राजनीतिको यो कस्तो रमिता
हिजोका दिनमा पृथ्वीनारायण शाहले राष्ट्रिय एकता मात्र गर्नुभएको तर प्रधानमन्त्री केपी शर्मा ओलीबाट भने राष्ट्रियताको जगेर्नासँगै पार्टी एकता पनि सम्पन्न भएको भन्दै ठाउँ ठाउँमा टाँसिएको फोटो तीन वर्ष नपुग्दै झिक्नुपर्ने भएको छ । किनभने उहाँकै हठका कारण पार्टी एकता टुक्रिएको छ भने हुँदाखाँदाको दुई तिहाइ बहुमतनिकट सरकार अरुले क्रमशः समर्थन झिक्दाझिक्दै एकाएक अल्पमतमा झरेको छ । अस्तिसम्म अविश्वासको प्रस्ताव फेस गर्छु, विश्वासको मत लिन्न भन्ने उहाँलाई अब विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता सिर्जना हुँदै गएको छ ।
सग्लो पार्टी र संग्लो राजनीतिलाई देशको र सबैभन्दा ठूलो पार्टीको मुलीले नै धमिलो बनाइदिँदा अरुबाट विश्वासको मत लिनुपर्ने बेलामा आफ्नै पूर्व अध्यक्ष र महासचिव माधव नेपाल तथा झलनाथ खनालहरूको मन कसरी जित्ने होला ? एमालेको सबै १२० मत खसाउँदा पनि सामान्य बहुमत नपुग्ने भएपछि हिजोसम्म प्रधानमन्त्रीको अफर गरिएका काँग्रेस सभापति शेरबहादुर देउवासँग कसरी आफ्नैलागि विश्वासको मत माग्न सकिएला ? अनि प्रमुख प्रतिपक्षी काँग्रेसले पनि धराप पदलाई कसरी काँध थाप्ला ?
अघिल्लो पटक ओली सरकार ९ महिनामै ढलेको थियो । त्यसबेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूसँगको सत्ता साझेदारीसम्बन्धी सहमति पालना नगरेको भन्दै अविश्वास प्रस्ताव पेश गर्नुभएको थियो । अन्तिम समयसम्म अविश्वासको प्रस्ताव फेल गराउने बताउँदै आउनुभएका ओलीले प्रस्ताव पारित हुने लक्षण देखिएपछि मन्तव्य राख्ने क्रममा रिस उठेका जति सबैलाई धम्क्याएर सत्ता छाड्नुभएको हो ।
विकसित राजनीतिक घटनाक्रमअनुुसार एमालेमा सबै नेता तथा सांसद फर्केपनि र माओवादीतिर समेत त्यस्तै अवस्था आए पनि हिजोका दिनमा तिक्ततापूर्ण सम्बन्ध बनिसकेकोले विश्वासको प्रस्तावमा भोट हाल्ने कि नहाल्ने भन्ने प्रश्न चोटिलो बनिसकेको छ । अबको चुनावमा एमाले सग्लो जाला कि दृश्य फेरिएला, वाम तालमेल कसरी जुट्ला, यकिन छैन ।
हुन तः माधव नेपाल समूहका सबै चालिसै जनाले भोट हाले पनि अब केपी ओलीलाई बहुमत पुग्दैन । हिजो दुई तिहाईको दम्भ र दुहाई दिँदै आउनुभएका प्रधानमन्त्रीलाई अब स्पष्टसँग बहुमतको लागि १६ भोट पुग्दैन । त्यस्तो अवस्थामा काँग्रेस र जसपाले पनि के भनेर समर्थन गर्लान् ? भलै माओवादीले उहाँलाई भोट नदिने भनिसकेको छ ।
राजनीतिको पछिल्लो अवस्थाले सबैभन्दा धेरै मार गृहमन्त्री रामबहादुर थापा बादललगायत सात जना मन्त्रीमाथि परेको छ । लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, दावा लामा र प्रभु साहहरूको हालत बिजोगबाट पनि कन्तबिजोग हुन थालेको बताइन्छ । भलै यसबीचमा उनीहरूमध्ये केहीले ‘हामी बरु सबै कुरा छाड्छौं तर केपीलाई छाड्दैनौं’ भनेका छन् । अब माधव, झलनाथ, वामदेव गौतमलगायत सबै नेता एक ठाउँ भएको अवस्थामा ओली समूहतिरै टाँसिए पनि बादलहरूको हैसियत के हुने होला ?
पछिल्लो समयमा उनीहरूले नयाँ जोगीले खरानी घसेझैँ माओवादी नेतृत्वप्रति आगो ओकलेका छन् । विष नै बमन गरेका छन् । त्यो सबै काम बालुवाटारबाट रिमोट दबाएर गरिएको थियो । अहिलेसम्म प्रधानमन्त्री ओलीले पनि सांसद रहेकै कारण उनीहरूलाई महत्व दिनुभएको हो । अब बालुवाटारमा टाँसिदा सांसद पद नै गुम्नेछ । प्रधानमन्त्रीले अध्यादेश ल्याएर पनि उनीहरूलाई जोगाउन सम्भव छैन । लाजगाल रुझेको बिरालोझैँ खुमलटार फर्कनुको विकल्पै देखिँदैन ।
टिप्पणीहरू