कमरेड, त्यतिबेलाका कष्ट त कति कति !

देवराज कार्की

नख्खु जेलमा राजबन्दी भेट्दा क्षेत्रपाटीनजिक श्रीलक्ष्मी श्रेष्ठको घरमा हाम्रो डेरा थियो । तत्कालीन नेकपा माले पार्टी आफ्ना रणनीति तय गर्दै संगठन विस्तारतिर लम्कँदै थियो । मेरो भाइ र सुरेन्द्र पाण्डे कोठामा बस्थे । म पनि काठमाडौँ गएर त्यहीँ थपिएको थिएँ । सुरेन्द्र बैंकमा जागिर खाएर पार्टी काममा खटिनुहुन्थ्यो । उहाँलाई पार्टीले मजदुर फाँट जिम्मा लगाएको थियो । बालाजु औद्योगिक क्षेत्रमा प्रायः जानुपथ्र्याे । मलाई पनि पार्टीले उहाँसँगै कामको जिम्मेवारी दियो । त्यो बेला मजदुर नेता कमल लामा थिए । मे दिवसमा उद्योग बिदा हुन्थे । त्यो बेला सबै उद्योगबाट मजदुर दिवसका लागि उत्पादन भएका खानेकुरा सहयोग हुन्थ्यो । अनि मजदुरले वनभोज आयोजना गर्थे मे दिवसका दिन । मनमैजुको डाँडामा ०३८ सालको मे दिवस वनभोजसहित मनाएको मानसपटलमा ताजै छ । मलाई उता मजदुर फाँटमा खटाए पनि राजबन्दीलाई जेलमा भेट्न जाने जिम्मेवारी थपियो । म पढ्न पनि थालेको थिएँ, पाटन कलेजमा । एक जना साथी लिएर पार्टी कमरेड आउनुभयो र उहाँसँग नख्खु, भद्रगोल र सेन्ट्रल जेल जानु भन्नुभयो । राजबन्दी भेट्न हप्ताको दुई दिन मात्रै पाइन्थ्यो । आइतबार र बुधबार । दुई हप्तामा तीन वटै जेलमा लगेर मलाई उहाँले राजबन्दीसँग सम्पर्क गराउनुभयो । जेलमा भेट्न जाँदा मेरो नयाँ नाम न्वारान भयो कमल घिमिरे । अब म जेलमा पार्टीका दस्ताबेज, मुखपत्र (वर्ग संघर्ष) अपानि (अन्तरपार्टी निर्देशन नयाँ) निस्केपछि पु¥याउँथें । पार्टीभित्र पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको बहस चलिरहेको थियो । क. सिपीलाई कार्बाही गरेर महासचिवबाट हटाएर प्रवासतिर पठाएको बेला । जेलमा पनि त्यो कुरो पार्टीले बुझाउनुपर्ने रहेछ । मलाई एकजना भूमिगत कमरेडलाई नख्खु जेलमा लगेर क. मोहनचन्द्र अधिकारी र क. राधाकृष्ण मैनालीलाई भेटाउनु थियो । पिस्कर हत्याकाण्ड भएको केही समयपछिको कुरो हो । त्यो काण्डमा क. अमृत बोहरा र क. भोला बोहरालाई सुट वारेन्टजस्तै थियो गृहको । सिन्धुपाल्चोकको थामी समुदायमा पार्टीको काम गरेर त्यो समुदायलाई कम्युनिष्ट विचारधारामा गोलबन्ध गर्ने मुख्य काम गर्ने संगठक क. अमृत बोहराको नै हो । सिन्धुपाल्चोकबाट उहाँ काठमाडौँ आएर बस्ने सेल्टर नै हाम्रो कोठा थियो । काम विशेषले क. माधव नेपाल पनि आइरहनुहुन्थ्यो । एकदिन दुई जना कमरेड भेला भएर दिनभर बातचित गर्नुभयो । भोलिपल्ट बुधबार । माधव कमरेडले क. अमृतलाई नख्खु जेलमा लगेर क. एमसी र क . आरकेलाई भेट गराउनु । भन्नुभयो, ‘यो त्यही जेल हो जहाँ सुरुङ खनेर कम्युनिष्टले विद्रोह गरेका थिए । त्यो बेला सार्वजनिक गाडी थोरै कुद्थे । रत्नपार्कबाट जाउलाखेल अनि हिँडेर एकान्तकुना हुँदै नख्खु । झोछेंको बालसेवा माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो अति मिल्ने साथी (कृष्णभक्त मानन्धर) केबी सर । उहाँको यामहा ट्रायल मोटरसाइकलमा नख्खु पुग्दा ११ जति बजेको हुनुपर्छ ।

जेलरले मलाई ओहो कमलजी, आज त साथी पनि लिएर आउनुभएछ भने । मेरो मेरो त कमल घिमिरे, अमृतको नाम रामचन्द्र बराल भनेँ । केपी ओली कमरेड पनि त्यहीँ हुनुहुँदोरहेछ । म हरेक हप्ता केही न केही सामग्री लिएर ४ वर्ष नख्खु जेल गएँ तर उहाँ त्यहाँ भएको चाल पाइनँ । किनकि पार्टीले मलाई कहिल्यै उहाँलाई भेट्न भनेन । त्यहाँ हामी एकातिरको बेञ्चमा बस्यौं । अर्कोतर्फ एमसी र आरके बस्नुभयो । जेलमा त मलाई विद्यार्थी भनेर चिन्थे । सामान्य कुराकानी हुन्थ्यो । तर, आज भने त्यो सबै तोडियो । भित्र बाहिरका कमरेडहरू जेलमा प्रहरीसामु भएको बिर्सेजस्तो गरेर कुरा चल्न थाल्यो । कमरेड कालो चिया सुरूप्प पिउँदै आरकेले चुरोटको धुवाँ उडाउँदै कुरा गर्नुभयो एक घण्टामा प्रहरी त्यहाँ आउने, जेलर आएर हाँस्ने गर्न थाले । मेरो मनले अब यहाँ केही घटना हुन्छ भन्ने सोच्न थाल्यो । एक प्रहरी मलाई असाध्य मन पराउँथ्यो । कहिलेकाहीँ बाहिर हामी चिया पिउँथ्यौँ । ऊ मेरो नजिक आएर बस्यो र कानमा फुसफुसायो ‘सर, तपाईंहरूलाई पक्राउ गर्ने तालमेल मिलाउँदै छन् ।’ म झसंग भएँ । प्रहरी आफ्नै ब्यारेकतिर लाग्यो । मैले आरकेतिर आँखा झिम्क्याएर कुरा सक्न भनेँ । हतारमा कुराको अन्त्य गर्दै अमृतले भन्नुभयो अर्को हप्ता आउँछु अनि सबै कुरा गरौंला । हामी हतार–हतार मोटरसाइकल भएको ठाउँमा गयौँ । मोटरसाइकल स्टर्ट गरेर एकान्तकुनातर्फ हुइँक्याएँ । उकालोमा पुग्दा दुइटा प्रहरी भ्यान उँधो नख्खुतिर झरे । उनीहरूले हामीलाई चिन्ने कुरै भएन । मैले मोटरसाइकलको गति झन् बढाएँ ।

एकान्तकुनाबाट रिङरोड पूर्व महालक्ष्मी चोकतिर लागियो । अहिले यातायात कार्यालयको छेउबाट जाउलाखेलपट्टीको गल्ली समातेर भित्र पसियो । भित्रभित्रै लगनखेल निस्केर शंखमूलको बाटो समातियो । शंखमूलमा क अमृतलाई छोडेँ सतर्क हुन भन्दै न्युरोडतर्फ हान्निएँ । केबी मानन्धर सरले मलाई त्यो दुर्घटनाबाट पार्टीलाई बचाएकामा धन्यवाद दिनुभयो । एक हप्तापछि म फेरि नख्खु जेल गए कमरेडहरू भेट्न । जेलरले मलाई त्यो मान्छे कोहो भनेर सोधपुछ गर्‍यो । म यता आउँदा एकान्तकुनामा यतै आउँदै भेटेर ल्याएको हुँ । म पनि चिन्दिनँ भने । नभनी हिँड्नुभएछ भन्दै थियो भनेँ । थप केही कुरा भएन ।

टिप्पणीहरू