वामदेवतिर नरहेको बिज्ञप्ती

वामदेवतिर नरहेको बिज्ञप्ती

पार्टी फुटेपछि नेकपामा अहिले पद फ्यालाफ्याल छ । जता गए पनि पदै पद । पार्टी विभाजनलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले १५ सयको जम्बो केन्द्रीय कमिटी बनाएर धेरैलाई केन्द्रीय सदस्य बाँड्नुभयो । पूर्व माओवादीका बादलदेखि मणि थापासम्मलाई आफूतिर तान्न मन्त्री दिनुभयो। ओली समूहमा लागे केन्द्रीय सदस्य पाइने प्रचार गरियो । धेरैले केन्द्रीय सदस्य अस्वीकार पनि गरे । त्यसैले केन्द्रीय सदस्य छाड्ने र थपिने क्रम अझैसम्म चलिरहेको छ।

नेकपाको विभाजनपछि उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियान घोषणा गर्नुभयो । धेरै पहिला नै अभियान घोषणा गर्नुभएका उहाँले आइतबार ६६७ सदस्यीय केन्द्रीय समन्वय समिति सार्वजनिक गर्नुभयो । ओली र प्रचण्ड-नेपाल समूहमा कार्यकर्ता तानातान र उस्तै परे हानाहानको अवस्था रहेका बेला गौतमले पनि धेरैलाई समेट्ने गरी ठूलो समिति घोषणा गर्नुभएको हो ।

ओलीको १५ सयको जम्बो केन्द्रीय समिति छाड्नेको लहर चलेजस्तै वामदेवलाई पनि पहिलो गाँसमै ढुंगा लागेको छ । उहाँले घोषणा गर्नुभएको केन्द्रीय समन्वय कमिटीका एक सदस्यले आफूलाई सोध्दै नसोधी राखिएको भन्दै अस्वीकार गरेका छन् । इलामकी मुना शर्माले सोमबार विज्ञप्ति जारी गर्दै आफू गौतमले घोषणा गरेको कमिटीमा नरहने प्रष्ट पारेकी हुन् ।

शर्माले भनेकी छन्, ‘नेकपाभित्र जारी अन्तरसंघर्षदेखि पछिल्लो समय आ-आफ्नो गुट निर्माण गर्ने क्रममा २०७७/११/३ गतेका दिन एउटा राष्ट्रिय पत्रिकामा कमरेड वामदेव नेतृत्वको एकता राष्ट्रिय अभियानको समन्वय समिति र केन्द्रीय कार्य-सम्पादन समितिअन्तर्गत केन्द्रीय सदस्य पदमा मेरो पनि नाम आएको भनी समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

शार्माले प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा आवद्ध रहेको प्रष्ट पार्दै प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध अन्तिमसम्म उभिने प्रतिवद्धता पनि जनाएकी छिन् ।

‘मलाई थाहा नै नदिई उक्त समूहको केन्द्रीय सदस्यमा राखेकोमा मेरो पूर्ण असहमति रहेको कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछु’,उनले भनेकी छिन्, ‘म असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदमको उदाहरणस्वरूप गरिएको प्रतिनिधिसभा भंगको विरुद्ध उभिने प्रतिवद्धतासहित पार्टीका बहुमत सदस्यहरुले प्रतिनिधित्व गरेको अर्थात् प्रचण्ड,माधव कुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको पार्टीमै आवद्ध भएको जानकारी गराउँछु।’

टिप्पणीहरू