महान्यायाधिवक्ताविरुद्ध जेन जीको आक्रोशः ‘यही हो सुशासन?’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अभियोग पत्र सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति जेन जी अगुवाले आपति जनाएका छन् ।
महान्यायधिवक्ता सविता भण्डारीको यो कदमले सुशासनका लागि युवाहरूले सडकमा बगाएको रगतको उपहास गरेको भन्दै जेनजी फ्रन्ट नेपालकी संयोजक रक्षा बमले आक्रोश व्यक्त गरेकी हुन् । उनले ‘महान्यायाधिवक्ताज्यू, यही हो सुशासन ?’ भनेर प्रश्न गरेकी छन् ।
प्रचलित कानुनमै सम्पत्ति शुद्धिकरणको कसुर फिर्ता लिन नमिल्ने मुद्दाको नकारात्मक सूचीमा रहेको बमले स्मरणसमेत गराएकी छन् । उनले भनेकी छन्, ‘चेतनशीलहरूले प्रश्न गर्लान्, सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातीहरूले सोध्लान् । महान्यायाधिवक्ताज्यू, यही हो सुशासन ?’
जेनजी अभियन्ताहरू भावना राउत, माजिद अन्सारी, मोनिका निरौलालगायतले पनि महान्यायाधिवक्ता कार्यालयको यस कदमप्रति आक्रोश व्यक्त गरेका छन् ।
देशभरका आधा दर्जन सहकारीबाट गैरकानुनी तवरले रकम झिकेर गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको यो प्रकरणका अभियुक्त लामिछाने, उनका तत्कालीन व्यावसायिक साझेदार जिवी राई र छविलाल जोशीविरुद्ध विभिन्न अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ ।
अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफल (पौडेल)ले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । महान्यायाधिवक्ताको कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न तथा नगराउन अन्तरिम आदेशको माग रिटमा गरिएको छ ।
टिप्पणीहरू