माओवादीले कार्वाहीको कोर्रा हान्दै
नेकपा (माओवादी केन्द्र)ले एमाले ओली समूहमा लागेका नेताहरुलाई कारवाही गर्ने भएको छ । हिजो सोधिएको २४ घण्टे लिखित स्पस्टिकरणलाई बेवास्ता गरेकोले भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली पक्षमा लागेकाहरुलाई कारवाहीको प्रस्ताव लगिएको हो ।
उनीहरुमाथि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारवाहीको प्रस्ताव लगिएको एक केन्द्रीय सदस्यले बताए ।
यसअघि हिजो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीको तर्फबाट मन्त्री बनेका सबैलाई सरकारबाट फिर्ता हुन २४ घण्टे निर्देशन दिएको थियो । साथै मन्त्रीलगायत एमालेको केन्द्रीय कमिटीमा मनोनित २३ जनासंग लिखित स्पस्टिकरण मागिएको थियो ।
तर,उनीहरुले अहिलेसम्म जवाफ दिएका छैनन् । उर्जामन्त्री टोपबहादुर रायमाझी र खानेपानीमन्त्री मणि थापाले आफूहरु माओवादी केन्द्रमा नफर्किने बताइसकेका छन् भने गृहमन्त्री थापाले एमाले ओली समूहको बाग्मती प्रदेश ईन्चार्जको कार्यभार सम्हालिसकेका छन् । अन्य नेताहरुले भने हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
आजको केन्द्रीय समितिले कारवाहीसम्बन्धी प्रस्ताव पारित गरेर सँसद सचिवालय र निर्वाचन आयोगलाई जानकारी दिएमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सांसद जितेकाहरुको पद स्वत: समाप्त हुन्छ । मन्त्रीहरु भने अझै ६ महिना पदमा रहन सक्नेछन् । सांसद नभई मन्त्री भएकाहरुले ६ महिनाभित्र सांसद सदस्य बन्नुपर्ने कानुनी व्यवस्था छ ।
टिप्पणीहरू