प्रधानमन्त्रीले दिउँसै झूठ बोल्नुभो

प्रधानमन्त्रीले दिउँसै झूठ बोल्नुभो

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई आज दिउँसो भृकुटीमण्डपमा सम्बोधन गर्दै सफेद झूठ बोल्नुभएको छ । अघिल्लो दिन बालुवाटारमा डाकिएको आफ्नो खेमाको भेलालाई केन्द्रीय समितिको नाम दिँदै उक्त बैठक लगायत पछिल्लो दिनका कैयन बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरू जानाजान अनुपस्थित हुने गरेको खुल्लमखुल्ला बताउनुभएको हो ।

तर, शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय समितिको बैठक बसेको थाहा नभएको र अध्यक्ष केपी ओलीको तर्फबाट कुनै खबरसमेत नगरिएको नेताहरूले बताउनुभएको छ । केन्द्रीय सदस्य नागेन्द्र चौधरीका अनुसार शुक्रबार बालुवाटारमा बोलाइएको बैठक एमालेको थिएन । ओली खेमाभित्र पनि कोर ग्रुपको छलफल थियो । यतिखेर एमालेको केन्द्रीय समितिमा रहेका सदस्यमध्ये ओलीसँग १ सय २ जना छन् । जबकि ९० जना उहाँको विरुद्धमा छन् । तरपनि शुक्रबार बालुवाटारमा ५५ जनाको मात्र उपस्थिति रहेको बालुवाटार स्रोतले बताएको छ । तिनै ५५ जनासमक्ष उहाँले आफ्नो निर्णय सुनाउनुभएको थियो ।

विधानमा लेखिएको स्पष्ट व्यवस्थालाई धुजाधुजा हुने गरी उहाँले ७० वर्षे प्रावधान हटाउनुभएको छ । यसो गर्दा मन लागेको उमेरसम्म उहाँलाई अध्यक्ष र अरुलाई मन लागेको बेला निकाल्न बाटो खुलेको छ । माओवादीबाट तानिएका २३ जना नयाँ सदस्य मनोनित गरिएको छ,जुन त्यहि विधान विपरितको कार्य हो । निर्वाचित पदाधिकारीहरूलाई पनि विधान विपरित जिम्मेवारीबाट हटाइएको छ । विधान संशोधनसमेत विधान विपरित गरेर उहाँले आफ्नो लहड पूरा गर्नुभएको छ ।

अदालतको २३ गतेको फैसलापछि पुनर्स्थापित केन्द्रीय समितिको बैठक पहिलो पटक चैत ७ गते बोलाइएको उहाँ आफैँले आज सार्वजनिक कार्यक्रममा बोल्नुभएको छ । २३ गते अघिका सबै बैठक नेकपाको नाममा भएको थियो । झण्डै तीन वर्षको बीचमा नेकपाको बैठक एक पटक पेरिसडाँडामा बस्यो । एकाध पटक धुम्बाराहीमा भयो । तर अधिकांश बालुवाटारमा नै बोलाइएको थियो ।

नेकपाको सचिवालय,स्थायी र केन्द्रीय समितिको बैठक पछिल्लो तीन वर्षमा प्रधानमन्त्री निवासको करेसामा भएको थियो । तीमध्ये कैयौं बैठकमा उहाँ विभिन्न बहानामा अनुपस्थित हुनुभयो । बैठकमा आउँदा पनि धेरै पटक वीचमै छाडेर हिँड्नुभयो । धेरै वटा बैठकमा उहाँ आफै आउनुभएको थिएन ।

तर,आज आफूलाई मन नपरेको अर्को पक्षलाई उहाँ आफैँले बैठकमा अनुपस्थित भएको भन्दै सार्वजनिक मञ्चबाट झूठो आरोप लगाउनुभएको छ । मुलुकको कार्यकारी प्रमुखले बोलेको यति धेरै ठूलो झुठलाई नेता चौधरीले ‘सफेद झूठ भन्नुभएको छ ।’ उहाँले शुक्रबारको बैठकबारे पार्टीको परम्पराबमोजिम आउने कुनै पनि म्यासेज आफूले प्राप्त नगरेको बताउनुभएको छ । चौधरीले भन्नुभयो ‘पहिले पहिले कार्यालय सचिवको तर्फबाट म्यासेज आउँथ्यो । यसपालि त्यो पनि आएन । सञ्चार माध्यमबाट पनि आएन । कुनै व्यक्ति विशेषले पनि खबर गरेको थाहा पाइएन ।

हुनपनि सभ्य र विकसित समाजमा मुलुकको जिम्मेवारीपूर्ण पदमा बसेका व्यक्तिले झूठ बोल्नुलाई निकै ठूलो अपराध मानिन्छ । धेरैजसो मुलुकमा झूठो बोल्नुलाई एक किसिमको फौजदारी अपराध नै मानिन्छ । तर यहाँ त झूठो बोल्ने अरुलाई समातेर दण्डित गर्ने जिम्मेवारीप्राप्त प्रधानमन्त्रीले नै झूठो बोल्नुभएको विषयसँग सम्बन्धित कानुनलाई कसले कोट्याउने ?

उल्टै यहाँ जतिसुकै झूठो कुरा बोल्दा पनि आशाराम बापुलगायत भारतका अन्य धर्मगुरु समर्थकले झैँ प्रधानमन्त्रीलाई कर्तलध्वनीका साथ ताली बजाएर थप बोल्न उक्साइन्छ । प्रधानमन्त्रीले बोलेका सबै विषयलाई अन्धभक्त भएर ताली बजाउने,समर्थन गर्ने,झुठो बोल्न प्रोत्साहित गर्ने,पथभ्रष्ट पार्ने,उत्तेजित तुल्याउँदै लाने प्रवृत्ति मौलाउँदै गएको छ ।

यी सबै गतिबिधिले झूठको खेती गर्नेलाई समाजमा इज्जत र प्रतिष्ठा मिल्ने तर आदर्शवादी र इमान्दारहरू ओझेलमा पर्ने खतरा पनि बढ्दै गएको छ । यसले समाजमा एउटा नराम्रो प्रृवत्ति र विकारयुक्त संस्कारलाई प्रश्रय दिँदै गएको मान्न सकिन्छ । शनिबार प्रधानमन्त्रीले अनेमसंघको कार्यक्रममा अघिल्लो दिन पार्टी केन्द्रीय समितिको बैठक बोलाइएको तर अन्य पक्षका नेताहरू अनुपस्थित हुनुभएको भनेर दिउँसै रात पार्ने गरी हाकाहाकी झूठो बोल्नुभएको एमाले नेताहरूले बताएका छन् ।

आज दिउँसो प्रधानमन्त्रीले झूठो बोल्दै गर्दा चैत ७ गते बोलाइएको भनिएको केन्द्रीय समितिको बैठकको निम्ति महासचिव ईश्वर पोखरेलको नामबाट सदस्यहरूलाई बल्ल म्यासेज पठाइएको छ । शनिबार दिउँसो १ बजेर २३ मिनेट जाँदा सांसदहरूको मोबाइलमा एकैसाथ म्यासेजको घण्टी बजेको थियो । चैत ७ गतेको लागि बोलाइएको म्यासेजमा लेखिएको छ ‘मिति २०७७ चैत ७ गते दिनको ११ बजे केन्द्रीय समितिको १२ औं बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बोलाइएकाले उपस्थितिको निम्ति कमरेडलाई अनुरोध छ ।’

भिडियो

https://www.facebook.com/Janaasthanews/videos/914602382685396

टिप्पणीहरू