पशुका लागि नियमै नियम,अवस्था चैं जस्ताको त्यस्तै

पशुका लागि नियमै नियम,अवस्था चैं जस्ताको त्यस्तै

नेपालमा छाडा पशुपन्छीको अवस्था दयनीय बन्दै गएको छ । देशका विभिन्न शहरी क्षेत्रमा बाटोभरि चौपाया हिंडिरहेका हुन्छन् । पशुपालकले आफ्नो काम पूरा भएपछि बाटोमा छोड्ने गरेकाले शहरी सौन्दर्यता नै बिग्रने गरी सडक, गल्ली र चोकहरुमा पशु चौपाया हिंडिरहेका हुन्छन् । सुरक्षा संवेदनशीलताका दृष्टिले समेत सडकमा त्यसरी चौपाया छोड्नु खतरा मानिन्छ । तर,नियमनकारी निकायले बेवास्ता गर्दा छोडुवा पशु नियन्त्रण हुन सकेको छैन ।

काठमाडौँका सडकहरुमा कुकुर, बिरालोदेखि काग,परेवालगायत मरेका पशुपन्छी पनि जताततै भेटिन्छ । अझ पशु ढुवानी गर्दा उनीहरुको अवस्था झन भयानक देखिने गरेको छ । भैसी,राँगा, खसीबोका जस्ता पशुलाई गाडीमा कोचेर ढुवानी गर्ने गरिएको पाइन्छ । ठूला ट्रकहरुमा २० वटाभन्दा बढी पशु राख्न नपाइने भएपनि ३० वटासम्म कोचिएको हुन्छ ।

प्रहरीका अनुसार काठमाडौँ भित्रिने एउटा नाकाबाट ठूला ट्रकमा राँगा–भैंसी, पाडा–पाडी गरी ३० वटासम्म राखिएका दर्जनौँ गाडी भित्रिरहेका हुन्छन् । दशैंको बेला एउटै नाकाबाट मात्र १ सय ५० वटासम्म त्यस्ता गाडी भित्रिने गरेका छन् ।

त्यसो त,पशु सुरक्षासँग सम्बन्धित विभिन्न कानुनहरु नबनेका होइनन्, तर अलपत्र परेका पशु र मापदण्ड विपरित भैरहेका ढुवानीको नियमन गर्ने कसले हो थाहा छैन । पशु कल्याण निर्देशिका-२०७३, पशु ढुवानी मापदण्ड-२०६४, मुलुकी अपराध संहिता ऐन-२०७४ मा पशु कल्याणका सवाल सम्बोधन गर्न खोजेको भएपनि नियमनकारी निकायको अभावमा त्यो पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।

पशु ढुवानी मापदण्ड-२०६४ मा “पशुलाई ढुवानी गर्दा हलचल गर्न सकिने,घाउ चोट नलाग्ने,अत्यधिक चिसो वा तातोबाट बचाई,एक आपसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नु पर्नेछ” भनेर लेखिएको छ । त्यस्तै, गाडी अत्यधिक हाँक्न नहुने तथा ढुवानी गर्दा पशुलाई अफ्ठ्यारो हुने तरिकाले बाँध्न नहुने मापदण्ड बनाइएको छ ।

तर,व्यापारी र सवारी चालकले यसलाई पूर्णत: बेवास्ता गर्दै दयनीय अवस्थामा पशुको ओसारपसार गर्ने गरेका छन् । पशुको पुच्छर ट्रकमा बाँध्ने,नाके डोरी लगाउनेदेखि हलचल गर्न नमिल्ने गरी ढुवानी हुने गरेको छ । पशु पीडाले कराउन नसकोस् भनेर मुखसमेत बाँध्ने गरेको पाइन्छ ।

जसका कारण पशुहरु छट्पटाइरहेका हुन्छन् भने कति बाटोमै मरेका छन् । मापदण्डमा ढुवानी अवधिभर घाँस पराल र दाना पानीको पर्याप्त व्यवस्था गरेको हुनुपर्ने भनिएको छ तर, कयौँ दिनको लामो सफरमा समेत पशुलाई भोकभोकै ढुवानी गर्ने गरेको पाइन्छ ।

लामो समयको ढुवानीमा कम्तीमा प्रत्येक आठ घण्टाको फरकमा साधन रोकेर पशुलाई आराम गराउने तथा दाना पानी दिनुपर्ने मापदण्डमा उल्लेख छ । पशुको सडक ढुवानी मापदण्ड कागजमै सीमित हुँदा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली–२०५६ (दोश्रो संशोधन, २०६४) कृषि तथा सहकारी मन्त्रालय, पशु सेवा विभागले पशुहरुको सडक तथा पैदल ढुवानी मापदण्ड लागू गरी संशोधन गरेको १४ वर्ष बितिसक्दा पनि अवस्था सुध्रिएको छैन ।

देशका विभिन्न ठाँउहरुबाट ट्रकमा खाँदेर राँगाभैंसी सडक ढुवानी मापदण्ड विपरित राजधानीसम्म ल्याइने गरिएको सरोकारहरु बताउँछन् । आखिर काठमाडौँ लगेर मार्ने नै हो भन्ने व्यापारिक मानसिकताले पनि मापदण्ड लागू हुन् नसकेको उनीहरुको बुझाइ छ ।

मुलुकी अपराध संहिता ऐनमा कुनै पनि पशुपन्छीलाई निर्दयी व्यवहार गरेमा तिन महिना कैद वा पाँच हजार जरिवाना वा दुवै हुने उल्लेख छ । तर, नियमनकारी निकाय प्रष्ट नतोकिनु र अनुगमन नहुनुले यस्ता ऐन कानुन केवल कागजी खोस्टोमा परिणत भैइरहेको छ ।

विभिन्न जिल्लाका पशुसेवा कार्यालयमा नियमावली छ तर उनीहरुलाई के कस्तो नियम तथा कानुन बनेका छन् भन्नेसमेत जानकारी हुँदैन । सडकमार्गबाट पशु ढुवानीमा नियमावली लागू गर्न कसैलाई निर्देशनसमेत दिइएको छैन । ट्राफिक प्रहरीले यस बिषयमा आफूलाई कुनै अधिकार नभएको बताएको छ । ट्राफिक प्रहरी प्रवक्ता संजिव शर्मा दासका अनुसार सवारीसाधन भित्र के-कस्तो छ भनेर हेर्ने अधिकार ट्राफिक प्रहरीलाई छैन ।

दास भन्छन्, “हामीलाई कुनै अधिकार नै दिइएको छैन् । त्यसैले गाडिभित्र के छ हेर्न मिल्दैन ।’ मापदण्ड मिचेर पशु ढुवानी भएको आँखै आगाडि देख्दा पनि त्यसको नियमन गर्ने अधिकार ट्राफिकलाई नभएकाले कार्वाही गर्न नसक्ने उनको भनाइ छ । काठमाडौँ भित्रिने विभिन्न नाकाहरुमा रहेका ट्राफिक प्रहरीले पशु ढुवानी गर्दा रगतताम्मे भएको अवस्थामा चालकलाई रोकेर केहि हदसम्म सम्झाउने गरेको उनले सुनाए ।

यता, नेपाल प्रहरीले पशु ढुवानीसम्बन्धी मुद्धा दर्ता भएको अवस्थामा मात्रै आफूहरुले केही गर्न मिल्ने बताएको छ । अच्चमको कुरा त के छ भने प्रहरीसँग यस बिषयमा कुनै मुद्धाको तथ्यांक नै छैन । ढुवानी व्यवस्थित गर्न नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली बनाएकै २२ वर्ष पुगिसकेको भएपनि पशु सेवा विभागले नयाँ ऐन बन्ने अवस्थामा रहेका कारण पनि यी कानुनहरु लागू हुन् नसकेको जनाएको छ ।

त्यस्तै, पशुसेवाअन्तर्गतको पशु क्वारेन्टाइन महाशाखाले महिनामा दुई तीन पटक महाशाखाबाट अनुगमन हुने गरेको बताएपनि अहिलेसम्म अनुगमन भएको भने पाइएको छैन । महाशाखाका वरिष्ठ पशु चिकित्सा अधिकारी डाक्टर मोदनाथ गौतमले कोरोनाका कारण अनुगमनमा जान नसकेको बताए । उनी भन्छन्, “यहाँबाट महिनामा दुई तिन पटक अनुगमनमा जाने गरेका थियौ । तर, अब कोरोना कारण पनि यो अहिले रोकिएको छ ।”

हाल मुलुकभर काकरभिट्टा, विराटनगर, जनकपुर, विरगन्ज, भैरहवा, नेपालगंज, काठमाडौ, गड्डाचैकी गरि आठवटा जिल्लामा क्वारेन्टाइन रहेका छन् । क्वारेन्टाइन महाशाखाले २८ वटा चेकपोस्टबाट सेवा दिइरहेको बताएको छ । तर, पशु ढुवानीको अवस्था अहिले पनि उस्तै छ । न सडकमा छोडिएका पशु नियन्त्रण नै भएको छ । जे भएको छ, सबै कागजमा भएको छ ।

टिप्पणीहरू