पोखरा विमानस्थलमा भ्रष्टाचार : विशेषकाे आदेशविरूद्ध अख्तियार

पोखरा विमानस्थलमा भ्रष्टाचार : विशेषकाे आदेशविरूद्ध अख्तियार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको घोटालामा संलग्न नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहितलाई न्यून धरौटी तथा साधारण तारेखमा छोड्ने विशेष अदालतको आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । 

निज प्रतिवादीलाई थुनामा राख्नुपर्ने मागसहित आयोगले आज सर्वोच्चमा पुनरावेदन गरेको हो । विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको ठहरसहित अख्तियारले त्यसमा संलग्न तत् तत् समयका पाँच पर्यटनमन्त्री, दश सचिवसहित ५५ जना र एक ठेकेदार कम्पनीविरुद्ध गत मंसिर २१ गते मुद्दा चलाएको थियो । 

तर, गत मंसिर २३ गते भएको थुनछेक बहसपछि विशेष अदालतले प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई पाँच लाख र मुरारी भण्डारीलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटी नतिरेका अधिकारी अहिले डिल्लीबजार कारागारमा छन् । त्यस्तै, पुसमा भएको थुनछेक बहसपछि प्रतिवादीहरू अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेल साधारण तारेखमा रिहा भएका छन् । 

अपराधको प्रकृति र गाम्र्भीयता, प्रमाण लोप वा नयाँ कृत्रिम प्रमाण सिर्जना गर्न सक्ने, पीडित र साक्षीको सुरक्षाजस्ता विषयलाई ध्यानै नदिई विशेष अदालतले उनीहरूलाई छोड्न आदेश दिएकोप्रति आपत्ति जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो । प्रतिवादी सबैलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने उसको माग छ ।

टिप्पणीहरू