पेट्रोलियम पदार्थमा विचारधारा ?

पेट्रोलियम पदार्थमा विचारधारा ?

सरकारले राष्ट्रिय पेट्रोलियम नीति परिमार्जन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको जानकारी दिनुभएको छ ।

शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न नयाँ नीति ल्याउन लागिएको बताउनुभएको हो । उहाँले आयल निगमसम्बन्धी समस्याहरूलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थमा राजनीति भैरहेको पनि बताउनुभयो । कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको बताउदैँ उहाँले विपरित विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक नरहेको भन्दै असन्तुष्टि जनाए । नीजि क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढीरहेको भए पनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको उनको भनाइ छ ।

नीजि क्षेत्र नाफामुखी हुने र सोहीअनुसार राज्यलाई कर तिरेर सहयोग गरे पनि सरकारले अनुगमनको नाममा पीडा दिने गरेको अध्यक्ष गोल्छाले बताए । अनुगमन गर्दा आचारसंहिताभित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म उद्योगी व्यवसायीको मानमर्दन नगर्न उनले सरकारसँग आग्रह पनि गरे ।

कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरूले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका थिए ।

टिप्पणीहरू