पुलमुनी र्यालीकाे तयारी
फाइल फाेटाे
गैरन्यायिक सडक तथा सम्पूर्ण मापदण्ड खारेज अभियानले आउँदो आइतबार आन्दोलन गर्ने भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती पुलमूनिबाट र्यालीसहितको प्रदर्शन गर्न लागिएको हो ।
सो दिन सर्वोच्च अदालतमा मुद्दाको पेशी रहेकाले आन्दोलनको आयोजना गरिएको अभियानका संयोजक राजाराम तण्डुकारले बताए । र्यालीपछि माइतीघर मण्डलामा आएर प्रदर्शन गरिने उनले जानकारी दिए ।
‘कुपण्डोलबाट बिहान १० बजे र्याली निकाल्छौं । त्यसपछि माइतीघरमा आएर जुलुस गर्छौं । अदालतले जसरी हुन्छ, मुद्दा लम्ब्याउन खोजिरहेको छ । अदालतलाई दबाब दिन आन्दोलनको आयोजना गरिएको हो’,उनले भने ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते भौतिक संरचना बनाउन खोला किनारबाट २० मीटर छोड्नुपर्ने व्यवस्थामा २० मीटर थपेर ४० मीटर कायम गर्ने फैसला गरेको थियो । सो फैसलाविरुद्ध अभियानले निरन्तर आन्दोलन गरिरहेको छ ।
फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुनसचिव फणीन्द्र गौतमले सर्वोच्चमा पुनरावलोकनको निवेदन दिएका थिए । यसअघि न्यायाधीशत्रय डा.नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मिसिल प्रमाण झिकाउने आदेश गरेको थियो ।
टिप्पणीहरू