सुदूरपश्चिममा मात्रै १८ जनाको सडकमा प्राणान्त

सुदूरपश्चिममा मात्रै १८ जनाको सडकमा प्राणान्त

सुदूरपश्चिम प्रदेशमा दशैँ तिहारको एक महिने अवधिमा मात्रै ८१ वटा सवारी दुर्घटना भएका छन् । गत असोज २१ गते घटस्थापनादेखि कात्तिक २१ गतेसम्म प्रदेशभर उक्त संख्यामा सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रदेशका विभिन्न जिल्लामा भएका दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी प्रदेशभर १ सय १३ जना घाइते भएका छन् । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रदेशभरका कूल ८१ वटा सवारी दुर्घटनामध्ये ४९ वटा मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ । यो संख्या कूल दुर्घटनाको ७० प्रतिशतभन्दा बढी हो । त्यस्तै, जीप र कार १४, टेम्पो चार, ट्याक्टर तीन, बस दुई र बाँकी अन्य सवारी साधन रहेका छन् ।

चाडपर्वको समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले नीजि सवारी साधनमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको देखिएको छ । साना सवारी चालकले लापरबाही ढंगले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एवम् प्रहरी उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

यसका साथै चाडपर्वका बेलामा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

टिप्पणीहरू