​इन्डियाभन्दा ठूलो आइडिया

  • संकेत कोइराला

राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कूटनीतिक मर्यादा रसातलमा पुगेको छ । दल र नेताहरूको साख मेची र महाकालीबाट पारी तर्न सकेको छैन । भारतमा नरेन्द्र मोदी नामको वर्षा हुँदा यहाँ अनगिन्ती छाता ओढ्नेहरू निस्कन्छन् । मुख्यमन्त्री हुँदा उनले गुजरातमा गरेको कायापलट कसैका लागि अनुकरणीय हुँदैन । मोदीकी ९० वर्षीया आमाले सार्वजनिक यातायात चढेर मतदान गरेको दृश्यले कसैलाई छुँदैन । चिया पसले मोदी विशाल भारतको कार्यकारी पदमा कसरी पुग्यो ? त्यसको विश्लेषण छैन । ‘अब भारतीय जनताले देशका लागि मर्ने दिन गए’ भनी उद्घोष गर्ने मोदीको विकास आन्दोलनमा नेपालले उर्जा दिएर सघाउन सक्छ । नेपालले उत्पादन गर्ने जति पनि उर्जा अब भारतका लागि कम हुन्छ । बरु हाम्रा नेताहरूले क्रान्तिका बखान छाडेर यसखाले काममा तदारुकता देखाए पुस्तौं पुस्ताका लागि असल कर्म हुने थियो । मोदीसंगको सेल्फी फोटो बैठक कक्ष सजाउने र आफ्ना भजन मण्डलीलाई प्रवचन दिने संकीर्ण विचारमै सीमित हुने हो भने राजनीति नामको पवित्र चीजलाई नजुठ्याएकै जाति हुन्छ ।

हाम्रा देशका ठूला मानिसहरूको अस्तित्व पूर्णिमाको चन्द्रमाजस्तै लाग्छ । यिनीहरू आरिसलाग्दो झलमल्ल त देखिन्छन् तर फगतः एक्लो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी खातामा नाम दर्ता भएका हिसाव गर्दा ६० जनाको लावालस्कर लिएर भारत गए । त्यो भ्रमण दलमा को थियो भन्दा को थिएन, जस्तो लाग्थ्यो । दुर्भाग्य, प्रधानमन्त्रीले कुम जोडेर भारतीय समकक्षीसँग खिचेको फोटो समेत मोदीको ट्वीटबाट पैंचो लिनुपर्ने अवस्था आयो । ओली सरकारका विकासे एजेण्डा मोदीले कण्ठ गरी बसेका थिए । भारतीय पक्ष व्यक्ति हार्ने, देश जित्ने रणनीतिमा देखिन्थ्यो । भारतीय प्रधानमन्त्रीको टीम यस्तो थियो– अरु मिलाएर पास दिन्थे, मोदी अचुक निशाना लगाउँथे । हाम्रो टोलीमा समूह मात्र नेपाली नागरिकताधारी थियो तर त्यहाँभित्र खण्डित नेपाल थियो । थुप्रै लेण्डुप दोर्जीहरू दौरासुरुवालको भेषमा छिरेका थिए । जहाज चढेदेखि नै सबैमा सेल्फी मेनिया स्पष्ट झल्कन्थ्यो । सबैका अनुहारमा उही तोरीलाहुरे संस्कृतिको उत्ताउलोपन जात्रा हेर्न हौसिएको बालकजस्तो ।

लेखिदिएको कागजबाहेक ओलीजस्ता वाकपटु व्यक्तिका भावनात्मक कुनै धारणा थिएनन् । एक प्रतिशत हिन्दु भारतीयलाई पशुपति ल्याउन सकियो भने एक करोड धार्मिक पर्यटक थपिन्छन् भन्ने नर्सरी पढ्ने बालकले बुझ्ने चेत राजनीतिका घागडान मुखियाहरूसँग थिएन । अरुको आँगनमा फस्टाएको हरियो दुबोमा राल काढेरै पुस्तौंपुस्ताको सपना भित्तो लाग्यो । मानिलिऊँ नेपालमा पानीजहाज चल्यो रे ! त्यसपछि आउने परिणाम अहिले नै प्रष्ट छ । छातीमा हात राखेर भन्दा नेपाल देश भारतीय र चिनियाँ उत्पादनको शोरुम हो । भारतबाट सामान बोकेर आएका सयवटा कन्टेनर निर्यातजन्य उत्पादन भरेर पठाउने सामथ्र्य राख्दैनौं भने पानीजहाजको उपयोग कसरी गर्न सक्छौं ? हामी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कस्सिएका त छौं तर नेपाली झण्डाबाहक जहाज डाइनोसर बन्दै गएको छ । ट्रान्जिट बनाएर विदेशी वायुसेवा कम्पनीलाई लखनउ लुट गराउनकै लागि विमानस्थल किन बनाउनुप¥यो ? कृषक नचिन्ने नीति, आमाबाउ पाल्ने हैन फाल्ने शिक्षा, अपराध फस्टाउने राजनीति, राजश्वमारा व्यापार र घुसमा बिकेको न्यायमा शुद्धिकरण नल्याई समृद्ध नेपालको सपना देख्नु भनेको मृगतृष्णा मात्र हो । समय आपैंm असल, खराब हुँदैन । समय त सेतो कपडा हो, यसमा कुन रंग मिसाउने त्यो मानिसको स्वविवेकमा निर्भर रहन्छ । एमालेजन केपी ओलीका हरेक चीजमा सौन्दर्य देख्छन् । अंग्रेजी बोलाई, हिँडाई, चलाई मात्र हैन, भारतमा ओलीले पाएको आतिथ्य अद्वितीय ठान्छन् ।

काँग्रेसीहरू मनमोहनसिंहले तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विमानस्थलमै आएर सुम्सुम्याएको सम्झिएर अर्को आत्मरतिमा रमाउँदा हुन् । नेपालमा गएको भूइँचालोको खबर सुशील कोइरालालाई दिने सूचक मोदी नै थिए । प्रश्न पूmल, सलामी, मलामी, मिष्टान्नको होइन । चुरो विषय पद्दतिको हो । हाम्रो इमान्दारीको हो । काठमाडौंमा मेलम्ची गाथा गाएको चार दशक हुनलाग्यो । शिक्षा र स्वास्थ्य कालो व्यापार र दलालीका अब्बल व्यवसाय बनेका छन् । धुवाँ, धुलो प्रदूषणले नेपालीको स्वास्थ्य दिन प्रतिदिन धराप छ । घुस कति नैतिक कर्मभित्र पर्छ भने राजश्व बुझाउँदा पनि दलालको सहारा लिनुपर्छ । तारे होटलमा एक कपको चिया तीनसय पर्छ तर किसानले मेहनत गरेर मकै फलायो भने उसको हातमा एक रुपियाँ पर्छ । सार्वजनिक यातायातका उपभोक्ताको अवस्था र ममः पकाउन ट्रकमा ल्याइएका भैंसीले पाउने सुविधा उस्तै छ । ट्याक्सी सेवा एम्बुलेन्सभन्दा महँगो छ । न्याय अन्यायभित्रबाट निसृत हुन सकेकै छैन ।

के यी समस्या भारतबाट सृजित हुन् ? सुधारको छिनो यता चलाउनु पर्दैन ? प्रधानमन्त्रीको पदेन प्रमुखको हिसाव लगाउने हो भने ६० भन्दा बढी ठाउँमा ओगटिएको छ । ती ठाउँको गुणस्तर वृद्धिमा प्रधानमन्त्री पद कति साधक, कति बाधक भयो भन्ने समीक्षा छैन । बरु चारजना ढोके, हुक्केहरूले सन्काएका भरमा प्रकृति नमिल्ने ठाउँको सारथी प्रधानमन्त्रीलाई बनाइन्छ । अपराधको चंगुलबाट राजनीतिलाई निकालेका दिन सबै समाधानको बिन्दु भेटिन्छ । तर त्यो यात्रामा जुट्ने जाँगर कसैलाई छैन । 

महाभारत समाप्त भएपछि बाणको शैøयामा सुतेका भीष्म पितामह मृत्युको अन्तिम घडीमा थिए । पाण्डवहरू उनको नीति र अनीतिको अन्तिम उपदेश सुन्न पुगेका थिए । उपदेश सुन्दासुन्दै द्रौपदी अट्टहास गरेर हाँसिन् । भीष्म पितामहले सोधे– ‘छोरी, तिमी किन हाँसेकी ? द्रौपदीले निर्भिकतापूर्वक भनिन्, ‘क्षमा गर्नुस्, पितामह । आज तपाईं नीति र अनीतिको कुरा सिकाउँदै हुनुहुन्छ । तर जब सभामा दुष्ट दुशासन मेरो चीरहरण गरिरहेको थियो, त्यतिबेला शान्त मुद्रामा जड भएर तपाईं यी दृश्य हेरिरहनुभएको थियो । त्यतिबेला नीति र अनीतिको विवेक कता गएको थियो ? यही सम्झेर मलाई हाँसो लाग्यो ।’ 

भीष्म पितामहको स्वीकारोक्ति थियो– ‘तिम्रो कथन सर्वथा सत्य हो पुत्री । तर त्यतिबेला म दुर्योधनको अधिनमा थिएँ । उसको अन्नले मेरो प्राण धानिएको थियो । तर आज अर्जुनको बाणले मेरो शरीरबाट सम्पूर्ण विषाक्त रगत निकाल्दिएको छ । जुन दूषित अन्नबाट बनेको थियो । त्यसैले म अब निश्चल र निर्मल भएर उचित, अनुचित, नीति, अनीति खुट्याउन सक्छु ।’ के हाम्रा नेताहरू शुद्धिकरणको यो अग्निपरीक्षासम्म पुग्न सक्छन् ? समाजले खोजेको परिवर्तन यस्तो हो । जसले मानिसलाई इज्जत र अवसर दुवै देओस् । 

ब्रिटिसले फौजी आक्रमण गरेर फकल्याण्ड टापु लिँदा अर्जेन्टिनीहरूले दागा धर्दै भनेका थिए– ‘यसको बद्ला हामी फुटबलको मैदानमा लिन्छौं ।’ यो प्रतिशोध कतिसम्म ज्यूँदो र आक्रामक थियो भने भर्खर जन्मिएको शिशु सुताइएको कोक्रोमाथि पनि फुटबल झुण्ड्याइन्थ्यो । जसका कारण बच्चाको चेतनाले पहिलो पटक ठम्याउने वस्तु भनेकै फुटबल हुन्थ्यो । यसरी सधैं बाघले बाख्रा मात्र खाएर सक्दैन । बाघचाल खेलमा बाख्राले बाघलाई घेरेर पनि खेल जित्छ । तर वाकओभर हाम्रो नियति बन्यो । पात तबसम्म सुरक्षित हुन्छ, जब ऊ रुखसँग जोडिएको हुन्छ । चट्टानको सामथ्र्य पहाडसंग जोडिएका बखत सुरक्षित हुन्छ । मान्छे परिवारसँग अलग हुँदा स्वतन्त्र त होला तर संस्कार नामको कवच गुमाउँछ । मसानघाटमा कतै लेखिएको थियो, ‘कसैलाई के आरोप लगाउनु साथी, जिन्दगीमा सताउने र जलाउने पनि आफ्नै थिए ।’ 

भगवान् बुद्धका मूर्ति त धेरै स्थापना भए, तर बुद्धत्व ग्रहण गर्नेहरू थोरै भेटिए । देवताको पूजा गर्न मन्दिरमा थुप्रै भीड लाग्यो, देवत्वको मर्म आत्मसात् गर्ने झन् न्यून भए । जनयुद्ध जीवनको गम्भीर भूल थियो भन्न मात्र बाँकी राखेका माओवादी नेताहरूले ठूलो हैन असल बन्ने कोशिस गरे जाति हुन्थ्यो । कांग्रेस, एमाले र माओवादी आपूmहरूलाई सृष्टिकर्ता र पालनकर्ता सम्झिने भ्रमबाट मुक्त भइदिए हुन्थ्यो । बसुधैव कुटुम्बकमको मूल मर्म पनि यही हो । 

टिप्पणीहरू