सम्बृध्दि र सम्पन्नताको प्रतीक हो भ्यूटावर ?

सम्बृध्दि र सम्पन्नताको प्रतीक हो भ्यूटावर ?

स्थानीय तह निर्वाचनको केही समयअघि धेरैजसो नेता तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा बनाइएको भ्यूटावर उद्घाटन गर्ने लहर चलेको छ । यसबाट उनीहरुलाई विकास निर्माणको स्वामित्व लिन हतारो भएको भान हुन्छ । सोमवार पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा पुगेर भ्यूटावरको उद्घाटन गर्नु भयो ।

‘जनयुध्द स्मृति टावर’ नाम दिइएको उक्त भ्यूटावरको उद्घाटनलगत्तै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले रोल्पामा अझै मानवीय आधारभूत आवश्कताको अभाव भएकाले यस्ता टावरको कुनै औचित्य नरहेको दाबी गरेका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘आधारभूत स्वास्थ्यका लागि अस्पताल सबैभन्दा बढी आवश्यक होला नि मनोरञ्जनका लागि भ्यूटावर भन्दा ?’ अर्का प्रयोगकर्ताले, ‘देशमा भ्यूटावरहरु निकै जरुरी छ । राम्रो शिक्षा,जागिर,स्वास्थ्य सेवा नपाएपछि त्यही भ्यूटावरमाथि चढेर हाम्फाल्न काम लाग्छ नि हैन ?’ भनेर व्यंग्य हानेका छन् ।

केही भने रोल्पाको साँघुरा तथा साना भवन भएको अस्पतालको फोटो हाल्दै ६ करोड १० लाखमा भ्यु टावर बनाएर बजेट सक्नुभन्दा अस्पताल,विद्यालय बनाउनेमा जनप्रतिनिधिको ध्यान जानु पर्ने बताउँछन् । यसरी चौतर्फी विरोध भइरहँदा रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले भने रोल्पाकै सम्वृद्धिका लागि भ्यूटावर बनाइएको उल्लेख गर्नुभयो । उहाँले पर्यटनलाई जोड्न भ्यूटावर चाहिएकाले यसको निर्माण भएको उल्लेख गर्दै भन्नुभयो, ‘यसबाट वर्षेनी २४ लाख आम्दानी हुन्छ ।’

राम्रो शिक्षा,जागिर,स्वास्थ्य सेवा नपाएपछि त्यही भ्यूटावरमाथि चढेर हाम्फाल्न काम लाग्छ नि हैन ?’

उहाँका अनुसार भ्यूटावरलाई मासिक दुई लाख रुपैयाँका दरले ठेक्कामा दिन लागिएको छ । यसबाट आम्दानी हुने सबै रकम विकास निर्माणमा खर्च गरिने उहाँको दाबी छ । मेयर के.सी भन्नुहुन्छ, ‘रोल्पाकै सम्बृध्दिका लागि भ्यूटावर निर्माण गरिएको हो । पर्यटक भित्र्याउने तरिकाले बनाइएको हो । यसबाट वर्षेनी २४ लाख आम्दानी हुने अनुमान छ भने आउने वर्षमा यसबाट आम्दानी अझ बढ्छ । सो रकम शिक्षा,स्वास्थ्य तथा विकास निर्माणमा प्रयोग गरिन्छ ।’

उहाँले रोल्पामा तीन अर्बको बजेट छुट्टाइएकोमा अस्पताल, विद्यालयदेखि धेरै विकासका कार्यमा खर्च गरिएको बताउनुभयो । त्यसबाट प्रत्येक वर्ष एक सय जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको पनि उल्लेख गर्नुभएको छ । भ्यूटावरलाई लिएर सार्वजनिक भएका नकारात्मक र सकारात्मक सबै प्रतिक्रियाको आफूले सम्मान गर्ने बताउँदै पहिले रक गार्डेन बनाउँदा पनि केहीले विरोध गरेको यथार्थ आफूसँग रहेको जानकारी गराउनुभयो । तर यी सबै विकास रोल्पाकै लागि हो भन्ने बुझेपछि विरोध गर्नेहरु परिवारसहित घुम्न थालेको पनि उहाँले उदाहरण दिनुभएको छ । उहाँले ‘भ्यु टावरको आफूहरुले दुरुपयोग नगर्ने प्रतिबध्दता’ जनाउनुभयो ।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गत मंगलबार रुपन्देहीको तिलोत्तमा पुगेर ११ करोड रुपैयाँमा बनेको भ्यूटावरको उद्घाटन गर्नुभयो । उद्घाटनपछि त्यहाँका स्थानीयले पनि बाँझो खेत र गरिबी हेर्न स्थानीय सरकारले भ्यूटावर बनाएको व्यंग्य गरेका छन् । सामाजिक सन्जालमा उक्त कार्यको विरोध भइरहेको छ ।

तिलोत्तमाको भ्यूटावरलाई लिएर एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘चढेर के हेर्ने गरिबी,भोकमरी,पिछडिएको समाज ?’ त्यस्तै अर्का एक जनाले भनेका छन्, ‘यस्ता वाहियात टावर बनाउने बजेटले नगरभित्र केही विकास गरे हुन्नथ्यो ?’

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उक्त टावरको निर्माण कुनै दृश्य हेर्न मात्र बनाएको भ्यूटावर नभई बहुउद्देश्यीय भवन भएको बताउनुभयो । उहाँका अनुसार भ्यूटावर त्यहाँका जनता र नगरपालिकाको सम्वृद्धिका लागि बनाइएको हो ।

‘यो कुनै दृश्य हेर्नका लागि मात्र बनाइएको भ्यूटावर होइन । यो नेपालकै एक नम्बरको भ्यूटावर हो । यसबाट वार्षिक ४० लाख रुपैयाँ आम्दानी हुन्छ । त्यो पनि दुई दुई वर्षमा रकम बढ्दै जान्छ ।’ टावरमा होटलदेखि पुस्तकालयसम्म भएको जानकारी दिइएको छ । एक सयभन्दा बढी नागरिकले रोजगारी पाउने हुँदा उक्त टावर नगरपालिका र जनताकै लागि महत्वपूर्ण भएको मेयरको दाबी छ ।

टिप्पणीहरू