राष्ट्रपतिकोमा : निम्तो चियाको,सल्लाह चुनावको
राष्ट्रिय एकताको प्रतिक र साझा संस्थाको रुपमा सम्मानित राष्ट्रपति पद मंगलबारको चियापान कार्यक्रमपछि फेरि विवादमा तानिएको छ । कुनैपनि राजनीतिक वाद र सिद्धान्त तथा नेतृत्वभन्दा टाढा रहनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारी पुनः एकपटक आफ्नै बोलीका कारण विवादमा आउनुभएको बताइन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलेझैँ सबै राजनीतिक दलका नेतालाई चुनावमा सहभागी हुन आग्रह गरेपछि शीतल निवासमाथि चियापानको लागि निम्त्याएर चुनावमा जान सल्लाह दिएको बात लागेको हो ।
शीतल निवासमा चिया खान पुगेका एकजना नेताले भन्नुभयो ‘हिजो सुनिएको भाषा राष्ट्रपतिले बोल्ने भाषा नै होइन । हामी सबै अचम्भित भयौं ।’
चियापानको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै निर्वाचनमा जानुपर्ने र यसअघिको आफ्नो कदमको बचाउ गरेको सुनेपछि नेमकिपाका प्रेम सुवाल बाहेक सबैले प्रतिवाद गरेका थिए ।
स्रोत भन्छ-:चियाको क्रममा कसैले पनि औपचारिक रुपमा बोल्ने चाहना नराखेपछि सबैजना उठ्न खोजेका थिए । धेरैजसोले ‘चिया खान बोलाउनुभएकोमा चिया खाइयो । अब बंगलादेशको भ्रमण पनि रहेछ,शुभयात्रा’ भनेर सबैजना उठ्न लागेपछि प्रधानमन्त्रीले ‘मेरो अलिकति कुरा छ’ भन्दै बोल्न थाल्नुभएको थियो ।
उहाँले दायाँबायाँ अरु कुरो नगरी सोझै संविधानमा प्रतिनिधिसभा विघटन गर्ने प्रावधान छँदै छ नि ! भनेर सर्वोच्च अदालतको हालैको फैसलाविरुद्ध आफ्ना कुरा राख्नुभयो । उहाँको भनाई उद्धृत गर्दै स्रोतले उल्लेख गरेको छ ‘लोकतन्त्रमा चुनावदेखि किन तर्सिने ? त्यसोभए के कहिले पनि चुनावै नगर्ने ? पुनर्स्थापित प्रतिनिधिसभाले पनि काम गरिरहेको छैन । त्यसैले अब सबैजना मिलेर चुनावमा जाऔं ।’
प्रधानमन्त्रीले त्यसो भन्नेबित्तिक्कै सबैले एकै सासमा उहाँको प्रतिवाद गरेका थिए । तर प्रेम सुवाल चुपचाप बसे । अरुले सर्वोच्चको फैसलाबारे फेरि यहाँ बहस गर्ने हो ? भनेर सोधेका थिए ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुरुमै प्रतिवाद गर्दै भन्नुभयो, ‘विघटन गर्दा तपाईंले संविधानको विरुद्ध गएर निर्णय गर्नुभयो,त्यो बेला कुनै सल्लाह चाहिएन । अहिलेचाँहि चुनावमा जाऊँ भन्नको लागि के को सल्लाह चाहियो र !’
त्यसपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोल्दै ‘राष्ट्रपतिले राष्ट्रिय संकटको बेलामा मात्र यस्तो खालको राष्ट्रिय सहमति र राष्ट्रिय एकता निर्माण गर्ने अवस्था आएछ भने त्यस्तो वातावरण निर्माण गर्न सकिन्छ, तर अहिले त्यो सन्दर्भ नै नभएको’ बताउनुभएको थियो । उहाँले अगाडि भन्नुभयो ‘राष्ट्रपतिले आजको भेटघाटको निम्ति कुनै एजेण्डा दिनुभएको छैन । त्यसकारण यहाँ छलफल गर्नै मिल्दैन,यो छलफलको लागि बोलाइएको सर्वदलीय बैठक होइन । राष्ट्रपतिले पार्टीका नेताहरूलाई चिया खान मात्र बोलाउनुभएको हो ।’
श्रेष्ठको भनाई थप भनाई उद्धृत गर्दै उच्च स्रोतले भनेको छ ‘सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुनर्स्थापना मात्रै गरेको होइन,सँविधानको व्याख्या समेत गरेर अब यसरी विघटन गर्न पाईंदैन भनेको छ । संविधान र संसदको प्रक्रियामा नगई यहाँ बसेर कुनै राजनीतिक पार्टीले चुनावमा जाऊँ भन्दैमा हुन्छ ?’
अरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुुख हेरेपछि उहाँले संक्षिप्त धारणा राख्नुभएको बताइन्छ । दाहालले ‘म यहाँ बहस गर्दिनँ तर एजेण्डाविहीन ढंगले प्रधानमन्त्रीले जुन कुरा गर्नुभयो त्यो अप्रिय छ,साथै अनुपयुक्त पनि छ । त्यसबारे म यहाँ बहस र छलफल गर्न इच्छुक छैन’ भन्नुभएको थियो ।
संसदवादी र बहुदलीय व्यवस्थाका पक्षपाती राजनीतिक दलहरूलाई दह्रो दनक दिँदै राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले संविधान र संसदभित्रैबाट समाधान र निकास खोज्न सुझाव दिनुभएको थियो । उहाँको तर्क थियो ‘बाहिरबाट होइन है !’
सहभागी अधिकांश नेताबाट राष्ट्रपति भवन राजनीतिक विषयमा बहस गर्ने थलो र दुई बर्षअगाडि नै चुनावको निम्ति सहमति गर्ने ठाउँ होइन भन्ने धारणा सुन्नुभएका सम्माननीय राष्ट्रपतिलाई गाह्रो भएको छनक तत्काल पाइएको थियो । कार्यक्रम समापन गर्ने क्रममा उहाँले ‘चुनावलाई पनि सकारात्मक रुपमा लिनुपर्यो आखिर त्यो पनि लोकतन्त्रकै कुरो त हो नि’ भन्दै राजनीतिक व्यक्तित्वलाई भेटेपछि राजनीतिक कुरा नगरेर अरु के गर्नु’ भनी अप्रत्यक्ष रुपमा चुनावी सल्लाह र प्रधानमन्त्रीको बचाउ गर्नुभएको थियो ।
टिप्पणीहरू