दुई दिनमा १७ जना पक्राउ,गोरु काट्ने १० जना

दुई दिनमा १७ जना पक्राउ,गोरु काट्ने १० जना

प्रहरीले हिजो बेलुकादेखि आज दिउँसोसम्म १७ जनालाई विभिन्न अभियोगमा पक्राउ गरेको छ । कपिलवस्तु,मोरङ,बारा,कञ्चनपुर र बाग्लुङमा गरी विभिन्न अभियोगमा १७ जनालाई पक्राउ गरिएको हो ।

कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ आनन्दबाग कैलाश टोलका मैसिन भन्ने ३३ वर्षीय पूर्णवीर पाल्पाली (कुम्हाल) हुन् । उनलाई १ थान एकनाले कुटुवा पेस्तोल र २ थान जंगी राउण्ड गोलीसहित आज बिहान पक्राउ गरिएको हो ।

कपिलवस्तु नगरपालिका–१ का दिपक पाण्डेयलाई जेठ ५ गते साकिर पाखिन समेतले गोली हानी मारेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पूर्णवीरलाई उनकै कोठाबाट हतियारसहित पक्राउ गरेको हो ।

त्यस्तै, गोरु काटेको अभियोगमा बाग्लुङमा १० जना पक्राउ परेका छन् । गल्कोट नगरपालिका–११ ठूलपोखरीका ३१ वर्षीय विष्णु श्रीषलगायत १० जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बिक्री गरेर सकिएको ६ केजी गोरुको मासुसहित प्रहरीले पक्राउ गरेको हो ।

यता मोरङ, बारा र कञ्चनपुरमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मोरङको सुनवर्सी नगरपालिका–८ सिक्टीबाट करिब १० ग्राम खैरो हेरोइनसहित २ जना शुक्रबार साँझ पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–९ का २९ वर्षीय सिर्जन श्रेष्ठ र ४७ वर्षीय दाम बहादुर भुजेल रहेका छन् ।

प्रदेश १–०२–०४१ प २५४ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा उक्त पदार्थसहित उनीहरू पक्राउ परेका हुन् । यस्तै, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जितपुर चोकबाट २ सय ३२ बोतल लागूऔषध ओनरेक्ससहित वीरगञ्ज महानगरपालिका–१७ का २१ वर्षीय सारुख मियाँ आज बिहान पक्राउ परेका छन् ।

बीआर २२ डी ४१४४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले रोक्ने क्रममा नरोकी भागेपछि पिछा गर्दै जाँदा स्थानीय केयर भिजन बोर्डिङ स्कुलमा लुकिछिपी बसेको अवस्थामा उनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ झिलमिला रोडबाट करिब ६ ग्राम चरेशसहित बेदकोट नगरपालिका–२ का २१ वर्षीय प्रकाश भट्टलगायत ३ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । सीमा प्रहरी चौकी ब्रहमदेवबाट खटिएको टोलीले जाँच गर्नेक्रममा उनीहरु उक्त पदार्थसहित पक्राउ परेका हुन् ।

टिप्पणीहरू