ऋण लिँदा हात जोड्ने, तिर्ने बेलामा उठाउने

ऋण लिँदा हात जोड्ने, तिर्ने बेलामा उठाउने

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि पछिल्लो समय भौतिक आक्रमण बढ्दै गएको छ। कर्जा असुलीका लागि ऋणीको घरमै पुगेका बैंक कर्मचारीमाथि आक्रमण हुन थालेपछि कर्जा र कर्मचारी दुबैको सुरक्षामाथि गम्भीर प्रश्न उब्जिएको छ ।

केही दिनअघि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट भएको थियो। दाङको घोराहीस्थित बैंक शाखाका नवीन थापा र मनिष सेढाइँमाथि ऋणीले हातपात गरेका हुन्। बैंकबाट ५० लाख रुपैयाँ ऋण लिएका स्थानीय उमाकान्त भण्डारीले नियमित ब्याज नतिरेपछि उनीहरु गत पुस २० गते उनको घरै पुगेका थिए। कर्मचारीहरूले भण्डारीलाई बक्यौता ब्याज तिर्न आग्रह गरेको अन्यथा कालोसूचीमा पर्ने र कानुनी उपचार गर्नुपर्ने प्रक्रिया बताएपछि सांघातिक आक्रमण भएको बताइन्छ ।

त्यसअघि सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकका कर्मचारीहरू पनि कुटिएका थिए। पटक–पटक ताकेता गर्दा पनि कर्जा नतिरेपछि ऋणीको घर पुगेका कर्मचारीमाथि जनप्रतिनिधिको सहयोगमा  मोसोसहित जुत्ताको माला लगाइदिएका थिए ।

०७८ वैशाखमा बैंकको रुपनी शाखाबाट सप्तकोशी नगरपालिका–७ स्थित इन्ट्रीग्रेटेड एग्रो फर्म प्रालिले साढे चार करोड रुपैयाँ ऋण लिएको थियो। ऋण लिँदा फर्मले विभिन्न ठाउँका जग्गा धितो राखेको थियो। सुरुमा नियमित किस्ता तिरेको फर्मले ०८१ चैतयता आर्थिक मन्दीका कारण बैंकको किस्ता तिर्न नसकेको बताइन्छ ।

बैंकले धितो लिलामीको सूचना निकाल्दा फर्मका सेयरधनीको आग्रहमा प्रक्रिया स्थगित गरिएको थियो। तर पछिल्लो पटक मंसिर तेस्रो साता सात दिने सूचना निकालिएको थियो। म्याद नपुगेको बेलामा बैंकले जग्गा बिक्रीको विज्ञापन टिकटकमा राखेपछि आफूहरु आक्रोशित भएको ऋणीको भनाइ छ ।

उक्त समयमा बैंकको प्रादेशिक कार्यालयका उपप्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ ऋणीको घरमा पुगेका थिए । आक्रोशित ऋणीहरूले कर्मचारीमाथि मोसो दलेर जुत्ताको माला लगाउँदै कुटपिटसमेत गरेका हुन् ।

एकातर्फ बैंकका कर्मचारीमाथि कुटपिटको घटना बढिरहँदा अर्कोतर्फ कतिपय ऋणी आत्मदाहको चेतावनीसहित बैंकमै पुग्न थालेका छन्। एनआईसी एशिया बैंकको इटहरी शाखामा गत पुस २१ गते एक ऋणीले आत्मदहको प्रयास गरेका थिए। पेट्रोल बोकेर बैंक पुगेका उनले आफ्नै शरीरमा पेट्रोल छर्किन थालेपछि कर्मचारीले रोक्नुपरेको बताइन्छ ।

केही वर्षअघि स्थानीय व्यवसायी गंगाराम साह तेलीले मदिरा फ्याक्ट्री सञ्चालनका लागि बैंकबाट साढे दुई करोड ऋण लिँदा ब्याजमा आफ्नो जग्गा धितो राखिएको थियो। तर तेलीले ऋण नतिरेपछि बैंकले जग्गा लिलाम प्रक्रिया अघि बढायो। थाहा पाएपछि ऋणी पेट्रोल बोकेर बैंक पुगेका थिए।

चर्को ब्याजदरका कारण बैंकको ऋण तिर्न नसक्ने ऋणीको संख्या बढ्दो छ। विगतमा ऋण नतिरेपछि धितो गुमाउँदा धेरैले आत्महत्या गरेका छन्। कर्जा चुक्ता नगर्ने ऋणीको धितो लिलामसँगै तीन पुस्ता कालोसूचीमा पर्ने भएकाले आफ्ना सन्तानले पनि दुःख भोग्ने चिन्तामा ऋणीले कहिलेकाहीँ आत्महत्यासमेत गर्ने उदाहरण पाइन्छ।

पहिले ऋणी चुपचाप आत्मसमर्पण गर्थे, तर हाल ऋणीमा डरभन्दा पनि आक्रोश बढेको देखिन्छ। अहिले ऋणीहरूले बैंक र कर्मचारीमाथि आक्रमण गर्न थालेको छ। बैंकबाट करोडौं ऋण लिएर नतिरेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित केहीले बैंकविरुद्ध बोलेपछि ऋणीमा विद्रोहको भावना जागेको अनुमान गरिएको छ।

पछिल्ला घटनाक्रमले बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीलाई असुरक्षित बनाएको छ। अर्कोतर्फ, ‘लिएको ऋण तिर्दिनँ’ भन्ने प्रवृत्तिले आम सर्वसाधारणले राखेको निक्षेप जोखिममा पर्नसक्ने राष्ट्र बैंकका अधिकारीहरूले उल्लेख गरे ।

प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार, ‘बैंकमा रहेको पैसा जनताको हो। ऋणीले कर्जा नतिरेको खण्डमा जनताको निक्षेप फिर्ता नहुने जोखिम बढ्छ । विगतमा केही बैंकमा समस्या आउँदा सरकारले जनताको पैसा फिर्ता गर्यो। अहिले निजी क्षेत्रको लगानी बढी भएकाले सरकारले सबै जिम्मा लिन सक्ने अवस्था छैन।” उनले थपे, ‘स्वार्थका लागि बैंक कर्मचारीमाथि आक्रमण गर्नु निन्दनीय छ। केही विषयमा असन्तुष्ट भए नियमनकारी निकायमा उजुरी दिन सकिन्छ, तर कर्जा नतिरेर आक्रमण गर्नु आपत्तिजनक हो।’

पूर्वगर्भनर चिरञ्जीवी नेपालले अराजक समूहहरूले ऋणीको पीडामाथि खेल्दै व्यक्तिगत लाभ लिने प्रवृत्ति बढाएको उल्लेख गरे । ‘देशमा मन्दी छ, ऋणीलाई कर्जा तिर्न समस्या परेको छ। तर यसको फाइदा सीमित व्यक्तिले उठाउँदै ऋणीमाथि दबाब बनाइरहेका छन्,’ उनले बताए।

बैंक तथा वित्तीय संस्थाहरू केवल संस्थामात्र नभई अर्थतन्त्रको खम्बा र जनताको ढुकुटी भएको भन्दै उनले चेतावनी दिएका छन् कि कर्जा नतिर्ने प्रवृत्तिले मुलुकलाई गम्भीर मोडमा पुर्याउन सक्नेछ। पूर्व गर्भनर नेपालले सुझाव दिँदै भनेका छन्, ‘सरकारले पनि कर्जा चुक्ताका लागि सहज नीति बनाउन सघाउनुपर्छ । यसले ऋणीको आक्रोश घटाउँछ र कर्जा लिने र तिर्ने बानीको विकासमा मद्दत गर्छ।’

टिप्पणीहरू