काठ तस्करी गर्ने २ जना पक्राउ
लुकाई छिपाई काठ तस्करी गरेको अभियोगमा मकवानपुरमा दुई जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका–११, तिनताप्केमा प्रदेश ३–०३–००१ ख ०१३२ नम्बरको मिनिटाटा गाडीमा लुकाई ल्याएको ५४ क्युफिट अबैध सालको काठसहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गाडी चालक स्थानीय स्मारकका २३ वर्षीय सुखराम रुम्बा र हेटौंडाकै २४ वर्षीय दिपेश लामा रहेका छन् ।
बसामाडीबाट पदमपोखरीतर्फ जाँदै गरेको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा लुकाई ल्याएको काठ फेला परेको बताइएको छ । गाडीका चालक सुखराम र काठ ओसार–पसारमा संलग्न गाडीको पछाडि ना.५२ प ८८०९ नम्बरको मोटरसाइकलमा आएका दिपेशलाई प्रहरीले उक्त काठ, गाडी र मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उता, झापाको मेचीनगर नगरपालिका–६, शान्तिनगर टोलबाट २२ ग्राम लागूऔषध ब्राउन सुगरसहित सोही स्थानीय शान्ति टोलका ३४ वर्षीय पवन राई बिहीबार दिउँसो पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरि जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू