बाख्रा फर्काउने कारणवारे व्याख्या
बाख्रा खरिद र वितरणको जिम्मा लिएको केयर फार्म नेपाल प्रालि बाँकेले किसानलाई अस्वस्थ र उत्पादन दिन नसक्ने बाख्रा उपलब्ध गराउने मनशाय नभएकाले तुरुन्तै फिर्ता गरिएको जनाएको छ ।
प्रालिले १ सय ५० वटा बाख्रा खरिदका लागि मुसिकोट नगरपालिकासँग सम्झौता गरेको थियो । जेठ २७ गते पहिलो चरणमा रुकुम पश्चिम ल्याइएका ५६ मध्ये २६ वटा बाख्रा मापदण्डविपरीत,उत्पादन दिन नसक्ने र अस्वस्थ भएको भन्दै नगरपालिकाले फिर्ता गरिदिएको थियो ।
किसानले समेत लिन अस्वीकार गरेका थिए । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा नगरपालिका र ठेकेदार कम्पनीको चर्को विरोधसमेत भएको थियो । कम्पनीले जारी गरेको विज्ञप्तिमा जेठ २६ गते ५६ वटा बाख्रा नेपालगञ्जबाट पशु चिकित्सकको रोहवरमा तौल र स्वास्थ्य परीक्षण गरेर पठाइएको उल्लेख छ ।
नेपालगञ्जबाट रुकुम पश्चिमको मुसिकोटसम्म बाख्रा लैजाँदा लगातार ११ घण्टासम्मको अविरल वर्षा,७ घण्टाको बाटो अवरोध, झण्झटिलो चेकजाँचले गर्दा करिब १५ घण्टा बढी ढिलोगरी गाडी पुगेको कम्पनीले जनाएको छ । पानीमा भिजेका बाख्राको स्वास्थ्य बिग्रिएको र सम्झौताअनुसार बाख्राको तौल र मापदण्ड नपुगेकाले कम्पनीले तुरुन्तै बाख्रा फिर्ता गरेको विज्ञप्तिमा जनाइएको छ ।
भौगोलिक विकटता र मौसम प्रतिकूलताको कारण बाख्रा उपलब्ध गराउने क्रममा समस्या आएको भन्दै कम्पनीले मुसिकोट नगरपालिका,जनप्रतिनिधि, कर्मचारी,कम्पनी र स्थानीय प्रतिनिधि लक्षित अमर्यादित टिप्पणी नगरिदिन अनुरोध गरेको छ ।
टिप्पणीहरू