सरकारी खर्च,भाइकै भर छ

सरकारी खर्च,भाइकै भर छ

चन्दननाथ नगरपालिका,जुम्लाकी नगरप्रमुख कान्ति सेंजुवालले नगपालिकाको खर्चबाट आफ्नै भाइको जग्गामा तारबार गरिदिएकी छन् ।

नगरपालिकाको ४ नम्बर वडामा रहेकाे जग्गामा गरिएको तारबारको खर्च नगरपालिकाले बाइखेत परियोजनाको नाममा गरेको पुष्टि भएको छ । मल्ल परिवारको निजी जग्गामा प्रमुख सेंजुवालले आयोजनाको नाममा छुट्याइएको बजेट खर्च गरेकी हुन् ।

धेरै वर्षपहिले मल्ल परिवारको जग्गा नजिकै रहेको पर्ति जग्गामा सिँचाईको निम्ति बनाइएको पानी ट्याँङ्की जीर्ण अवस्थामा छ । त्यहि ट्याङ्कीलाई मर्मत सम्भार गर्ने र सरकारी जग्गा जोगाउने भन्दै नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो अर्ध वार्षिकमा काम सम्पन्न गर्ने गरी उक्त परियोजना तय गरेको नगरपालिका स्रोतले बताएको छ ।

तर,परियोजना एकातिर काम अर्कोतिर गरेर गत असोजमा नै भाइको जग्गामा तारबार गरेपछि कात्तिकमा ५ लाख रुपैयाँ भुक्तानी समेत गरिसकिएको बताइन्छ । व्यक्तिको जग्गामा हालिएको बार पनि पूरै खर्च नगरिएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार मुश्किलले एक लाख खर्चेर पाँच लाख झ्वाम बनाइएको छ । सात आठ वटा जाली हालेपछि नगरपालिकाले कात्तिकमा पाँच लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

अहिले त्यहि विषयमा लेखिएको समाचारलाई लिएर नगर प्रमुख सेंजुवालले स्थानीय सञ्चारकर्मी दिलमाया शाहीलाई टेलिफोनमा अपशव्द बोलेकोमा पत्रकार महासंघ,कर्णाली प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टेलिफोनमा नगरप्रमुखले शाहीलाई ‘समाचार लेखेकोमा बधाई छ,’ भन्दै, हप्काउँदै ‘बेबकुफ केटी’ भनेको स्पष्टसँग सुनिन्छ ।

जवाफमा शाहीले ‘मेयर साहेब, राम्रोसँग बोल्नुस् न,अलि सभ्य भाषामा’ भनेकी छिन् । तर, मेयरले उल्टै थर्काउँदै ‘तँ यहाँ आइज पहिला,मेरो कार्यकक्षमा’ भनेर फोन राखेकी थिइन् ।

टिप्पणीहरू