गेष्ट हाउसमा शव फेला,समातिए साथीहरू

गेष्ट हाउसमा शव फेला,समातिए साथीहरू

काठमाडौँको गोंगबु, मित्रनगरस्थित एक होटलमा शव भेटिएको छ । शनिबार मित्रनगरको गोदावरी सन्तोषी गेष्ट हाउसमा राजु भनिने स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान १० बजेको समयमा राजु क्षेत्रीको नाममा कोठा लिएको गेष्ट हाउसको इन्ट्री पुस्तिकाबाट खुलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । मृतकको साथबाट नागरिकताको प्रतिलिपी फेला परेकाले शव पहिचान गर्न सहज भएको प्रहरीले बताएको छ ।

मृतकको घुँडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा कुनै चोटपटक नदेखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार गेष्ट हाउस सञ्चालकले क्षेत्रीलाई खाना खान बोलाउन जाँदा ढोका नखुलेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई नियन्त्रणमा लिएको बताएको छ । नियन्त्रणमा परेकामा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र गाहाका साथी झक्कुराम बस्नेत छन् ।

टिप्पणीहरू