मुख्य मधेसमा के पाक्दैछ ?
सत्ता समीकरणको माहौल बन्ने र भत्किने क्रमसँगै मधेशवादी दल जसपाको भूमिका सबैभन्दा महत्वपूर्ण देखिएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रभित्र खासै समस्या नरहेको तर जसपाभित्रको अन्तरसंघर्षले पार्टी नै फुट्ने सम्भावना बारेमा पनि चर्चा हुन थालेको छ । तर, जसपाका नेता राजकिशोर यादवले भने बाहिर जति हल्ला भएपनि पार्टी नफुट्ने ठोकुवा गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ ‘कुनै हालतमा पार्टी फोर्न हुँदैन,जसपा फुट्ने भनेर गरिएको बजार हल्लाको अर्थ अर्कै रहेको’ उहाँको तर्क छ । केही दिनअघि जसपाको एउटा पूर्वघटक राजपाको बैठकमा नेताहरूबीच निकै अर्थपूर्ण छलफल भएको स्रोतको दाबी छ । बैठकका अधिकांश सदस्यले पार्टी विभाजन गरेमा इतिहासले आफूहरू कसैलाई माफ नगर्ने बताएका थिए ।
“मुलुकको संविधान तमाशा जन्माउने पुस्तक बन्यो ।”
सदस्यहरूले बैठकको अनौपचारिक अध्यक्षता गरिरहनुभएका महन्थ ठाकुरलाई ‘जीवनमा त्यत्रो राजनीति गरेर एउटा छवि बनाउनुएको छ, सामान्य भूलले गर्दा तपाईंको गौरवशाली विगत र इतिहास कलंकित नहोस्’ भनेर सचेत गराएका थिए । ठाकुुरले हुन्छ भन्ने आशयले मुण्टो हल्लाए पनि उनीहरूले ‘पहिलो प्रतिबद्धता म पार्टी फोर्दिनँ,दोस्रो कसैलाई पनि फोर्न दिन्नँ र सबैसँग हाम्रो पार्टी फुट्ने छैन’ भनेर सार्वजनिक रुपमा भनिदिन आग्रह गरेका थिए । त्यसपछि मात्र दलभित्र सैद्धान्तिक कुरा गर्न उनीहरूले सुझाएका हुन् ।
ठाकुर र नेता राजेन्द्र महतोले कुनैपनि हालतमा ओलीलाई समर्थन गरेर आवश्यकता परेको बखत पार्टी विभाजनसम्म गर्नसक्ने समाचार बाहिरिएपछि स्रोतले त्यस्ता समाचारलाई ‘हल्लाको खेती’ भनेको छ । पार्टीमा समीकरणबारे अनौपचारिक रुपमा छलफल चलेपनि त्यसबारे केही पनि निर्णय नभएको बताइन्छ ।
“काँग्रेसभित्र खेलेको छ,जसपाभित्र पनि खेलेको छ”
केही दिनअघिको भेटघाटमा महतोले आफ्ना निकटस्थहरूलाई पछिल्लो राजनीतिक अवस्थाबारे बताउँदै ‘प्रधानमन्त्री ओलीले मरिहत्ते गर्नुभएको छ,तर हामीले केही निर्णय गरेका छैनौं’ भन्नुले पनि जसपाभित्रको अवस्था असहज रहेको स्रोतको दाबी छ । उनीहरूको तर्क छ ‘वास्तवमा जसपाको हकमा अहिले रेशम चौधरीको कुराले हात खुट्टा बाँधिएको छ ।’
तर,चौधरी जेलबाट छुटे पनि उनको सांसद पद भने कायम नरहने कानुनविज्ञहरू बताउँछन् । विद्यमान कानुनअनुसार पूर्ण सफाइ नपाउँदासम्म फौजदारी अभियोगमा जेल परेको कुनैपनि सार्वजनिक पद धारण गरेको व्यक्तिको पद स्वतः जान्छ ।
त्यसैगरी मधेशको आन्तरिक राजनीतिको कारण पनि यतिखेर जसपाको विषयले बढी चर्चा पाएको बताइन्छ । इस्तियाक राई, विमल श्रीवास्तवहरूलाई प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा पार्न खोजेको समाचारमा पनि खासै सत्यता नरहेको जसपा नेताहरूले बताएका छन् ।
उनीहरूको तर्क छ ‘हामीभित्रको आन्तरिक राजनीतिका कारण ती विषय गसिपको रुपमा बाहिर आएको हो ।’ नाम नबताउने शर्तमा जसपाका एकजना नेता तथा पूर्वमन्त्री थप्छन् ‘मधेशका अधिकांश नेता तथा सांसदहरूले कुरा कम बुझ्छन्,क्षणिक स्वार्थ हेर्छन् । सबैको रिस उपेन्द्र यादवमाथि छ । उनैका कारण ती रुष्ट बनेका हुन् । नेता यादवका कारण टाठाबाठाको केही काम बिग्रेपछि रुष्ट भएका हुन् ।’
विमल श्रीवास्तवलाई प्रधानमन्त्री ओलीतिर नजिक रहेको भनेर जोडिदिनुको कारण यसअघि उनलाई केन्द्रीय कमिटीबाट निकालिनुमा यादव मुख्य कारक बनेको बताइन्छ ।
त्यतिबेलैदेखि ‘यादवको मुख नहेर्ने’ भन्दै हिँडेपछि विमल क्रमशः यादव विरोधी बनेका हुन् । उहाँहरूबीचको फरक राजनीतिक स्कुलिङका कारण पनि त्यस्तो अवस्था देखिएको दाबी गरिन्छ । यादवको विगत वामपन्थी विचारबाट र विमलको पञ्चायती हो ।
तर,यतिखेर श्रीवास्तव निकै अस्वस्थ रहेकाले राजनीतिक समीकरणको लागि त्यति धेरै शारिरिक दौडधुप गर्नसक्ने अवस्थामा देखिँदैनन् । बाहिर जे हल्ला फैलाएपनि इस्तियाक र प्रदीप यादवहरू समेत ‘इन्ट्याक्ट’ छन् भनिन्छ ।
यसबीच सांसद सरिता गिरीको पद गएको सबैले देखेका छन् । त्यसैले ४० प्रतिशत नपुर्याएसम्म कसैको मेलो सर्दैन । फ्लोर क्रस गरे पनि दुःखले पाएको सांसद पद क्षणभरमा खरानी हुन्छ । त्यसैले विशेषगरी उपेन्द्रसँग सबै रिसले चुर भएपनि यथार्थमा जसपाभित्र कसैले चाहेर समेत केही गर्न नसक्ने अवस्था बनेको बताइन्छ ।
विगतमा झैँ कोही पनि सांसद मन्त्री वा पैसाको लोभलालचमा नफस्ने अवस्था रहेको उल्लेख गर्दै जसपा स्रोत भन्छ ‘मुलुकको संविधान तमाशा जन्माउने पुस्तक बन्यो ।’ नयाँ सत्ता समीकरणको प्रक्रिया अघि बढ्न नसक्नुमा प्रधानमन्त्रीको धेरै कन्फिडेन्समा रहेका देउवाले दायाँ बायाँ नगर्नु मुख्य कारण रहेको सजपाको ठहर छ । सँधै सत्ताप्रति लालायित हुने देउवाले यसपटक लाख बिन्ती गरेपनि त्यसप्रति चाख नदेखाएको भाव प्रकट गरिरहेका छन् ।
त्यस्तै अविश्वास प्रस्ताव प्रस्तुत गर्ने क्रममा नै भावी प्रधानमन्त्रीको नाम तय गर्नुपर्ने बाध्यकारी व्यवस्था र सँगसँगै बहुमत पुर्याउनैपर्ने भएकाले ढुक्कको वातावरण नबनेको उनीहरूको ठहर छ । प्रधानमन्त्री ढुक्क रहनुको कारण खोतल्दै जसपा स्रोत भन्छ ‘बहुमतको लागि अहिलेको संसदभित्रको गणितमा माओवादी केन्द्र,जसपा सोलोडोलो र काँग्रेस मिल्नैपर्ने छ । मिलेको अवस्थामा समेत मुश्किलले ३ देखि ४ सिट मात्र बढी हुने अवस्थाबारे ओली जानकार छन्,’ भन्दै स्रोतले दाबी गरेको छ ‘प्रधानमन्त्री जत्तिको चतुर राजनीतिज्ञलाई त्यो सबै थाहा छ ।’
अर्कोतर्फ बालुवाटारले फालेको सांसद रेशम चौधरीको रिहाइको पासा जसपाको निम्ति घाँटीमा अड्किएको हड्डी बनेको छ । त्यो यथार्थ पनि हो । ती सबै सन्दर्भ जोडेर जसपाका एकजना नेताले गरेको विश्लेषण छ ‘काँग्रेसभित्र खेलेको छ,जसपाभित्र पनि खेलेको छ, त्यहि भएर प्रधानमन्त्रीलाई विश्वास छ सजिलैसँग बहुमत पुग्दैन भन्ने । अनि चारधामतिरको पनि आशिर्वाद देखिँदै गएको छ ।’
टिप्पणीहरू