विष्णुले यसरी रोकेछन् वासुदेवलाई

विष्णुले यसरी रोकेछन् वासुदेवलाई

अघिल्लो साता रूपन्देहीका वासुदेव घिमिरे रास्वपामा प्रवेश गर्ने कुराले एमालेको राजनीति तरंगित हुन पुग्यो । विष्णु पौडेलसँग निकट सम्बन्ध रहेका घिमिरे अन्ततः एमालेमै फर्किए । 

आफूले धेरै नेता–कार्यकर्ता नजाने भएपछि उनी रोकिएको एमाले स्रोत बताउँछ । घिमिरेका खास सहयोगीमा झविन्द्र भण्डारी, जग्गा कारोबारी नारायण वन हुन् । अर्कोतिर रवि लामिछानेका मान्छेले पनि बालेनसँग भेटेर हुन्छ, हामी छैनौँ ? हामीलाई गणना नगर्ने भनेर दुवईवहार गरेको समेत खुलेको छ । 

‘एकातिर बालेन र रविको तानातान, अर्कोतिर तपाईं गए पनि हामी भोट दिन्नौँ, एमालेमै रहन्छौँ भनेपछि एक्लो जस्ता भए । विष्णु पौडेलले पनि छलफल गरेर रोक्न खोजेका हुन् । दुई–तीन घण्टा बसेका हुन्,’ स्रोतले भन्यो । एमाले विभाजनको बेला वासुदेव नेकपा एसतिर जान खोजेका थिए । त्यतिखेर पनि विष्णु पौडेलले नै मिलाइदिएको स्रोत बताउँछ । 

खासमा विष्णु पौडेल र वासुदेवको सम्बन्ध पुरानो होइन । पहिला घनश्याम भुसालसँग नजिक थिए । ०७४ सालमा तिलोत्तमा नगरपालिकाको मेयरका लागि मोहन चापागाईँ, सैनामैनाबाट चित्र कार्कीलाई विष्णुले टिकट दिलाएका थिए । 

देवदह नगरपालिकाबाट टिकाराम चापागाईंलाई टिकट दिइएकोमा ‘घनश्यामले म उपमहासचिव, मेरो हैसियत खोस्ने ? मलाई चाहिँ जिल्ला छिर्न नसक्ने बनाउने ? भनेर थर्काएपछि वासुले टिकट पाएका हुन् । स्रोतले भन्यो, ‘त्यसपछि विष्णु पौडेलले चित्र कार्कीलाई बोके, बुटवलमा शिव सुवेदी छानिए । केपी ओलीलाई शिव सुवेदी सिनियर मान्छे, मजदुरबाट आएको भन्ने बनाए । देवदहको हकमा मैले निर्णय गर्न पाउनुपर्छ भनेर छविलालले अड्डी कसे ।’

दश बुँदे अनि पार्टी विभाजनपछि वासुदेवले क्याम्प चेञ्ज गरे । ठूलो आर्थिक संकटमा फसेकाले उनी घनश्यामबाट विष्णु पौडेलतिर पुगेको नेताहरू बताउँछन् । जग्गा कारोबारमा तिलोत्तमा होम्सको ऋणले गर्दा वासु विष्णु पौडेलतिर पुगेका हुन् । ‘बैंकको ऋण रिन्यु भएको थिएन । विष्णु पौडेलले एकल फोनको आधारमा त्यो मामिला सल्टाइदिए । कालोसूचीमा पर्ने स्थिति टर्‍यो । लिलामी अप्ठ्यारो पनि हट्यो,’ स्रोतले भन्यो, ‘त्यसले गर्दा विष्णु पौडेलको वासु प्रिय पात्र बनेका हुन् ।’

दोस्रोचोटि फेरि मोहनलाई गलहत्याएर वासुलाई प्रस्ताव गरे विष्णु पौडेलले । ०७९ को स्थानीय तह निर्वाचनमा मोहनले तिलोत्तमाबाट ५ सय अन्तरले हारे । 

अघिल्लो चोटी मोहनले टिकट पाएका थिए तर खोसेर वासुलाई दिइयो । अर्कोचोटि वासुलाई दिन खोजे तर पाएनन् । केपी ओलीहरूले बासुलाई दोहोर्‍याउने हो भने शिवलाई पनि दोहोर्‍याऊँ भनिदिए । शिवलाई दोहोर्‍याउन विष्णु पौडेलले  मानेनन् । २०७४ मा शिवराज सुवेदीले बुटवलको मेयर जितेका थिए । २०७९ मा बुटवलबाट बाबुराम भट्टराईले टिकट पाए । तर, कांग्रेसका लेखराज पाण्डेसँग पराजय व्यहोरे । 

वासुदेवका दाइ टीकाराम रिटायर्ड सिडिओ हुन् । उनले नचाहिने काम गरिस् अब तेरो पछि कोही पनि लाग्दैन भनेपछि उनी रोकिएको बताइन्छ । 

विष्णु पौडेलको टिममा नपर्दा वासुदेवले केन्द्रीय सदस्यको चुनाव हारेको भर्खरै हो । २१ फागुनमा हुने निर्वाचनका लागि घिमिरे सिफारिसमा परेका छन् । ओलीलाई भनाएर घिमिरेलाई टिकट दिलाउने योजनामा विष्णु रहेको बताइन्छ । तर, ओलीसँग घिमिरेको राम्रो छैन । नगरपालिकाको लेटर प्याड प्रयोग गरेर ओलीविरुद्ध विज्ञप्ति निकालेकै दिनदेखि उनी ओलीको तारोमा छन् । फेसबुकमा लेखेरसमेत झोंक फेर्नेमा पर्छन् ।

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)   

 

टिप्पणीहरू