प्रदेश प्रमुखको दैलो घेर्दै ३१ जनाले पलेटी कसे
गण्डकी प्रदेश प्रमुख सीता पौडेलले संविधानसम्मत तवरले विपक्षी गठबन्धनको बहुमतबमोजिम नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि नबढाएपछि गण्डकी प्रदेशका ३१ जना सांसदले उहाँको निवास बाहिर धर्ना दिएका छन् ।
सांसदहरुको धर्नासँगै प्रदेश प्रमुख पौडेलको रत्नचोकस्थित निवासलाई अहिले प्रहरीले कडा सुरक्षा दिएको छ ।
बिहीबार बसेको प्रदेशसभाको बैठकमा २७ मा सिमित रही विश्वासको मत प्राप्त गर्न नसकेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज ३२ जना सांसदको समर्थन रहेको दाबी पेश गरेपछि प्रदेश प्रमुख पौडेलले प्रतिनिधिसभा विघटनको सिको गर्दै विपक्षी गठबन्धनको बहुमतलाई पन्छाउने र गुरुङले प्रदेशसभा विघटन गर्ने आशंकामा उनीहरुले धर्ना दिएका हुन् । गुरुङले विश्वासको मत लिने क्रममा जम्मा २७ जनाको मत पाउनुभएको थियो ।
हिजो विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस,माओवादी,जसपा, जनमोर्चा र स्वतन्त्र एक जना सांसद गरी ३१ जनाको बहुमत पुर्याउनु भएको थियो ।
उहाँले आफूसँग आवश्यक बहुमत सांसदको दस्तखत र कागजातसहित निवेदन हालेको २४ घण्टासम्म पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि नबढाएपछि विपक्षीहरु बिहानैदेखि सशंकित भएका थिए ।
टिप्पणीहरू