लागुऔषधसहित नागढुंगाबाट चारजना पक्राउ

लागुऔषधसहित नागढुंगाबाट चारजना पक्राउ

वीरगञ्ज र कलैयाबाट काठमाण्डौं आउँदै गरेको तीनवटा यात्रुबाहक बसबाट १ हजार ८ सय ५२ एम्पल लागुऔषधसहित महानगरीय प्रहरी प्रभाग नागढुङ्गा चेक प्वाईन्ट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । माघ ३० र फागुन १ गतेका दिन लुकाई छिपाई काठमाण्डौं ल्याउँदै गरेको उक्त परिमाणको लागुऔषधसहित चारजनालाई पक्राउ गरिएको हो ।

वीरगञ्जबाट काठमाण्डौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बसमा लुकाईछिपाई ल्याइएको डाईजोपाम २ सय एम्पल, नुफिन २ सय एम्पल र फेनारगन २ सय एम्पलसहित भारतको बिहार, मोतिहारी जिल्लाका २६ वर्षीय राजकुमार प्रसादलाई प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा फागुन १ गते काठमाण्डौं आउँदै गरेको ना ७ ख ५०११ नम्बरको यात्रुबाहक बसमा यात्रा गरिरहेका भारत, रक्सौलका १९ वर्षीय साजनकुमार यादव र सोही ठाउँका १९ वर्षीय दिपक सिंहले लुकाएर ल्याउँदै गरेको लागुऔषध नुफिन ३ सय ५० एम्पल, डाईजेपाम ३ सय ५० एम्पल र फोनारगन ३ सय ५० एम्पलसहित दुवैजनालाई नागढुङ्गा चेकप्वाईन्टबाट पक्राउ गरेको थियो ।

सोहीक्रममा नागढुंगाबाटै रौतहटका १९ वर्षीय अर्विन यादवलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ । उनको साथबाट प्रहरीले डाईजेपाम १ सय एम्पल, फेनारगन ३१ एम्पल र नुफिन ७१ एम्पल बरामद गरेको हो । यसरी एक हप्ताभित्र १ हजार ८ सय ५२ एम्पल लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुगाले जानकारी दिएको हो ।

नेपाल–भारत बीचको खुल्ला सीमानाको फाईदा उठाउँदै अवैधानिक रुपमा लागुऔषधको ओसारपसार गरिरहेको गिरोहलाई सुरक्षा निकायले दैनिकजसो पक्राउ गरिरहेको छ ।

टिप्पणीहरू