‘भ्याक्सिन डिप्लोमेसी’ बाट ‘भ्याक्सिन पोलिटिक्स’ शुरु 

‘भ्याक्सिन डिप्लोमेसी’ बाट ‘भ्याक्सिन पोलिटिक्स’ शुरु 

गत पुसमा भारत सरकारले असल छिमेकी मुलुकको नाता लगाउँदै नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप डोज दिने निर्णय गर्यो । सोहीबमोजिम गत माघमा नेपाल सरकारलाई हस्तान्तरण गरेपछि पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको हो । यसबीच नेपालले अर्को १० लाख खोप भारतबाट खरिद गरिसकेको छ ।

उत्तरतर्फको छिमेकी मुलुक चीनले ८ लाख डोज खोप उपलब्ध गराउने बताएको छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई २५ लाख डोज खोप उपलब्ध गराउँदैछ । यी सबै खोप उपलब्ध भएको अवस्थामा नेपालसँग जम्माजम्मी ५० लाख डोज खोप प्राप्त हुन आउँछ । त्यो भनेको २ डोजको दरले २५ लाख नागरिकलाई मात्र लगाउन पुग्ने हो ।

नेपालमा १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउँदा कम्तिमा डेढ करोडलाई २ डोजको दरले ३ करोड चाहिन्छ । अहिले प्राप्त हुने भनिएको खोप त्यसको ६ भागको १ भाग मात्र हो । अब नेपालले थप २ करोड ५० लाख डोज खोप किन्नुपर्ने हुन्छ । त्यसको लागि पनि भारतमाथि नै भर पर्नुको विकल्प छैन । अहिले त्यहि साँघुरो हुँदै गएको विकल्प ‘भ्याक्सिन पोलिटिक्स’ मा परिणत भएको चर्चा छ ।

शुरुमा १० लाख डोज अनुदान र अर्को १० लाख डोज खोप नेपाललाई बिक्री गरेपछि भारतको हात स्वतः माथि परेको छ । अब पहिलो चरणको खोप लगाएका सबैलाई १२ साताभित्र दोस्रो खोप अनिवार्य चाहिन्छ । त्यसको लागि हामीसँग पर्याप्त भ्याक्सिनको मौज्दात छैन । किन्न पनि हातै थाप्नुपर्ने अवस्था छ । त्यसैले तोकिएको समयमा दोस्रो खोप लगाउनुपर्ने अवस्था टड्कारो देखिँदैछ । पहिलो डोज खोप लगाएको हकमा दोस्रो नलगाउने हो भने त्यसको कुनै अर्थ नरहने विशेषज्ञहरू बताउँछन् ।

यसैबीच भारतले आन्तरिक माग पूरा भएपछि मात्र खोप बिक्री गर्ने धारणा सार्वजनिक गर्न थालेको छ । केही समयअघि नजिकका छिमेकी र आफ्ना बिजनेश पार्टनर भनेर चिनिएका महत्वपूर्ण मुलुकलाई अनुदानको खोपसँगै सुलभदरमा कोभिसिल्ड खोप उपलब्ध गराउने बताए पनि जुलाईसम्म ३० करोड नागरिकलाई प्राथमिकताको आधारमा लगाउने घोषणा थियो । त्यसअघि छिमेकी र अन्य राष्ट्रहरूमा पठाइएको निःशुल्क खोपलाई ‘खोप कूटनीति’ भनेर प्रचार  गरिएको थियो ।

हुन तः भारत आफैँ अहिले कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रमुख राष्ट्र हो । जसले विश्व उत्पादनको आधा भन्दाबढी हिस्सा ओगटेको छ । त्यसैको आधारमा उसले हालसम्म विश्वका ६६ देशमा अनुदान, उपहार र बिक्रीको नाममा ५८ करोड डोज खोप पठाइसकेको छ । त्यसरी खोप पठाइएको सूचीमा विशेषगरी बेलायत, क्यानाडा, ब्राजिल र मेक्सिकोसहित ल्याटिन अमेरिका, क्यारिबियन, एसिया र अफ्रिकाका अधिकांश मुलुक रहेका छन् ।

अहिले भारतले कोभिसिल्ड र कोभ्याक्सिन दुवै निर्यात गरिरहेको छ । तीमध्ये केही भ्याक्सिन कूटनीतिअन्तर्गतका ‘उपहार’ हुन्  । कोभाक्स योजनाअन्तर्गत विश्व स्वास्थ्य संगठनको नेतृत्वमा १ सय ९० वटा मुलुकमा २ अर्ब डोज पुर्याउने भनिएको छ ।

यहि बेला भारतीय विदेश मन्त्रालयले आफ्नो आन्तरिक आवश्यकता, अन्तर्राष्ट्रिय माग र दायित्वलाई ध्यान दिँदै बाँकी विश्वमा खोप उपलब्ध गराइने धारणा सार्वजनिक गर्नु उसले ‘खोप डिप्लोमेसी’ लाई प्रयोग गर्न खोजेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताउन थालेका छन् । अब यसको सोझो मार नेपालजस्ता आर्थिक रुपले विपन्न र भूराजनीतिसँग जोडिएका मुलुकमा सबैभन्दा धेरै पर्न सक्छ ।

टिप्पणीहरू