सरकारको कुराले राप्रपामा पनि कचिङ्गल

सरकारको कुराले राप्रपामा पनि कचिङ्गल

अध्यक्ष कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको गोप्य भेटवार्तालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा असन्तुष्टि देखिएको छ । राष्ट्रिय राजनीति संकटमा परेका बेला पार्टीमा छलफल नै नगरी अध्यक्ष थापाले गोप्य भेटघाट गरेपछि अरु दुई अध्यक्ष पशुपति समशेर र प्रकाशचन्द्र लोहनी सशंकित बनेका हुन् ।

जेठ १४ गते अध्यक्ष थापाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग गोप्य भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनपछि आलोचित बन्नुभएका प्रधानमन्त्री ओली र विघटनको पक्षमा रहनुभएका थापाको भेटवार्तालाई धेरैले चासोका साथ हेरेका छन् । पछिल्लो राजनीतिक ध्रुवीकरणमा एक्लिँदै जानुभएका ओलीले संसदमा एक सीट रहेको राप्रपालाई महत्व दिनुलाई कतिपयले भने सत्ता सहकार्य हुँदै चुनावी गठवन्धनसम्मको तयारीका रुपमा विश्लेषण गरेका छन् ।

पार्टी विभाजनपछि कमजोर बन्नुभएका ओलीले आगामी चुनावमा हिन्दुत्वको नारा अघि सार्न सक्ने अनुमान पनि गरिँदैछ । उहाँका कतिपय गतिविधि त्यस्तै देखिएका छन् । थापाको बालुवाटारसँग निकटता बढ्नुलाई ओलीमा देखिएको हिन्दुत्वप्रतिको मोह नै मुख्य कारण रहेको बताउनेहरु पनि छन् । अस्तिको भेटवार्तामा पनि हिन्दुत्वको नारालाई अघि सारेर चुनावी गठवन्धन गर्नेबारे ओली र थापाबीच छलफल भएको उच्च स्रोतले आशंका गरेको छ ।

भारतसँग सम्बन्ध सुधारको प्रयासमा रहनुभएका प्रधानमन्त्री ओलीले थापालाई परराष्ट्रमन्त्री बन्न आग्रह गरेको चर्चा पनि छ । नाकावन्दीका बेला परराष्ट्रमन्त्रीका रुपमा थापाले खेलेको भूमिकाप्रति सन्तुष्ट रहनुभएका ओलीले थापालाई अहिले पनि मन्त्री बन्न आग्रह गरेको बताइन्छ । थापालाई सरकारमा लैजान सके चुनावमा हिन्दुवादीहरुको मनोविज्ञान क्यास गर्न सकिने विश्वासका साथ ओलीले राप्रपासँग सम्बन्ध बढाउन खोजेको टिप्पणीसमेत हुने गरेको छ ।

राजनीतिक तथा वैचारिक रुपले परस्पर दुई कित्तामा उभिएका शक्तिलाई जोड्ने कडी भनेको ओलीको हिन्दुत्वप्रतिको मोह नै हो । त्यसो त,ओलीलाई पार्टीमा आफूले भनेअनुसार निर्णय गराउन अप्ठेरो छैन । माधव नेपाल समूह बाहिरिएको अवस्थामा ओलीले जे भन्यो त्यहि हुने अवस्था छ । त्यसका लागि प्रदीप ज्ञवालीलाई चुनावमा खटाएर परराष्ट्रमन्त्रीमा थापालाई ल्याउनेसम्मको तयारी अघि बढेको चर्चा पनि छ ।

तर,राप्रपाका एक उच्च नेताले भने सरकारमा जानेबारे पार्टीमा कुनै छलफल नभएको बताए । ‘पार्टी कमल थापाको मात्र हैन । तीन जना अध्यक्ष हुनुहुन्छ । पार्टीमा छलफल गर्नुपर्यो । यदि उहाँले त्यस्तो कुनै निर्णय गर्नुभयो भने पार्टीले सिधै फिर्ता बोलाउँछ । यध्यपि अध्यक्षज्यू अहिले सरकारमा जानुहोला भन्ने मलाई लाग्दैन’,ती नेताले भने ।

उनले ओलीसँग चुनावी तालमेलको सम्भावना पनि अस्वीकार गरे । उनका अनुसार काँग्रेससंगको गठवन्धन नै राप्रपाको पहिलो प्राथमिकता हुनेछ । काँग्रेससँग कुरा नमिले बरु एक्लै चुनावमा जाने तर अरुसँग गठवन्धन नगर्ने मत पार्टीमा बलशाली देखिएको उनले बताए ।

‘संसद विघटनको मुध्दा अदालतमा विचाराधीन छ । त्यसैले चुनाव हुने नहुने निश्चितता नै नभएका बेला यसबारे चर्चा गर्नु अहिले खासै सान्दर्भिक हुँदैन’, उनले भने, ‘पुनर्स्थापना भएन र चुनाव हुने अवस्था आयो भने हाम्रो तालमेल काँग्रेससँग हुन्छ । काँग्रेससँग कुरा मिलेन भने एक्लै चुनावमा जान्छौँ ।’

गत निर्वाचनमा पनि राप्रपाले काँग्रेससंग तालमेल गरेको थियो । त्यतिबेला दुई राप्रपा मिलेर ९ सिट लिई काँग्रेससँग गठवन्धन गरेका थिए । काठमाडौँ,मकवानपुर, दैलेखलगायतका क्षेत्रमा गठवन्धन भएपनि राप्रपाले एक सीट पनि जितेको थिएन । अहिले पनि १५ देखि २० सिट पाए काँग्रेससँग गठवन्धन गर्ने ती नेताले बताए ।

टिप्पणीहरू