पुरुषमाथि बलात्कार गरेको बात
नाम जुधेकै भरमा कतिसम्म कष्ट भोग्नुपर्छ ? ‘म होइन’ भन्दै कहाँ–कहाँ धाउनुपर्छ ? त्यस्तै पीडा भोगिरहेकी एक महिलाको कथा हो यो । एक अभियुक्तसँग नाम मिल्दा उनी अहिले प्रहरी कार्यालयको चक्कर काटिरहेकी छन् । अरुले गरेको अपराधको सजायँ भोगिरहनुपरेको छ । पूर्वी रुकुमको सिस्ने गाउँपालिका–१ की कर्ण रूपा बुढा वैदेशिक रोजगारीका लागि दुबई जाने प्रक्रिया अगाडि बढाउँदा जबरजस्ती करणीका एक पुरुष अभियुक्तसँग नाम मिलेकै कारण यहीँ रोकिएकी छन् । २०५० वैशाख १ गते जन्मिएकी उनी ३२ वर्षकी भइन् ।
कलिलै उमेरमा धेरै दुःखकष्टको सामना गर्नुपर्यो । सानै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी उनका श्रीमानको निधन भइसकेको छ । घरपरिवारको जिम्मेवारी काँधमा बोक्दै आएकी उनको ११ र १५ वर्षका छोरा छन् । नेपालगञ्जमा बस्दै आएकी र पाँच कक्षा मात्र पढेकी उनी छोरा पढाउन र घरखर्च टार्न वैदेशिक रोजगारीमा जान खोज्दा पुलिस रिपोर्टमा बलात्कारी पुरुषसँग नाम मिल्न गएकै कारण अलपत्र परेकी हुन् । अपराध गर्ने व्यक्ति आफू होइन भन्दै चार महिनादेखि प्रहरी कार्यालय धाइरहेकी छन् । नेपालगञ्जबाट काठमाडौँ आउन जान कति खर्च लाग्छ सबैलाई थाहै छ ।
‘म अहिले काठमाडौँमै छु । छोराहरू उता छन् । आउजाउ गरिरहनुपर्छ । एकदमै समस्या भयो’, उनले भनिन् । वैदेशिक रोजगारीमा जान प्रहरी रिपोर्ट नभई हुन्न । यसर्थ अनलाइन आवेदन दिइन् । यसैमा प्रहरीबाट जबरजस्ती करणीसँग मुद्दा खेपिरहेका व्यक्तिसँग नाम मिलेको जवाफ प्राप्त भएको हो । आपराधिक सूचीमा रहेको व्यक्तिसँग नाम मिलेपछि रिपोर्ट बन्ने कुरै आएन । जसले गर्दा साथीहरू दुबई पुगे पनि उनी भने यहीँ अड्किएकी छन् । ‘म पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेकी हुँ । तर, प्रहरी रिपोर्ट नपाउँदा यहीँ रोकिएको छु’, उनले दुखेसो पोखिन् । आफूविरुद्ध अहिलेसम्म कुनै पनि मुद्दा नरहेको उनको जिकिर छ । अगाडि थपिन्, ‘मविरुद्ध एउटा पनि मुद्दा परेको छैन । नाम मिल्ने एक जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा रहेछ । उनीसँग नाम मिलेछ, जसका कारण प्रहरीले रिपोर्ट बनाउन मानिरहेको छैन ।’
पुरुषमाथि जबरजस्ती करणीको आरोप लाग्दा नाम मिलेकै भरमा महिलालाई रोकेको भन्दै उनले असन्तुष्टि पोखिन्् । जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वका निमित्त प्रमुख इन्स्पेक्टर लालबहादुर बिकले विवरण हेडक्वार्टर पठाइसकेको जानकारी दिए । एकाध दिनअघि विवरण पठाएको उनको भनाइ छ । भने, ‘हेडक्वार्टरले विवरण पठाउन भनेको थियो । केही दिनअघि पठाइसकेका छौं ।’ मुद्दा दर्ता नभएकाको हकमा तीनपुस्ते नहुने उनको भनाइ छ।
(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू