जलहरीकै दुई करोड ज्याला

जलहरीकै दुई करोड ज्याला

पत्याउनै मुश्किल– १० दिन काम गरेको ज्यालामात्रै प्रतिकामदार दुई करोड ! यो धन्दा चलिरहेको छ, पशुपतिनाथको शिवलिंगमा जलहरी जडान गर्दा ।

लाखबत्ती बाल्न पुगेको बेला प्रधानमन्त्रीले सुनको जलहरी जडान गर्न ३० करोड रुपैयाँ दिने भनेबमोजिमको रकम निकासा अन्तिम चरणमा छ । उक्त रकम आउने सुनिश्चित भएपछि पशुपति क्षेत्र विकास कोषले खर्च गर्ने ५० करोडमध्येबाट ६४ केजी ३ सय ग्राम सुन खरिद भएको छ । राष्ट्रबैंकबाट किनिएको उक्त सुनलाई गत बिहीबार गाल्ने काम भइसकेको छ । सुन गालेर बनाइएको पातालाई उसै दिन पाटन औद्योगिक क्षेत्र लगिएको छ । पशुपतिमा भने रुद्र गार्डेश्वरको प्रांगण, बासुकी मन्दिरभन्दा माथि, कैलाशभन्दा मुनि बनाइएको टहरामा सेफ बनाएर सुन राखिएको छ । सम्पूर्ण काम नसकिउञ्जेलका लागि ती सुन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सैनिक घेरापछि सशस्त्र प्रहरीले सुरक्षा प्रबन्ध मिलाएको छ । ती सुन राख्दा र निकाल्दा पनि मुचुल्का गर्नुपर्ने नियम छ । पहिला काठको, पछि तामाको फर्मा बनाएर काम थालिएको छ ।

सुन खरिद, सरकारी कोषको रकम निकासाजस्ता कुरामा अनियमितता भएको त छैन । तर, ज्यालाका लागि जुटाइएका चन्दादाता अझै गोप्य राखिनुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । त्यसमाथि एउटा कालिगढलाई १० दिन काम गरेको ज्याला दुई करोड भनिएको छ । चारजना कालिगढ यो काममा खटिएका छन् । कोषका पदाधिकारीहरू नै भन्छन्, ‘त्यत्रो रकम त कुनै पनि कामको ज्यालामा लाग्दैन ।’ यसरी, पैसा सक्नका लागि दाताको नाम र रकम गोप्य राखी–राखी चलाइएको धन्दाको जिम्मा दिइएको छ, मूलभट्टलाई । दाता व्यवस्थापन तथा जलहरी जडान समितिमा कोषका पूर्वसदस्य रमेश शिवाकोटी, राजु खत्रीहरू सदस्य छन् । त्यसमध्ये रमेश ओलीपक्षीय नेकपाका केन्द्रीय सदस्य बालकृष्ण शिवाकोटीका भाइ हुन् । बालकृष्णचाहिँ गौशालास्थित पशुपति भिजन, तीनकुनेको रोयल बैंक्वेटका सञ्चालक हुन् । यिनी पहिला काठको कारोबार गर्थे । तर, छोटो समयमै आश्चर्यजनक आर्थिक हैसियत बनाए । दोलखाको पोवटीका मूल बासिन्दा यिनले केपी ओलीको नाम चलाएर काम गर्ने चर्चा गरिन्छ । राजु खत्रीचाहिँ कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन्, व्यवसायका रुपमा तरकारी मण्डी चलाउँछन् । चोभारका स्थायी बासिन्दा उनलाई कोषको सदस्य बनाउन देउवापत्नी आरजुका भाइ भुषण राणाले जोड गरेका थिए । तर, दाताको नाम गोप्य राखिएको कुरा राजुले अस्वीकार गरे । ‘अहिलेसम्म दाताहरूलाई सहयोगका लागि आह्वान नै गरिएको छैन’, उनले जनआस्थालाई बताए ।

टिप्पणीहरू