खोस्टो बनाउने कि खुराक ?

  • गोविन्द भट्टराई

कुमाल, बोटे समुदायका नागरिक आर्थिक अवस्थाको कारण परम्परागत पेशा लोप भएयता धेरै देशमा भरिया र विदेशमा मजदुर बन्न पुगेका छन् । महिला, जनजाति, अल्पसंख्यक, दलित, गरिबले विगतमा बोल्न नपाएकोमा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाएका छन् ।

नेपाली जनता (नागरिक)का सन्तानले लेखेको र जारी गरेको हुनाले वर्तमान संविधान अग्रगामी छ भन्ने नेकपाका नेता–कार्यकर्ताको विश्लेषण भेटिन्छ । यही संविधानअनुसार जनप्रतिनिधि बनेर उल्टो उक्त संविधानको विरोध गर्ने मधेशका केही नेतालाई नेकपाका नेता भीम रावलले शब्दमार्फत उछित्तो काढेका छन् । समग्रमा संविधान आफंैमा खराब वा अग्रगामी होइन बरु यसलाई कसरी कार्यान्वयन गरिन्छ, प्रतिफल त्यसैमा भर पर्छ भन्ने कतिपयको विश्लेषण छ ।

संविधानको सबल पक्ष औंल्याउँदै विगतकी कमलरी तथा हालकी सांसद शान्ता चौधरी भन्छिन्, ‘नेपाली जनताका प्रतिनिधिले नयाँ संविधान लेखे । संसारसामु उदाहरण प्रस्तुत गरे । नेपाल विविधताको देश हो । हिजो संविधानसभामा र आज प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहमा देख्न सकिन्छ रंगीचंगी फूलबारीको वास्तविक चित्र । यो धेरै ठूलो र महŒवपूर्ण उपलब्धि हो । यही संविधानमा सदियौंदेखि उत्पीडनमा पर्दै आएका, वञ्चितीकरणमा परेका जनताको अधिकार उल्लेख गरिएको छ । यही संविधानमा देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउँदै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा छ । संविधानको पूर्ण कार्यान्वयन गरौं, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गरौं ।’ नेपालको संविधान त्यसै बनेको होइन भन्दै नेकपाका नेता राजेन्द्र बिक थप्छन्, ‘यो संविधान १७ हजार नेपालीको बलिदान, ५ हजारभन्दा धेरै बेपत्ता र ३ करोड नेपालीको आन्दोलनको उपज हो । हिजो जसले रगत र जीवन समर्पण गरे उनीहरूको सपना पूरा गर्ने दिशामा लाग्न प्रेरणा मिलोस् ।’

हाल पाल्पामा रहेका युवा नेता राजेन्द्र बिकझैं बलिदान गर्नेहरूको सपनाको कदर हुन सकेन भन्दै पत्रकार तीर्थ कोइराला लेख्छन्, ‘प्रधानमन्त्री, मन्त्री, सचिव, सरकार, व्यवस्था, विधान, संविधान, पेशा, पोशाक, पारिश्रमिक सबै तलदेखि माथिसम्म फेरियो । तर, सोचाइ र संस्कारचाहिँ फेर्न सकिएन, समस्या यसैमा अड्कियो ।’ देशमा तीन तहको सरकार छ, हिजो केन्द्रिकृत तानाशाही एकल सरकारले गर्न नसकेको काम ७ सय ६१ सरकारले गर्न सक्नुपर्नेमा किन भएन भन्दै लीला ढेंगा थप्छिन्, ‘विधानमा यस्तो व्यवस्था छ, यसो गर्न पाइँदैन, यो गर्नुपर्छ भन्दै सीधासोझा नागरिकलाई थर्काउने साधन नबनोस् संविधान । फेरि, पेरिस्कोप नै प्रयोग गरी सानातिना छिद्र पहिल्याई तिनै संविधानका ज्ञाताबाटै फाइदा लिने साधन पनि नबनोस् संविधान । संविधानको प्रयोग त यसरी होस् कि सबै नागरिकले अपनत्व बोध गर्न सकुन्, सबै नियन्त्रित होउन्, सबैलाई अधिकार प्राप्त होस् । संविधानको मर्म, धारा, उपधारा र खण्डको व्याख्या सबैलाई समान रूपमा होस् । सबैले न्याय पाउन्, हामी कोही पनि कुण्ठित हुन नपरोस् ।’

साविक गाउँ विकास समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा कांग्रेस नेता नारायण कोइराला भने सरोकारवालाको रवैया परिवर्तन नभए, समग्र नागरिकको भावना नबुझी अगाडि बढे विकृति बढ्दै जाने र अर्को निर्वाचन नै नहुने दाबी गर्छन् । उनी नेपालको संविधानबारे भन्छन्, ‘बहुसंख्यक जनताको भावनाको प्रतिनिधित्व गर्नुपर्छ तर ९४५ ॐ कार मा आस्था हुनेको आँसुु बगेको छ ! संविधान विधिको शासनका लागि हो तर आफ्नो अनुकूल व्याख्या गर्दै यसको धज्जी उडाइएको छ ! संविधान सुशासन र आर्थिक समृद्धिका लागि हो तर कुशासन र भ्रष्टाचारले आक्रान्त छ ! संविधान सबैलाई समान अवसर र योग्य, दक्ष व्यक्तिको छनोट र जिम्मेवारीको प्रक्रिया हो तर परिवार गुट र अक्षम दासहरूको लुटको खेती भएको छ !

संविधान सबैको भावना, सहअस्तित्व सहकार्यबाट एक भई राष्ट्रियताको सम्वर्धन र संरक्षण गर्ने माध्यम हो तर बाह्य शक्तिको क्रीडास्थल बनेको छ ! संविधानमा गणतन्त्र लेखेर होइन, मेरो मनमा लेखेर देखाउन सक ! संविधानमा संघीयता लेखेर होइन, अधिकारको प्रयोग तलदेखि अभ्यास गराउन सिक ! धर्मनिरपेक्षता लेखेर होइन, आ–आफ्नो धर्म–संस्कृतिमा गर्व गर्न सिक ! आरक्षणजस्तो विषवृक्ष होइन सवलीकरणको बाटो अवलम्बन गर ! केही नगर्ने सत्ताका लागि बाह्यशक्तिको इशारामा मेरो आस्था, मेरो विश्वासमाथि घात गरेर तिमी राजा बन्ने, म रैति…. ??? म मान्दिनँ मान्दिनँ । आज मेरा लागि कालो दिन हो ! मनमा राख्नोस् यो संविधानअन्तर्गत अर्को निर्वाचन हुने छैन !’

अन्त्यमा, नेपालको संविधान त्यति सहजै जारी भएको होइन, यो कुरा सबैलाई थाहा हुनुपर्छ तसर्थ संविधानमा भएका मौलिक हक, अधिकार रक्षा, कार्यान्वयनका लागि नागरिक सचेतना तथा जागरुकताको खाँचो छ । सत्ता र प्रतिपक्षमा रहेकाहरू नेकपा, कांग्रेसलगायत दलका नेता, जनप्रतिनिधि सबैले आ–आफ्नो कर्तव्य निर्वाह नगरे संविधान कागजको खोस्टासरह हुनेछ । पत्रकार राजेश राईको आग्रह छ–‘नेपाली जनताको लामो समयदेखिको संघर्ष, त्याग र बलिदानबाट बनेको संविधानको अक्षरशः कार्यान्वयन होस् । पछिल्लो समय संविधानविरुद्ध उभिएको प्रतिगामी कदम र अतिवादी अवरोधको सबैले दृढतापूर्वक प्रतिरोध गरौं । यो वा त्यो रूपमा २०१७ साल दोहो¥याउन उद्यत तत्वहरूविरुद्ध सबै एकजुट होऔं ।’

टिप्पणीहरू