जनआस्थासँग फेरि हारे विनोद चौधरी

जनआस्थासँग फेरि हारे विनोद चौधरी

आस्था प्रकाशनविरुद्ध दायर गरेको मुद्दामा डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरीको छैठौंपटक हार भएको छ । उच्च अदालत,पाटनको आजको फैसलासँगै चौधरीले छैठौंपटक हार व्यहोर्नुपरेको हो । जनआस्थामा २०७७ जेठ २४ देखि असोज २१ गतेसम्म प्रकाशित १० वटा समाचारको विषयलाई लिएर चौधरी ग्रुप प्रेस काउन्सिल,नेपाल गएको थियो । 

मिडियामाथि नियमन र कारबाही गर्ने एक मात्र निकाय प्रेस काउन्सिलले खण्डन लेखी आस्था प्रकाशनलाई पठाउन भनेकोमा चौधरी ग्रुपले अटेर गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियोे । चौधरी ग्रुपले प्रकाशनका अध्यक्ष किशोर श्रेष्ठलाई दुई वर्षसम्म कैद,२० हजार रुपैयाँ जरिवाना वा दुवै सजायको मागदाबी गरेको थियो ।

 त्यस्तै,विद्युतीय वा आम सञ्चार माध्यमबाट गाली बेइज्जती गरे–गराएमा हुने थप एक वर्ष कैद सजायसँगै मनासिब क्षतिपूर्ति दिलाउन र मुद्दामा लागेको खर्चसमेत भराउन माग गरिएको थियो । जिल्ला न्यायाधीश ऋषिराज आचार्यको इजलासले २०८१ वैशाख ९ गते चौधरीले गालीबेइज्जती भएको भनेको १० वटा समाचार हदम्यादभित्र नपरेको र २०७९ भदौ ५ गते प्रकाशित ‘रामकुमारी झाँक्रीको बाध्यता र विनोद चौधरीको गम्भीर मुनाफा’ शीर्षक समाचारले गालीबेइज्जती गरेको नदेखिएको भन्दै मागदाबी नपुग्ने फैसला गरेको थियो ।

फैसलाप्रति असन्तुष्टि जनाउँदै चौधरी ग्रुपले उच्च अदालत,पाटनमा पुनरावेदन गरेकोमा न्यायाधीशद्वय सूर्यप्रसाद पराजुली र टंकप्रसाद गुरुङ्गको ५ नम्बर इजलासमा आज पेशी चढ्यो । चौधरीको तर्फबाट चार जना अधिवक्ताले बहस गरेका थिए । जसमा नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष गोपालप्रसाद घिमिरे,सुवास रिजाल, झलमाया बिक र विपिन सुवेदी रहेका छन् । यसअघि माननीय रामनारायण बिडारीले समेत चौधरीको पक्षबाट वकालत गरेका थिए ।

 

यता,जनआस्थाको तर्फबाट अधिवक्ता बद्रीप्रसाद भुसालले एक्लै बहस गरेका हुन् । अधिवक्ता घिमिरेले मिडियालाई जथाभावी तरिकाले लेख्नमा बन्देज लगाउने आदेश गर्न माग गरेका थिए । समाचारकै कारण जेनजी प्रदर्शनमा चौधरी ग्रुपको सम्पत्तिमा क्षति पुगेको उनको दाबी थियो । त्यस्तै, सुवेदीले मिडियाको दायित्वमाथि प्रश्न उठाएका थिए । उनीहरुको भनाइप्रति असहमति जनाउँदै न्यायाधीशद्वयले जिल्ला अदालतकै आदेश सदर गरिदिएका हुन् । 

यो आदेशसँगै चौधरीले जिल्लामा तीन र उच्चमा तीन गरी आस्था प्रकाशनसँग ६ पटक हार खेपेको छ ।

टिप्पणीहरू