भष्मासुर प्रवृत्ति ज्यूँदै छ, सचेत नागरिक किन चुप ?

भष्मासुर प्रवृत्ति ज्यूँदै छ, सचेत नागरिक किन चुप ?

५ पुसमा प्रधानमन्त्री केपी ओलीले आफ्नो हठका लागि विघटन गराएको बहुमत प्राप्त प्रतिनिधिसभा सम्मानित सर्वोच्च अदालतले ११ फागुनमा पुनःस्थापना गरिदिएको छ ।

‘मभन्दा माथि कोही छैन, मै अन्तिम तला वा छत हुँ’ भनेर आफूले चालेको कदम वैधानिक र सही भन्दै देश दौडाहा गरेका ओली र उनका आसेपासेहरू सर्वोच्चले उक्त कदम असंवैधानिक भनेपछि अर्को तला थपिएपछि छत हिस्स परेझैँ खिस्रिक्क परेका छन् । तर उनीहरू अदालतले ‘भष्मासुर’ मारिसक्यो भन्ने जान्दाजान्दै व्यवस्थापिकालाई हुंकार गरिरहेका छन् । आफैँले हत्या गर्न खोजेको संसद्लाई ‘हेरौँला, हामीलाई प्रतिनिधिसभामा कसरी हराउँदारहेछौ, हामी फेस गर्न तयार छौँ’ भनेर निर्लज्ज चुनौती दिइरहेका छन् ।

ओली जनताको नासो प्रतिनिधिसभा भंग गरेर आफ्नो टाउकोमा हात राखी आफैँलाई समाप्त पार्ने ‘भष्मासुर राक्षस’ प्रवृत्ति अँगालेको भन्दै सर्वत्र आलोचित बनेका थिए । उनलाई सन्काहा, हठी, स्वार्थी मात्र नभएर आम जगतले निरंकुश, अविवेकी र अदूरदर्शी तानाशाही प्रवृत्तिको शासक पनि भन्यो । भनिरहेको छ । तर, आफूले चालेको कदम परास्त भए पनि र जनताले सच्चिन जति सुझाव दिए पनि सच्याउने तयारी थालेका छैनन् । आफँै सही हो भन्दै र पाखुरा सुर्र्केर जनतासँग जोरी खोजिरहेका छन् । ओली प्रवृत्ति अझै भन्दै छ, ‘अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु सामान्य कुरा हो । अब अर्को कोर्स सुरु हुन्छ, के भो त अविश्वासको प्रस्ताव फेला गराउँछौँ र सरकार पनि हामी नै बनाउँछौँ !’

अचम्म, ‘भष्मासुर’ प्रवृत्तिका शासक केपी ओलीमा अझै कुनै पश्चाताप छैन । उनले आफूले गल्ती गरेको स्वीकार नै गर्न चाहेका छैनन् । बरु लाजघीन पचाएर आफूले आगो लगाएर खरानी बनाउन चाहेको प्रतिनिधिसभामा लुरुक्क फर्केर छाती फिजाउँदै जनताको नैतिकतासँग जोरी खोज्न चाहेका छन् । आमनेपालीले मात्र नभएर विश्वले नै अनुसरण गर्दै आएको नैतिक परम्परातको खिल्ली उडाइरहेका छन् ।

जबसम्म ‘भष्मासुर’ प्रवृत्ति रहिहन्छ तबसम्म देशमा गणतन्त्र र संघीयतालाई खतरा भइरहन्छ । शेरबहादुर, वामदेव, ज्ञानेन्द्रजस्ता ‘भष्मासुर’ मिलेर फेरि पनि देशको संविधानविरुद्ध चलखेल गर्ने प्रयत्न गरिरहन्छन् । यसैले उनीहरूलाई पूर्ण रूपले परास्त गर्ने भनेको आमनागरिकको निरन्तर खबरदारीले नै हो ।

अब प्रतिगमन सच्चियो किन खबरदारी भनेर चुपलाग्नु हुँदैन । हामीले त प्रतिनिधिसभा पुनःस्थापना मात्र भएको हो प्रतिगमन सच्चिन बाँकी छ भनेर झन धेरै खबरदारी गरिरहनुपर्छ । दलका नेताहरूलाई देउता मानेर पुजिरहनुहुँदैन । उनीहरूले जे गर्छ सबै सही रहनुहुँदैन । हामीले हाम्रो आलोचना गर्ने हकलाई सधैँ सुरक्षित राख्नुपर्छ । अब बन्ने सरकारलाई कहिल्यै कुनै पनि खाले प्रेस तथा वाक्स्वतन्त्रता अर्थात् नागरिक स्वतन्त्रताविरोधी कानुन बनाउन दिनुहुँदैन । कुनै पनि नेतालाई आलोचना गरेकै कारण पक्राउ गर्ने कानुनको पक्षपोषण गर्नुहँुदैन । नागरिकमाथि लाठी बर्साउने कानुन खारेज गराउनुपर्छ । नागरिक हकअधिकार र स्वतन्त्रताका लागि निरन्तर खवरदारी गरिरहनुपर्छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएर नयाँ सरकार बन्दैमा फेरि पनि ओली प्रवृत्तिले झैँ लोभलालचमा पारेर ‘आफ्नाजति सप्पै टिप्ने तर असल भए पनि अरूका जति सप्पै फ्याँक्ने’ प्रवृत्ति दोहोरिन सक्छ । यसैले पनि हामीले होसियार भष्मासुर प्रवृत्ति ? भन्दै खबरदारी गरिरहनुपर्छ । किनभने अब हामीलाई आवेग होइन आशा चाहिएको छ । आश्वासन होइन कार्यक्रम चाहिएको छ । झुटो सपना हैन समानता र समृद्धिको नीति चाहिएको छ । खोक्रा भाषणहरू होइन जीविका र न्यायका लागि सकारात्मक विभेदअनुसारको निर्णय चाहिएको छ । अब हामीले ‘जस खोसाखोस र अपजस दोषादोष ’गर्ने, ‘ताकपरे घिचुवा नत्र गोतामे’ अवसरवादीहरूसँग पनि सतर्क हुनुपर्छ । व्यवस्था परिवर्तनसँगै राजनीतिक अधिकारको सुनिश्चितासँगै समग्र जनताको जीवनस्तरमा उन्नति र सामाजिक न्यायको प्रत्याभूतिका लागि संघर्ष गर्नुपर्छ । किनभने ७० वर्ष संघर्ष गरेर हामीले संविधान लेखे पनि सुशासन र सार्वजनिक सेवा प्रवाहलाई जनमुखी र जनउत्तरदायी बनाउन सकेका छैनौँ । अझै जनता नोकर, शासक प्रशासक मालिक हुन् भन्ने प्रवृत्ति कायमै छ ।

भनिन्छ, हरेक मान्छेलाई भ्रममा बाँच्ने अधिकार हुन्छ । यसैले देशको संविधानमा हुँदै नभएको अधिकारको खड्ग प्रहार गर्ने ‘भष्मासुर’ प्रवृत्तिका शासक केपी ओलीले अदालतको फैसलापछि आफू सिद्धिसकेँ भन्ने विश्वास नै गरेका छैनन् । यसैले अझै पनि ‘भष्मासुर’ प्रवृत्तिको संरक्षक उनी पदबाट राजीनामा दिन चाहँदैनन् । उनले त इतिहासका निर्लज्ज, तानाशाही शासकहरूलाई समेत लाज मान्न बाध्य बनाइदिएका छन् । हिजो श्रीपेच फुकालेर बाहिर निस्कन नचाहने ज्ञानेन्द्रलाई नारायणहिटीबाट बाहिर निकाल्ने हैसियत भएका नेपाली जनता हुन् भन्ने पनि उनले हेक्का गरेका छैनन् ।

ख्याल गरौँ, मेलो अलिकति पनि सरेन भने खलखली पसिना काढ्ने श्रमिकको कुनै अर्थ हुँदैन । यसैले अलिकति पनि नैतिकता प्रदर्शन नगर्ने, धर्म र कानुनको ख्याल नगर्ने ‘भष्मासुर’ प्रवृत्तिका मूल नाइके केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याउने जिम्मा हामी नागरिकहरूकै हो । यसैले निर्धक्क खबरदारी गरौँ । संविधान सुरक्षाका लागि अब ‘भष्मासुर’ सँग डर मान्नु पर्दैन । भष्मासुर मरिसकेको छ तर हामीले नै नचाहेकाले गर्दा उसको प्रवृत्तिलाई व्यवहारबाट निकालेर फ्याँक्न सकेका छैनौँ ।

लोकतान्त्रिक मुलुकको सचेत नागरिक र उसको समाज न्यायको पक्षमा सधैँ संघर्ष गरिरहन रुचाउँछ । सधैँ राष्ट्रहितका लागि सत्यको अन्वेषण गरेर जनमत बनाउन सघाउँछ । आलोचनात्मक चेतलाई सधैँ सम्मान गर्छ । देशमा उद्यम गर्ने सीप, अन्यायको विरोध गर्ने साहस, नीति–निर्माण गर्ने बुद्धि अनि आविष्कार गर्ने शक्ति र राष्ट्रहितको पक्षमा उभिरहने पराक्रम शासकमा हैन हामी सचेत नागरिकहरूमै हुन्छ । यसैले हामी सचेत बनौँ होसियार ! ‘भष्मासुर’ प्रवृत्ति ज्युँदै छ ।

टिप्पणीहरू