नागरिकले दोषी कसलाई ठान्नु ? नेकपाका नेताले आफैँ जान्नु

नागरिकले दोषी कसलाई ठान्नु ? नेकपाका नेताले आफैँ जान्नु

– गोविन्द भट्टराई

०७४ को निर्वाचन अगाडिसम्म संसदीय कम्युनिष्ट नेताहरू नेपाली कांग्रेसले दुई तिहाइ बहुमत पाएर केही गरेन, हामीलाई त्यो अवसर दिए, नेपालको कायापलट गर्छौं भनेर भाषण गर्थे । अहिले पाएको अवसर गुमाए फेरि के होला ?

राजा महेन्द्र र उनका छोरा वीरेन्द्रले कांग्रेसका मातृकाप्रसाद कोइराला, तुल्सी गिरी, विश्व बन्धु थापा, डिपी अधिकारी, प्रभुनारायण चौधरीलगायत प्रभावशाली नेता–कार्यकर्तालाई निरंकुश पञ्चायती शासनको सारथी बनाएर उपयोग गरे । नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव (जो पाल्पाली पनि हुन्) केशरजंग रायमाझी, अर्का कम्युनिष्ट नेता कमलराज रेग्मीलगायतलाई राजतन्त्रको पक्षमा उभ्याए । लोकतन्त्र पक्षधर ठानिएका नेतालाई नै लोकतन्त्रको विरोधमा उतारे । बिपी र पुष्पलालले राजाविरुद्ध कांग्रेस–कम्युनिष्टको साझा अभियान चाहिन्छ भन्ने कुरा उठाए जुन ०४६ मा सत्य सावित भयो । बहुदल स्थापनापछि पनि राजा वीरेन्द्रले ०५८ सम्म दलहरूलाई सक्दो उपयोग गरेकै हुन् ।
२००७ यताको परिदृश्य अर्थात् प्रजातन्त्र, निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र, लोकतान्त्रिक गणतन्त्र, सात प्रदेश, ७५३ स्थानीय तह सबैको औकात नागरिकले देखिसके तसर्थ अब ओलीले संसद् विघटन गर्दैमा आकाश खस्ने वा संसद् रहँदैमा सर्वसाधारणको जीवनस्तरमा आमूल परिवर्तन हुने कुनै छाँटकाँट देखिँदैन भन्छन् कतिपय निरास नागरिक । यो तथ्य कति सत्य हो नेताले नै मनन गरे पुग्छ । वर्तमान राजनीतिको लगामका दावेदार भनिएका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्रीहरू वामदेव गौतम, रामचन्द्र पौडेललगायतका नेताले वर्तमान दुष्परिणामको जिम्मा लिनु पर्दैन ? जनार्दन शर्मा, योगेश भट्टराई, घनश्याम भुसाल, गगन थापाहरू भाषणमा मात्र गतिशील भएर पुग्दैन नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी वहनका लागि अग्रसर हुनुप¥यो । नेताले टाकुरे लाएर बल्ल उफ्रने, कोटको फेरो समाएर पहिचान बनाउने आरोप होस् वा प्रवृत्ति नहटेसम्म दोस्रो पुस्ताले आफ्नो सामथ्र्य पहिचान नगर्ने नै भो नेपालमा ? नियती त्यस्तै देखियो अरू रामकुमारी झाँक्रीहरू जानुन् ।

राजनीतिक गुरु, पुस्तक र शिक्षानीति एउटै हो भन्छन् तर शिष्यहरूको बुझाई र धारण गरेको ज्ञानमा धेरै फरक पर्ने रहेछ । कोहीको ओली, कोहीको प्रचण्ड अनि कोहीको विप्लव पहिचान बन्यो किन ? महाभारतका कौरव र पाण्डव एकै गुरु द्रोणाचार्यका शिष्य थिए । यता नेपालका सबै कम्युनिष्टहरू पनि एउटै गुरु कार्ल माक्र्सका शिष्य ठान्छन् तर न त कौरव र पाण्डव मिल्न सके न त नेपालका कम्युनिष्ट नै मिल्न सके । सामान्य नागरिकका नजरमा २०७७ पुस ५ को घटनामा जति दोषी प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ त्यतिकै दोषी अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल हुनुहुन्न त ? एकले अर्कोलाई दोष मात्र लगाएर समस्याको समाधान हुँदैन । नेताहरूकै शब्द सापटी लिँदा– प्रतिगामी वा राजावादीलाई चलखेल गर्ने मौका मिल्छ । तसर्थ नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तकले गल्ती जसको हो सुधार्न दबाब दिनुपर्छ र नेताहरूले गल्ती स्वीकार गर्नुपर्छ । सच्चिनुपर्छ अन्यथा अशोक राई र बाबुराम भट्टराईजस्तै हालत बन्छ नै !

शिक्षा दिने गुरुलाई अपमान गर्दै यी कम्युनिष्ट कुन गुरु (नागरिकको नजरमा दुष्ट) को दीक्षा ग्रहण गरेर पथभ्रष्ट बन्न पुगे ? चुरो कुरो भीम रावल, सुरेन्द्र केसीले अध्ययन गरेका छन् कि ? संसद् विघटनले नेपाललाई भारत, अमेरिका र चीनलगायतको स्वार्थपरस्त खेलबाट जोगाउन सकिन्छ ? गुमेको भूमि फिर्ता होला ? दलीय कलहले निकास पाउला ? अब प्रतिगमन नब्यँुतेला ? राजनीतिक अस्थिरता हट्ला वा झनै बढ्ला ? अब कसरी समृद्धि हासिल होला ? नेपाली नागरिकका मनमा उब्जेका यी शंका नेताहरूले निवारण गरुन् ।

[email protected]

टिप्पणीहरू