महिनामा १५ करोडको विदेशी मास्क खपत

महिनामा १५ करोडको विदेशी मास्क खपत

नेपालले पछिल्लो सात महिनामा विभिन्न देशबाट एक अर्ब रुपैयाँभन्दा बढीको फेस मास्क खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा साउनदेखि माघसम्मको अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रिएको छ ।

उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७ सय ३५ थान फेस मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम र नामिबियाबाट फेस मास्क खरिद गरेको छ ।

चीनबाट सबैभन्दा धेरै ७६ करोड ३० लाख १६ हजार रुपैयाँको, डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार रुपैयाँको र हंगेरीबाट ४ करोड २० लाख ९ हजार रुपैयाँको आयात गरिएको हो ।

भारतबाट एक करोड ४६ लाख एक हजार रुपैयाँ, सिंगापुरबाट एक करोड ९२ लाख ३२ हजार रुपैयाँ र अमेरिकाबाट २ करोड ७५ लाख ७१ हजार रुपैयाँको फेस मास्क ल्याएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क किनेको थियो । कोरोना महामारीका कारण फेस मास्कको आयात बढेको बताइएको छ ।

टिप्पणीहरू