“आङ्गछिरिङ्गको निम्ति रविन्द्रको नाम जोडियो”
ताप्लेजुङ्ग सुकेटारको नाम परिवर्तन गरेर स्वर्गीय रविन्द्र अधिकारी विमानस्थल नामाकरण गर्नु गलत मात्र नभएर स्थानीय पहिचानमै प्रहार भएको भन्दै प्रदेश सांसदहरुले बिरोध गरेका छन् ।
प्रदेश सभामा जारी बजेट अधिवेशनको शून्य समयमा हिजो बोल्दै सांसद बलबहादुर सामसुहाङ र प्रतापप्रकाश हाङगामले सरकारले निर्णय नसच्याए स्थानीयस्तरमा विद्रोह सृजना हुने चेतावनी दिएका छन् ।
उनीहरुले सुकेटार आफैँमा एउटा भौगोलिक पहिचान भइसकेकाले पाथिभरा मन्दिर दर्शन गर्न आउँदा हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्रीको नाममा विमानस्थलको नाम परिवर्तन गर्नु उचित नहुने तर्क गरेका थिए ।
सांसद सामसोहाङले स्वर्गीय अधिकारीको उच्च सम्मानमा हेलिदुर्घटना भएको स्थलनजिकै रविन्द्र अधिकारी स्मृति पार्क निर्माण शुरु भइसकेको जानकारी गराए ।
यसैगरी सांसद सीता थेबेले तेह्रथुमको चुहानडाँडा (प्रधानमन्त्री केपी ओलीको जन्मथलो) विमानस्थलको नाम व्यवसायी आङ्गछिरिङ्ग शेर्पाको नाममा नामाकरण गरेको भन्दै आपत्ति जनाएकी छन् । उनले चुहानडाँडा विमानस्थलको नाम स्थानीयताको आधारमा हुनुपर्ने मागसमेत गरेकी छन् ।
उनले भनिन्, ‘स्थानीयले पटक पटक चुहानडाँडा विमानस्थललाई स्थानीय सम्मानको आधारमा नाम राख्न माग गर्दै आएका छन् तर सरकारले हेली दुर्घटनामा मृत्यु भएका पर्यटन व्यवसायीको नाममा नामाकरण गरेको छ, यो निर्णय सच्याउनुपर्छ । यसरी जवर्जस्ती पहिचान मास्न पाईंदैन ।’
टिप्पणीहरू