्लामा पहिलो शक्ति बनेको एमाले त्यहि बर्चस्व कायम गर्ने रणनीतिका साथ अभियानमा होमिएको छ भने पाँच दलीय गठबन्धन पनि रुपन्देहीमा आफ्नो शक्ति देखाउने दौडमा छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो, उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम दोस्रो र नेपाली काँग्रेस तेस्रो भएको थियो । १६ वटा स्थानीय तहमध्ये एमालेले सर्वाधिक सात, फोरमले चार तथा काँग्रेसले दुई स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेका थिए । माओवादी केन्द्रले एक स्थानीय तहमा नेतृत्व हात पार्दा स्वतन्त्र उम्मेदवार र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले पनि समान एक एक स्थानमा प्रमुख/अध्यक्ष जितेका हुन् ।

गत चुनावको परिणाम हेर्दा रुपन्देहीको पहाडी बेल्टमा बलियो रहेको एमाले दक्षिणी भेगमा भने केही कमजोर देखिएको छ ।

एमालेले आठ स्थानीय तहमा उपप्रमुख /उपाध्यक्ष जितेको थियो भने फोरमले चार, काँग्रेसले दुई, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान एक एक स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेका थिए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत ल्याएर मेयर जित्दा काँग्रेसका खेलराज पाण्डेले २० हजार ८ सय ५२ मत ल्याएर दोस्रो भएका थिए । राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार १ सय ५१ मत ल्याएको थियो । बुटवलमा माओवादीले काँग्रेसलाई मेयरमा सघाएर उपमेयरमा उम्मेदवारी दिएको थियो । तर, उपमेयर पनि एमालेकै उम्मेदवार विजयी भएका हुन् ।

त्यस्तै, तिलोत्तमा नगरपालिकामा मेयर र उपमेयर एमालेले नै जितेको थियो । मेयरमा एमालेका बासुदेव घिमिरेले काँग्रेसका रामकृष्ण खाँणलाई पराजित गरेका हुन् । घिमिरेले २१ हजार ८ सय ६८ मत पाउँदा खाँणले १९ हजार ९४ मत ल्याए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार महादेव खनालले २ हजार ६ सय ५१ मत पाएका थिए ।

पाँच वर्षअघि भएको चुनावबाट पहिलो दलका रुपमा स्थापित एमालेलाई विगतमा जितेका स्थान जोगाउन चुनौती छ भने गठबन्धनमा रहेका दलहरुलाई पनि बलियो एमालेसँग प्रतिस्पर्धामा गरेर परिणाम निकाल्नुपर्ने अवस्था छ ।

यता सैनामैना नगरपालिकामा एमालेका उम्मेदवार चित्रबहादुर कार्कीले १३ हजार ३६ मत ल्याए मेयर जित्दा काँग्रेसका फणिन्द्र प्रसाद शर्माले १० हजार तीन सय पाँच मत पाए । फराकिलो अन्तरले तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार चेतनारायण न्यौपानेले जम्मा २४ सय १७ मत पाएका थिए । त्यहाँ उपमेयर पनि एमालेले नै जितेको थियो ।

गत चुनावको परिणाम हेर्दा रुपन्देहीको पहाडी बेल्टमा बलियो रहेको एमाले दक्षिणी भेगमा भने केही कमजोर देखिएको छ । भारतसँग सीमाना जोडिएका रोहिणी गाउँपालिका, सिद्धार्थ नगर नगरपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, समरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमाले कमजोर देखिएको थियो ।

जसमध्ये रोहिणी, मर्चवारी र कोटहीमाई गाउँपालिकामा तत्कालीन फोरमले अध्यक्ष जितेको थियो । काँग्रेसले देवदह नगरपालिका र मायादेवी गाउँपालिकामा मेयर/अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले ओमसतीया गाउँपालिकामा अध्यक्ष जितेको थियो ।

पछिल्लो पाँच वर्षमा राष्ट्रिय राजनीतिमा धेरै उथलपुथल भइसकेको छ । एमाले विभाजित भएको छ भने संघीय समाजवादी फोरम जनता समाजवादी पार्टी (जसपा) मा रुपान्तरण भएको छ । एमालेबाट फुटेको एकीकृत समाजवादी पाँच दलीय गठबन्धनको महत्वपूर्ण शक्तिका रुपमा रहेको छ ।

त्यसैले पाँच वर्षअघि भएको चुनावबाट पहिलो दलका रुपमा स्थापित एमालेलाई विगतमा जितेका स्थान जोगाउन चुनौती छ भने गठबन्धनमा रहेका दलहरुलाई पनि बलियो एमालेसँग प्रतिस्पर्धामा गरेर परिणाम निकाल्नुपर्ने अवस्था छ । राजनीतिक विश्लेषक युवराज कँडेलका अनुसार आउँदो स्थानीय तहको चुनावमा रुपन्देहीमा नयाँ मतदाता निर्णायक हुने देखिन्छ । एमाले विभाजनको प्रभावलाई छाडेर हेर्दा थपिएका मतदाता नै निर्णायक हुने उनको अनुमान छ ।

पार्टीभन्दा पनि पात्र हेरेर भोट हाल्ने शहरी मतदाता चुनावी परिणाम प्रभाव पार्ने एउटा महत्वपूर्ण पक्ष हुनसक्ने भएकाले अहिले अनुमान गरेभन्दा फरक नतिजा आउनसक्ने कँडेलको बुझाइ छ । ‘बुटवलमा एमाले नेतृत्वको स्थानीय सरकार छ । तर, विकासका दृष्टिले खासै काम भएको देखिँदैन । शहरी र युवा मतदाताले यो सबै नियालिरहेको छ जस्तो लाग्छ । त्यसैले कुन पार्टीले कस्तो परिणाम ल्याउँछ भनेर अनुमान लगाउन सकिने अवस्था छैन’, उनले भने ।

जिल्लाको दक्षिणी भेगमा भने यसपटक पनि पार्टी हेरेर भोट दिने सम्भावना कायम रहन सक्ने कँडेलको अनुमान छ । समग्रमा छिटो परिवर्तन चाहने मतदाताको मनोविज्ञान र उम्मेदवारका रुपमा आउने पात्रको चरित्रले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । सत्तारुढ पाँच दलको गठबन्धन हुँदा र नहुँदाले रुपन्देहीको चुनावी परिणाममा त्यति ठूलो प्रभाव नपर्ने विश्लेषक कँडेलको दाबी छ ।

टिप्पणीहरू