लाल झण्डाको आवरणमा विश्वविद्यालयको सम्पत्ति कब्जा गरियो : नेविसंघ

लाल झण्डाको आवरणमा विश्वविद्यालयको सम्पत्ति कब्जा गरियो : नेविसंघ

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेको छ । नेविसंघ त्रिवि समितिले विश्वविद्यालयको सम्पति कब्जा गरेको भन्दै प्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कारवाहीको माग राखि तालाबन्दी गरेको हो।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले चलाउनेले लाल झण्डाको आवरणमा सरकारी सम्पति कब्जा गरेको आरोप लगाएको छ । ‘त्रिवि अन्तर्गतका प्राध्यापक क्वाटरहरुमा बस्नको लागि निश्चित मापदण्ड तयार गरिएको हुन्छ । तर त्यो मापदण्ड विपरित लाल झण्डाको आवरणमा प्राध्यापकको मुकुण्डो बेरेका प्राध्यापक प्रेम बहादुर चलाउने आफैं विश्वविद्यालयको क्वाटर फोरी नियम विपरित लामो समयदेखि बस्दै आएको घाम जत्तिकै छर्लंगै छ’, विज्ञप्तिमा भनिएको छ।

नेविसंघले विश्वविद्यालयजस्तो प्राज्ञीक क्षेत्रमा आवद्ध प्राध्यापकहरुबाटै गुण्डागर्दी शैलीमा विश्वविद्यालयको सम्पत्ति कब्जा गरेकोप्रति खेद प्रकट पनि गरेको छ ।

चलाउनेलाई २४ घन्टाभित्र क्वाटरबाट हटाउन माग गर्दै नेविसंघले अन्यथा थप आन्दोलन गर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, कानुनी राज्यको उपाहास गर्ने, विभिन्न शैक्षिक माग राखी विद्यार्थीहरुले गरेका आन्दोलन दबाउने, ताला काट्दै हिंड्ने, नेविसंघ त्रिविका नेताहरुमाथि सह-प्रधायापक बनाउने प्रलोभनमा पारेर आफैं नक्कली घाइते खडा गरेर झुट्टा मुद्धा दर्ता गर्ने चलाउने लगायतका अन्य प्राध्यापकहरुको २४ घन्टाभित्र विश्वविद्यालयका क्वाटरबाट हटाउन माग गर्दै त्रिवि प्रिन्सिपल कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको जानकारी गराउछौं ।

नेविसंघ त्रिवि समितिका उपाध्यक्ष सहदेव तिमिल्सेनाद्वारा जारी विज्ञप्तिमा मागको वेवास्ता गरि प्रिन्सिपल कार्यालय अगाडि बढेमा उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं प्रिन्सिपलले लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू