ओली कमरेडका हिसाब अनेक

ओली कमरेडका हिसाब अनेक

‘जसले हान्यो उसले जान्यो’ यो उखान अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अरुमाथि प्रहारको हकमा सत्य सावित हुँदै गएको छ। आफ्नो सत्ता जोगाउने अभिष्ट पूरा गर्न विरोधी खेमालाई एकपछि आक्रमणको निशाना बनाएको उहाँमाथि आरोप छ।

क्षणिक नै होला,तर विरोधी कित्तालाई तह लगाउन उहाँ धेरै हदसम्म सफल पनि बन्नुभएको देखिन्छ । आक्रमणको शुरुआत कम्युनिष्ट पार्टीको एकता टुक्र्याउने खेलबाट गरिएको र त्यो कांग्रेस हुँदै अहिले जसपासम्म पुगेको छ ।

हुँदा-खाँदाको शक्तिशाली कम्युनिष्ट पार्टी धवस्त पारेर ओलीले एमालेमाथि आक्रमणको निशाना साँधेको माधव पक्षका नेताहरु बताउँछन् । एमाले र माओवादीबीच सहकार्य हुनसक्ने सम्भावना देखेर योजनावद्ध आक्रमण थालिएको उनीहरुको भनाइ छ ।

पार्टीभित्रको माधव खेमालाई तह नलगाए आफ्नो सत्ता गुम्ने आकलन गरेरै आक्रमण थालिएको बताइन्छ । हिजो माधव खेमालाई पूरै बाहिर राखेर एकलौटी रुपमा केन्द्रीय कमिटी पुनर्गठन र कार्यविभाजन गरिएको थियो ।

ओली पक्षकै एक नेताको भनाइ मान्ने हो भने पनि बादल समूहका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्न एमालेको विधानले दिंदैनथ्यो । त्यसैले बाधा अड्काउ फ़ुकाउका नाममा एकपक्षीय रुपले निर्णय गरिएको हो । नेपाल खेमाका एक नेता भने त्यसलाई हास्यास्पद भन्छन् । ‘यति महत्वपूर्ण निर्णय गर्न बाधा अड्काउ फुकाउ आकर्षित नै हुँदैन, यो आफैमा हास्स्यास्पद छ’, ती नेताले भने ।

पार्टीको केन्द्रीय समितिपछि ओलीको आक्रमण अब संसदीय दलतर्फ सोझिने निश्चित छ । केन्द्रीय समितिमा माधव खेमाको बलियो उपस्थिति टाउको दुखाइ भएकैले आफूलाई सहज हुनेगरी पुनर्गठन गरेको बुझ्न सकिन्छ । ‘त्यसैले पहिलो आक्रमण त्यता सोझ्याइएको हो’, माधव पक्षका ती नेताले भने ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइसकेकाले ओलीले ढिलोचाँडो संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । उहाँ आफैंले पनि संसद फेस गर्ने बताइसक्नु भएको छ । संसदमा विश्वासको मत लिनुपर्ने बाध्यता रहेकाले संसदीय दलमा उहाँले ह्विप लगाउनेमा शंका छैन ।

ओलीले बाबुराम र देउवालाई कुनै हालतमा नस्वीकार्ने बरु आफूले छोड्नु पर्दा महन्थ ठाकुरलाई जिम्मा लगाउने बचन दिएको जसपाभित्र गाँइगुंइ छ ।

यता, समानान्तर कमिटी बनाउने घोषणा गरिसकेको माधव खेमाले फरक निर्णय गर्ने देखिन्छ । त्यसैले आफूलाई मत नदिएको भन्दै माधव पक्षमाथि संसदमा एकमुष्ट ह्विप लगाउने तयारी गरिएको बताइन्छ ।

एमालेपछि ओलीले आक्रमणको अर्को निशाना जसपालाई बनाएको छ । सत्ता सहकार्यका नाममा योजनाबद्ध ढंगले पार्टी फुटाउन खोजिएकाले सजग हुन नेताहरुलाई कार्यकर्ता पंक्तिबाट दबाब बढिरहेको चर्चा पनि छ । ओलीले हिजो जसपा नेताहरुसंगको भेटमा ‘अबको बाटो चुनाव नै हो,चुनावको विकल्प छैन । त्यसका लागि मलाई साथ् दिनुस्’ भनेको कुरा बाहिरिएको छ ।

ओलीले बाबुराम र देउवालाई कुनै हालतमा नस्वीकार्ने बरु आफूले छोड्नु पर्दा महन्थ ठाकुरलाई जिम्मा लगाउने बचन दिएको जसपाभित्र गाँइगुंइ छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि त्यस्तै आश्वासन दिइएको बताइएको थियो ।

प्रचण्डसंगको आलोपालो सहमति च्यातचुत पारेको नजिकबाट देख्नुभएका देउवाले बाल मतलब नदिएपछि ओलीको निशाना महन्थतिर सोझिएको बताइन्छ । आफूलाई प्रतिकूल हुँदा सबैलाई यस्तै आश्वासन दिने तर सहज हुँदा कार्यान्वयन नगर्ने आरोप ओलीमाथि छ ।

यस्तो स्थितिमा अब के होला त ? ‘यतिधेरै भद्रगोल र गज्याङगुजुङ भैसकेको छ कि अब के हुन्छ अनुमान लगाउन पनि कठिन छ’, जसपा बृत्तका एक नेता भन्छन् ।

यता, माधव खेमाले भने ओलीले राजनीतिका नाममा कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक पार्टीहरुमाथि अपराध गरिरहेको आरोप लगाएको छ । ‘उहाँ (ओली) एकपछि अर्को ढंगले पार्टीहरु टुक्र्याउने गरी आक्रामक बन्दै जानुभएको देखिन्छ । हामीलाई उहाँले बर्साएको ढुंगा छेक्दैको सास्ती छ । यो अपराधिक मानसिकता हो ।राजनीतिमा यस्ता हर्कतहरु स्वीकार्य हुँदैनन् । हामी सशक्त प्रतिकार गर्छौँ’, माधव निकट नेताले भने ।

टिप्पणीहरू