बादलवाला राम
कुनै बेला बन्दुके क्रान्तिको नेता बनेका रामबहादुर थापा ‘बादल’ले अस्ति नारायणहिटी दरवारसामु उभिएर गर्नुभएको भाषण सुन्दा कार्यकर्ताहरू अलमलमा परे । भाषण त उहाँले गर्नुभयो तर ओली पक्षको कि प्रचण्ड पक्षको कुरा बोल्नुभयो कसैले ठम्याउन सकेनन् । त्यहाँ उहाँले क्रान्तिको कुरा पनि गर्नुभयो, तेश्रो जनआन्दोलनको कुरा गर्नुभयो, खोइ कसलाई हो समाप्त पार्ने कुरा समेत पनि गर्नुभयो ।
अलि टाढा बसेर उहाँको भाषण सुनिरहेको एउटा सोझो कार्यकर्ताले मलाई सोध्यो, ‘दाजु, हामी त ओली बाको सभा भनेर आएको, प्रचण्डको सभामा पो पुगियो कि क्या हो ?’
यस्तो थियो उहाँको भाषण । हुन त ओली बाले उहाँलाई कामभन्दा पनि नाम हेरेर आफूतिर ल्याएको हुनुपर्छ । ‘रामबहादुर’ भन्नेबित्तिकै ओलीलाई लाग्यो होला यो त ठोरीको राम हुनुपर्छ, यसलाई आफूतिरै राख्नुपर्छ । तर रामबहादुरको पछाडि ‘बादल’ पनि झुण्डिएको चाहिँ उहाँलाई याद भएनछ । बादलको चरित्र यस्तै न हुन्छ । आकाशमा तैरिरहेको हुन्छ । कहिले यता, कहिले उता । हेर्दा सबैलाई लाग्छ बादल आफूतिरै छ । तर बर्सिँदा कहाँ पुग्छ मौसमविद्ले पनि भन्न सक्दैन । अस्ति नारायणहिटीमा पनि बादल त्यसरी नै बर्सिएको हो कि ?
टिप्पणीहरू