​सञ्जाल हो कि जञ्जाल ?

सरकार अब सामाजिक सञ्जालमाथि पनि प्रतिबन्ध लगाउने दिशातिर उन्मुख हुँदै छ । किनभने अचेलको सामाजिक सञ्जाल न सामाजिक छ, न त्यसमा सञ्जाल छ । नाम सामाजिक भनिए पनि त्यो पूरै असामाजिक छ । किनभने सामाजिक सञ्जालमा समाजका राम्रा कुरा केही पनि आउँदैन । जे आउँछ नराम्रा मात्रै आउँछ । सरकारले त हेर्नै हुँदैन । हे¥यो कि रिंगटा लागिहाल्छ । 

अर्को कुरा, सामाजिक सञ्जाललाई वास्तवमा सञ्जाल पनि भन्न मिल्दैन । नाम त्यसको सञ्जाल भनिए पनि काम भने जञ्जाल मात्रै हो । अनेक अनेक जञ्जाल बुझेर सञ्जालमा राखिएको हुन्छ । कहिले प्रधानमन्त्रीले डम्फू बजाएको र प्रचण्ड नाचेको देखाउँछ । कहिले प्रधानमन्त्रीले चुट्किला सुनाएको र कार्यकर्ता हाँसेको देखाउँछ । यो त सञ्जाल भएन, जञ्जाल मात्रै हो । यस्तो जञ्जाल हामीलाई किन चाहियो ? 

मुलुक अहिले समृद्धिको बाटामा छ । समृद्धिका लागि यस्ता सामाजिक सञ्जाल बाधक हुन् । अमेरिका, जापान, कोरिया, बेलायत, फ्रान्स, जर्मनी आदि देशले जुनबेला समृद्धिको बाटो समाए त्यो बेला त्यहाँ सामाजिक सञ्जाल थिएन । अझ मलाई त लाग्छ, सामाजिक सञ्जाल नभएकै कारण ती देशमा समृद्धि पनि सम्भव भएको हो । त्यसैले हामी पनि साँच्चै समृद्ध हुन चाहन्छौं भने यो सामाजिक सञ्जालको जञ्जालबाट मुक्त हुनै पर्छ । उदाहरणका लागि चीन छेउमै छ । तपाईंलाई चाहिँ कस्तो लाग्छ कुन्नि ! 

टिप्पणीहरू