निषेधाज्ञामा एक मात्र पुनर्विमा कम्पनीलाई अनुमति

निषेधाज्ञामा एक मात्र पुनर्विमा कम्पनीलाई अनुमति

वीमा समितिले पाँच वटा कम्पनीले दरखास्त हालेकोमा आज एउटा मात्र कम्पनीलाई अनुमति दिएको छ । विशाल ग्रुप र त्रिवेणी ग्रुपको लगानी रहेको हिमालयन रिइन्स्योरेन्सलाई आज सोमबार स्वीकृति दिइएको हो ।

हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष भवानी राणा,नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरलगायतको लगानी छ ।

त्यसैगरी शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल,केएल दुगड ग्रुपका विकास दुगड,दुगड ग्रुपका विवेक दुगड,लक्की ग्रुपका रोहित गुप्ता तथा अन्य केही नाम चलेका व्यावसायिक घरानाका व्यक्तिहरुको समेत कम्पनीमा आवद्धता रहेको बताइन्छ । अनुमतिको काममा हर्ताकर्ता भने विष्णु अग्रवाल देखिएका छन् ।

बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बिमा कम्पनीको आह्वान गरेको गत बैशाखको सूचनामा पाँच कम्पनीले निवेदन दर्ता गरेका थिए । त्यसमा प्रुडेन्सियल रि–इन्योरेन्स,अन्नपूर्ण रि–इन्स्योरेन्स,काठमाडौं रि–इन्स्योरेन्स र जेन्युइन रि–इन्योरेन्सले समेत प्रस्ताव दर्ता गरेका थिए ।

पुनर्बिमा कम्पनीको अधिकृत पुँजी ८ अर्ब रुपैयाँको हुनुपर्ने व्यवस्था छ । बैंक सरहको कम्पनी भएकाले यसको अनुमति प्रदान गर्ने खेलमा धेरै दौडधुप भएको देखिन्छ । ६ प्रतिशत सेयर इक्विटीको आधारमा सञ्चालकहरुले पाउने ४८ करोड रुपैयाँको सेयर नै यसभित्रको ठूलो खेल हो ।

टिप्पणीहरू