​कुनचाहि“ समझदारी ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का द्वितीय अध्यक्ष कमरेड पुष्पकमल दाहाल यतिबेला समझदारी नबिर्सन आग्रह गर्दै हुनुहुन्छ । भन्दै हुनुहुन्छ, समझदारी छाडेर कोही भाग्न हुँदैन ।

समझदारी गरेपछि भाग्न हुँदैन त हो । तर यो समझदारीचाहिँे हो के, त्यसको खुलासा भएको छैन । उहाँले खुलासा नगरेको कारण वास्तवमा कुन समझदारीको कुरा हुँदै छ, त्यो छुट्याउन सकिएको छैन । देशमा समझदारी त धेरै भएका छन् । एक दुई मात्र होइन, सयौँ । कुनै समझदारी पार्टी–पार्टीबीच भएका छन् । कुनै पार्टी र सरकारबीच भएका छन् । कुनै सरकार र जनताबीच भएका छन् । कुनै जनता र पार्टीबीच भएका छन् । यीमध्ये पनि पूरा नभएका समझदारी धेरै छन् ।

केही समझदारी गोप्य पनि छन् । उल्लेख गर्नै मिल्दैन । तीमध्ये पनि केही समझदारी लिखित छन्, केही अलिखित । जस्तो कि सरकार–व्यापारीबीच, तस्कर–सरकारबीच, घुस्याहा–प्रहरीबीच र कालाव्यापारी–पार्टीबीच । यी समझदारी सार्वजनिक भएका छैनन् । र, धेरै समझदारी लागू पनि भएका छैनन् । 

कमरेड अध्यक्षको आशय कुनचाहिँ समझदारीसम्बन्धी हो, प्रस्ट छैन । समझदारीबाट भाग्न त मिल्दै मिल्दैन, भन्नै परेन । तर, अध्यक्ष कमरेडको आफ्नै समझदारीचाहिँ कुन हो, थाहा पाउन सकिए कुरा अझ प्रस्ट हुन्थ्यो कि ?

टिप्पणीहरू