कसैका कथा सुन्दा कति कहालिलाग्दा

भन्छन् नि हरेक समस्याले त्योभन्दा ठूलो अवसर बोकेर ल्याएको हुन्छ । अक्सर हामी जिन्दगीमा एउटा समस्या आए डराउँछौं, आत्तिन्छौं । अगाडिको बन्द ढोका हेरेर चिच्याउँछौं तर सम्भावनाका अरू तीन वटा द्वार खुल्लै हुन्छन् ।

बुबा, आमाको ५ सन्तानमध्येकी कान्छी छोरी । काभ्रेमा जन्मिएँ, यतै हुर्किएँ । अलि फरक स्वभावको थिएँ । हरेक कुरामा मेरो आँट र उत्साह देखेर होला बुबाले भन्नुहुन्थ्यो, तँ छोरी होइनस्, छोरा होस् । मागीविवाह भयो काभ्रेकै केटासँग । अनि शुरु भयो जीवनको बर्बादी, दोस्रो अध्याय । दुई मुखबाट बढेर खाने मुख चार भए, आयस्रोतको बाटो केही छैन । जिम्मेवारीवहन गर्नुपर्ने श्रीमान््लाई यी तमाम कुरामा केही वास्ता नहुँदा आफ्नो घर सजाउनका लागि मैले के मात्र गरिनँ ? बाटोमा पसल थाप्नेदेखि नगरेको काम केही भएन । त्यो बेला भोगेको पीडा अहिले पनि मगजमा नाचिरहन्छ, ती पीडादायी क्षण कहिल्यै बिर्सन सक्दिनँ । हरेक स्त्रीको चाहना हुन्छ, श्रीमान््ले श्रीमतीको सम्मान गरोस्, दुःख, पीडा बुझोस् तर जति नै दुःख गरे पनि नदेख्ने, उल्टै झुटा र काल्पनिक लाञ्छना मात्र लगाउँदा मन कति रुन्थ्यो, आफ्नै ललाटलाई दोष दिन्थें र मन बुझाउनुको विकल्प थिएन । भन्थँे, जिन्दगीमा हामीले आफ्ना लागि मात्र होइन, अरूका लागि केही गर्नुपर्छ । आफ्ना लागि त गल्लीका कुकुर पनि बाँचेका छन् । हामी समाजका लागि बाँच्नुपर्छ । तर, उहाँ सदैव उस्तै पिउने, दुव्र्यवहार गर्ने, तथानाम बोल्ने । कलिला बच्चालाई अशान्ति । श्रीमान््को मेरो चाहना र भावना ठीक विपरीत भएपछि र घरको रथ आफैंले हाँक्नुपर्ने अवस्था रह्यो । त्यही कारण बुवा, आमा, सासू र ससुरासँग सल्लाह गरें र इजरायल गएँ । ५ वर्ष त्यहाँ रहरले कम, बाध्यताले बढी बसेँ । बूढाबूढीको स्याहार, सुसार र रेखदेखमा २४ सै घण्टा तैनाथ हुनुपर्ने काम थियो । पैसा श्रीमान््लाई नै पठाउँथेँ । बच्चाहरूको शिक्षा दीक्षा र रहनसहनमा केही कमजोरी नहोस् भन्ने चाहना थियो । म विदेश गएर श्रीमान््लाई पैसा पठाउन थालेपछि खुदो पल्टियो । मैले पराइ भूमिमा बूढाबूढी स्याहारेर आर्जेको रकम दिनरात जाँडरक्सी पिउन र मोज मस्तीमै खर्चने । यो थाहा पाएपछि मैले पैसा पठाउन बन्द गरें । दिनरात जतिबेला मन लाग्यो कल गर्ने । तथानाम बोल्ने । फोन उठाउन केही ढिला भयो भने पनि कहाँ रमाउन गएकी थिइस् भन्ने, मुख छाड्ने ? पाँच वर्षपछि घर फर्किएँ । नयाँ घर बनाएर मात्र के गर्नु मनमा शान्ति नभएपछि । श्रीमान््को व्यवहारमा कुनै परिवर्तन आएको होइन । जसका लागि भनेर दुःख गरिरहेको छु उसैले सहन नसक्ने शब्दवाणले हान्ने । अरूका श्रीमान्ले श्रीमतीसँग मीठो बोलेको सुन्दा मलाई पनि रहर लाग्थ्यो तर…..आफ्नो ललाटै खोटो परेछ । मलाई बुझ्ने श्रीमान् भएन । कहिले पनि आफ्नो दुःख पीडा बाँड्न नपाई सम्बन्ध चँुडियो । लेखान्त नै सायद यस्तै रहेछ छुट्टिनुपर्ने । ठूलो बाबु बुझ्ने भइसकेको थियो । ममी अन्याय–अत्याचार नसहनू । अन्याय गर्नेभन्दा सहनुचाहिँ पाप हो भन्थ्यो तर समाजको भनाइचाहिँ, बच्चाको मुख हेर्नु, बच्चाकै लागि भए पनि बाउ आमा बाँचिरहनु । परिवारले धेरै पटक सम्झायो, अलग हुने बाटो नरोज्नू । महिलाले सहनै पर्छ भन्नेहरू पनि निस्किए । पलपल मरेर बाँच्नुभन्दा एकै पल्ट मर्दा उचित । समाजकै लागि भनेर मर्नुपर्छ भने म यो तरिकाले मर्दिनँ । उहाँलाई उहाँको तरिकाले जिउन दिन्छु म मेरो तरिकाले भनेर अलग बाटो रोज्यौं । सम्बन्धविच्छेद भएपछि धेरै देखेको छु, सासू ससुरालाई दोष दिने तर ती जीवित भगवान् सासूससुराले अत्यन्त माया गर्ने । उहाँहरूलाई कहिल्यै दोषी ठान्दिनँ । परिवारलाई दोष दिन्नँ । जुन औंलामा विष लाग्छ त्यही आंैला झर्ने हो । डिभोर्स भएको चार दिनपछि अंशबण्डाको कुरामा चित्त बुझेन भनेर मलाई निर्घात कुट्नुभयो । म हस्पिटलाइज भएँ । डिभोर्स हुँदा त यस्तो गर्दाेरहेछ, सँगै रहँदा कति पिट्थ्यो होला भन्नेहरू निस्किए । उहाँले अर्काे विवाह गरेर छोरीको बाउ बन्नुभएको छ । अहिले म शान्तसँग जीवन बिताइरहेको छु, हामी टचमा छैनौं ।

आमाको मुख हेर्ने औंसीको दिन आमालाई आफू घर आउन लागेको खबर गरें, उहाँले कोरोना सार्नका लागि किन आउने, पर्दैन भन्नुभयो ।

अलग भएपछि जोडिएँ हिमालय वृद्धाश्रममा भोलिन्टियरको रूपमा । केही समयपछि पुनः विदेश जाने रहर पलायो । विदेश गई कमाएर आउँछु र सामाजिक काम गर्छु भन्ने मनमा थियो । चितवनको सरस्वती भुसाल र म, पोल्याण्ड जाने भयौं । दलालले इण्डिया हुँदै कजाकस्तान, उज्वेकिस्तानको बाटो लिएर गयो । हामीलाई २२ दिन थुनेर राखियो । १ वटा पाउरोटीको भरमा १ महिना बिताएको क्षण बिर्सन सक्दिनँ । हामीलाई बेच्न लागिँदै छ भन्ने चाल पाएपछि दलालको पञ्जाबाट उम्किएर मात्र आएनौं उनीहरूलाई थुनायांै । पटक–पटक लडें तर हिम्मत हारिनँ । ११ वर्ष हिमालय वृद्धाश्रममा सेवा गरेँ । सचिवको रूपमा अहिले पनि कार्यरत छु । त्यहाँ मबाहेक अरू आठ जना हुनुहुन्छ । इजरायलबाट फर्किएपछि सोही संस्थामा काम गर्दै थिएँ । बीचमा लकडाउन र कोरोना कहर थपियो । खाना नपाउनेहरू धेरै भेट्न थाल्यौँ । यही बीचमा भेटिए वीरबहादुर परिवार । उनी अस्पतालको बेडमा थिए । आर्थिक स्थिति तन्नम । उपचारकै क्रममा बित्नुअघि छोरी र श्रीमतीको दुबै हात मेरो हातमा समाउँदै यी अवला तपाईंकै जिम्मा भए भने । ती बेसहारालाई कहाँ राख्ने ? हिमालय आश्रममा ३५ जनाभन्दा बढी राख्न मिल्दैन भनियो । आफ्नै घरमा लगेर राखेँ । वीरबहादुर बितेको दुई महिना नपुग्दै उहाँकी ठूली छोरी लक्ष्मीको लडेर टाउकोभित्रै हड्डी भाँचिई रगत जम्यो । उनको उपचार सफल भयो । एकपछि अर्काे आश्रय खोज्नेहरू थपिँदै गए । आफ्नै कथा व्यथा बोकेका पीडित बुवा, आमा, नानी, बाबुहरू भेटिँदै गए । कोरोना कहरमा म एक दिन घरभित्र बसिनँ । सडकमै निस्किएँ । खाना नपाएका, दुःखी पीडितहरूकै सेवामा खटिएँ । त्यही समय आमाको मुख हेर्ने औंसीको दिन आमालाई आफू घर आउन लागेको खबर गरें, उहाँले कोरोना सार्नका लागि किन आउने, पर्दैन भन्नुभयो । मन एकतमासको भयो । आफ्नै आमाबाट यस्तो सुन्नुप¥यो भने अरूले गरेको दुव्र्यवहारको के कुरा ? भगवान्ले भन्छन् रे तँ आँट म पु¥याउँछु । मसँग आँट र हिम्मत मात्र थियो । त्यही आँट बटुलेर शुरु भयो रिमा साइराम सेवा घर, गल्फुटारमा । ५ वर्षका लागि मासिक १५ हजार भाडा तिर्ने गरी । संस्था खोलेको ८ महिना भयो । अहिले ३५ जना आश्रय लिइरहेका छन् । तीन जनाको परिवारसँग पुनर्मिलन गराइसकेका छौं । लाग्छ, म हिजो जहाँ थिएँ, त्यहीँ रहेको भए, सम्बन्धविच्छेद गरेर नसिस्केको भए आज यति धेरैको सेवा गर्न सक्दैनथेँ । आफ्नै घरपरिवारलाई समय दिएको भए यहाँ आउँदैनथेँ । आज आफ्नो आँशु र व्यथालाई मनमा लुकाएर अरू पीडामा डुबेका बुवाआमा, कोही नभएका टुहुरा बालबालिकाको आश्रम बनेर उहाँहरूको आँशु पुच्छदै छु । दुई छोरा मैसँग छन् । जेठो छोरा विदेशमा छ । ६ वर्ष भयो ऊ विदेश गएको, कान्छो ब्याचलर गर्दै छ । आज शान्तसँग आज आफ्नो जिन्दगी चलिरहेको छ । अरूको आँशु पुछ्न सफल भएको छु ।

एउटै घरमा दुई÷चार जनालाई लालनपालन त धौधौ हुन्छ सहज छैन ३५ जनाको लालनपालन । केही मनकारी भेटिन्छन् उहाँहरूकै सहयोगले संस्था आजसम्म अघि बढिरहेको छ । संस्थामा ५ जना पीडित चेली छन्, श्रीमान्ले छाडेका । बेसहारा घरबारविहीन । म हिम्मत दिने गर्छु जीवनमा केही गर, केही गरेर देखाऊ । हामी एउटा पुरुषसँग सम्बन्ध टुट्यो भन्दैमा डिप्रेसनमा जान्छौं तर पुरुषबिना धेरै गर्न सक्छौं । मात्र चाहिन्छ हिम्मत । जीवनमा धेरै अवरोध आउँछन् । त्यसलाई छिचोलेर अघि बढ्नुपर्छ । भन्छन् नि परोपकारमिदं शरीरम् । एक बारको जुनी अरूको उपकारमा समर्पण गर्दा गर्दै यही रीमा साइराम सेवा आश्रमकै आँगनमा प्राण त्याग्न मन छ ।

रिमा सापकोटा साइराम

टिप्पणीहरू