बादल बोलेपछि एमालेमा बबाल

बादल बोलेपछि एमालेमा बबाल

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादल आफ्नै अभिव्यक्तिकाे कारण विवादमा परेका छन् । पार्टीकाे समानुपातिक बन्दसूचीको अग्रस्थानमा रहेका उनले हिजो एक कार्यक्रममा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर निर्वाचनमा जानुपर्ने बताएपछि आलोचनामा परेका हुन् । 

पार्टीका नेता गोकुल बाँस्कोटाले थापालाई ‘पटके समानुपातिक’को संज्ञा दिँदै चुनाव लडेर जित्न चुनौती दिएका छन् । ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिकै हो, अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन्’, उनको चुनौती छ, ‘रुख र सूर्य मिलेपछि चुनाव लडे भो त, अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले !’

पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले समावेशीताको अध्ययन गर्न पनि सल्लाह दिएका छन् । उनको व्यंग छ, ‘समावेशिताकै बेइज्जत नगर के, त्यो पनि पुरुषले !’

पूर्व सांसद ईश्वर घर्तीले पनि कांग्रेससँग गठबन्धन गर्ने भए ‘तपाईले किन समानुपातिक कोटा कब्जा गरेको ?’ भन्दै प्रश्न गरेकी छन् । उनकाे भनाइ छ, ‘बेकारमा यत्तिको हेविवेट नेता समानुपातिकको एक नम्बरमा बस्दा पहिलो कुरा, आदिवासी जनजाति समुदायका अन्यहरु अवसरबाट बञ्चित भए, दोस्रो कुरा, सारा लोक हाँसेको छ !’

स्मरण रहोस्, उपाध्यक्ष थापालाई समानुपातिक बन्दसूचीमा राख्ने विषयलाई लिएर गत आइतबार बसेको सचिवालय बैठकमै सामान्य नोकझोक चलेको थियो । उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले ‘समयले नयाँ अनुहार खोजेको र पुरानै नेतालाई प्राथमिकतमा राख्दा राम्रो सन्देश नजाने’ भन्दै बन्दसूचीबाट थापाको नाम हटाउनुपर्ने बताएका थिए ।

अध्यक्ष केपी ओलीले ‘नेताहरुको व्यवस्थापन गर्ने काम तपाइहरूकाे हाेइन, नेतृत्वकाे हो’ भन्दै नाम नहटाउने अडान लिएपछि भोलिपल्ट त्यहि सूची निर्वाचन आयोगमा बुझाइएको थियो । ओलीले अधिकांश पुरानै अनुहारलाई समानुपातिकमा दोहोर्याएपछि चर्किएको असन्तुष्टिले तल्लो तहमा पार्टी छोड्ने लहर नै चलेको देखिन्छ ।
 

टिप्पणीहरू