देउवाको भविष्यवाणी

देउवाको भविष्यवाणी

जब नेपाल कम्युनिष्ट पार्टी लगभग दुई तिहाइ बहुमत प्राप्त गरी सत्तामा पुग्यो, तब कांग्रेस सभापति शेरबहादुर देउवाले भन्नुभएको थियो, ‘कम्युनिष्ट शासनमा नेपाली जनताले रुन पनि पाउने छैनन् ।’

साँच्चै उहाँले भनेजस्तै भयो । नेपाली जनताको अवस्था के छ त्यो त थाहा छैन तर शेरबहादुर देउवा भने अहिले रुने होइन पूरै हाँस्ने अवस्थामा पुग्नुभएको छ । उहाँलाई अहिले कम्युनिष्टहरू प्रधानमन्त्री बनिदिनुस् भनी तानातान गर्दै छन् । बिहान प्रचण्ड आएर प्रधानमन्त्री बनिदिन आग्रह गर्नुहुन्छ । बेलुकी केपी ओलीले अबको प्रधानमन्त्री तपाइँ नै भनेर फोन गर्नुहुन्छ । कहिले माधव नेपालको आग्रह, कहिले ईश्वर पोखरेलको अनुरोध । यस्तो अवस्थामा हाँस्ने बाहेक अरु के नै गर्न सकिन्छ र ? शेरबहादुर देउवा अहिले हाँसेको हाँस्यै हुनुहुन्छ ।

कम्युनिष्टको शासन आएपछि जनताले मनग्य हाँस्न पाउने छन् भनेर त उहाँले ऊबेलै भन्नुभएको थियो । मान्छेले त्यसको गलत अर्थ निकाले । वास्तवमा कुरो त उहाँले जे भन्नुभयो त्यही सत्य रहेछ । त्यो अहिले आएर पो थाहा भयो । कम्युनिष्ट सरकार आएपछि सबैले हाँस्न पाउने रहेछन् । हैन त ?

टिप्पणीहरू