देउवाको चिन्ता
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अहिले कसैलाई विश्वास छ भने त्यो शेरबहादुर देउवालाई मात्रै छ । कांग्रेस सभापति देउवाले अहिले कमरेड ओलीलाई जति विश्वास गर्नुभएको छ त्यति विश्वास त उहाँले आफ्नी श्रीमतीलाई पनि गर्नुभएको छैन होला । त्यो पनि कस्तो विश्वास भन्दा प्रधानमन्त्री ओलीले चुनाव गर्ने विश्वास । प्रधानमन्त्री ओलीले चुनाव गर्छन् भनेर आजसम्म सँगै पाँच दशक बिताइसकेका माधव नेपालले त गर्न सकेका छैनन् भने देउवाले मात्रै कसरी गरे कुन्नि !
चुनाव त अहिले नेपालमा होइन नेपाली कांग्रेसमा गर्नुपर्ने बेला आइसकेको छ । नेपाली कांग्रेसमा गर्नुपर्ने चुनावबारे उहाँलाई अहिलेसम्म कुनै चासो छैन । ओलीले गर्ने भनेको चुनावतिरचाहिँ अचाक्लै चासो बढेको छ । कांग्रेसको नेता भएपछि कांग्रेसकै चुनावमा चासो राख्नुपर्ने हो । तर उहाँ ओलीको चुनावतिर चासो राख्दै हुनुहुन्छ । कतै उहाँ ओलीको चुनावतिर देखाएर आफूले गर्नुपर्ने चुनाव टार्न त खोज्दै हुनुहुन्न ? चुनाव नै यदि प्रजातन्त्रको मापदण्ड हो भने कांग्रेसमा चाहिँ चुनाव गराउनु परेन ? के कांग्रेसलाई प्रजातन्त्र चाहिँदैन देउवाज्यू ?
टिप्पणीहरू